जातीय पार्टीको नेतृत्व गर्दिनँ

एकल जातीय पहिचानका प्रदेश बनाउनुपर्ने माग राख्दै पार्टीसँग असन्तुष्ट रहेका एमाले उपाध्यक्ष अशोक राईलगायत केही जनजाति नेताहरूको जिम्मेवारी एमालेले खोसेको छ । अलग विचार समूह खडा गरी समानान्तर गतिविधिसाथ तीन महिनायता पार्टीका औपचारिक कार्यक्रमहरू बहिष्कार गर्दै आएका उपाध्यक्ष राईलगायत नेताहरूलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ । पार्टीले आफ्नो विचारको सम्बोधन नगरे अलग पार्टी बनाउने घोषणा गरेका उपाध्यक्ष राईसँग असन्तुष्ट समूहको योजनाबारे सौर्यकर्मी रामशरण बजगाईंले गरेको संवाद ।  

आफूले सम्हाल्दै आएको जिम्मेवारीबाट पार्टीले हटाएपछि अब तपाईंहरूको पार्टीसँगको अन्तरसंघर्ष कुन प्रक्रियाबाट अघि बढ्छ ?
मुख्य कुरा पार्टीले कस्तो बाटो अख्तियार गर्छ भन्ने हो । संविधानसभामा संविधान निर्माण प्रक्रिया जारी रहँदा पार्टीले औपचारिक निर्णय नगरी विगतका निर्णय उल्ट्याउने काम स्थायी समितिका कतिपय नेता साथीहरूले गरेपछि विवाद र समस्या देखापरेको हो । पार्टी जुन बाटोबाट जान खोजेको छ त्यसबाट मुलुकमा राष्ट्रिय एकता सुदृढ हुँदैन, द्वन्द्व उत्पन्न हुन्छ र जातीय तथा साम्प्रदायिक सद्भाव खल्बलिन्छ भन्ने हाम्रो दृष्टिकोण हो । पार्टीले विगतमा गरेका निर्णय सही छन् र तिनलाई कार्यान्वयन गर्नुपर्छ भन्ने हामीले निरन्तर जोड दिँदै आयौँ । त्यसको सुनुवाइ भएन र संविधानसभा भंग भयो । अहिलेको अवस्थामा पनि पार्टीले पूर्वनिर्णयलाई कार्यान्वयन गर्ने अठोटका साथ जानुपर्छ र संविधानसभा पुन:स्थापना गरी संविधानसभाबाटै संविधान जारी गर्ने संवैधानिक, सहज, सरल र उपयुक्त बाटो पक्रिनुपर्छ । पार्टी कमिटीभित्र पनि प्रयत्न गर्‍यौँ तर ती प्रयत्नलाई बहुमत साथीको निर्णयलाई उल्ट्याउने तहमा अडान लिँदै आउनुभएपछि हामीले कमिटीमा उपस्थित भएर होइन, बाहिर बसेर दबाब दिने काम गर्‍यौँ । अनौपचारिक छलफलबाट समाधान खोज्ने बाटो अख्तियार गर्‍यौँ ।
तर, केहीबाहेक जनजाति नेताहरू पार्टीको बैठकमा सहभागी भएका छन् त ?
केही साथीहरू पार्टीका बैठकमै सहभागी भएर अन्तरपार्टी संघर्ष चलाएर समाधान खोज्ने प्रयत्नमा हुनुहुन्छ । यसरी हेर्दा अहिले बैठकमा र कमिटीबाहिर दुवै ठाउँबाट हाम्रा विचार प्रस्तुत भइरहेका छन् । तर, पछिल्लोसमय पार्टी स्थायी समितिले अचानकजस्तो राजनीतिक र संगठनात्मक निर्णय गरेको छ त्यसले हामीलगायत सिंगो एमालेलाई गम्भीर मोडमा पुर्‍याएको छ ।
यो गम्भीर मोडबाट चाहिँ तपार्इंहरू अलग्गिन खोज्नुभएको हो ?
उहाँहरूले जुन किसिमको राजनीतिक निर्णय लिनुभयो यो प्रतिगमनउन्मुख छ भन्ने मेरो ठम्याइ हो । संगठनात्मक रूपमा लिइएको निर्णय काम चलाउनका लागि होइन, हामीलाई तर्साउनका लागि भएको छ । त्यो निर्णयले हामीलाई अब एमालेभित्र हाम्रो स्थान नरहेको सन्देश दिएको छ । यसले फरक बाटो खोज्नुपर्ने अवस्थातर्फ हामीलाई उन्मुख गराएको छ ।
फरक बाटो के हुन सक्छ एक, दुई, तीन गरेर भन्दिनुस् न ?
केन्द्रीय कमिटीले गरेको निर्णय उल्ट्याएर स्थायी समितिले निर्णय गरिसकेपछि पनि हामी यो मुलुकमा सहमति होस्, मेलमिलाप होस् र मुलुकलाई शान्तिपूर्ण ढंगले अघि बढ्न निकास दिन सकियोस् भन्ने प्रयत्न गरिरहेका छौँ र यसलाई जारी राख्छौँ । एमालेले जुन निर्णय लिएको छ यसको परिणाम मुलुकमा द्वन्द्व हुन्छ त्यसैले हामी निर्णय सच्याउन दबाब दिन्छौँ । हामीले उठाएका विषयवस्तुमा साथ दिने एमालेका नेता कार्यकर्ताबीच हामी सल्लाह गर्छाैं । द्वन्द्व र टकरावको साटो सहमति र मेलमिलापको बाटोमा लैजान सकियोस् र मुलुकले सहज र संवैधानिक निकास पाओस् भन्ने प्रयत्न गर्छाैं । पार्टीबाहिर पनि यो मुद्दामा सहमत हुनेहरूसँग सहकार्य गर्छाैं ।
पार्टीको मान्यताविपरीत बाहिरका शक्तिहरूसँग सहकार्य गरेपछि त कसरी एउटै पार्टी हुुन्छ त ?
अहिले नै दुईवटा पार्टी भैहालेको छैन किनकि हामीले पार्टी घोषणा गरेका छैनौँ । घोषणाको दिशामा हामीलाई धकेलिएको छ । एउटा अलग स्थानमा उभिएर सोच्नुपर्ने अवस्था आएको छ ।
अहिले नै तपाईंहरू संविधानसभा पुन:स्थापनाको एजेन्डामा बाह्य पक्षसँग सहकार्यमा हुनुहुन्छ र त्यसलाई पार्टीले निषेध गरेको छ । अहिले नै अलग पार्टीका रूपमा बुझ्दा के बिग्रिन्छ र ?
होइन, अहिले हामीले विचार समूह बनाएका हौँ, यति बुझिदिनुभए बेस हुन्छ ।
पद्धतिका हिसाबले र पार्टी विधानका हिसाबले विचार समूहका रूपमा मान्यता पाइन्छ त ?
अब परम्परागत विधिविधानबाट हामीलाई मापन गर्ने हो भने निश्चित रूपमा मान्यता पाउन सम्भव छैन । परम्परागत मान्यताले नापेर हामीलाई मान्यता दिनोस् भन्ने हाम्रो मान्यता पनि होइन । हामीले त्यो सीमालाई तोडेकै हो र त्यो सीमा तोडेरै समाधान खोज्न चाहन्छौँ । त्यो सीमाभित्र बसेर समाधान सम्भव छैन । त्यो भनेको अल्पमतलाई सुरक्षित राख्दै बहुमतको निर्णयलाई यही पार्टी निर्णय हो भन्दै हिँड्ने हो । हामी त्यो गर्न नामञ्जुर गरेर बाहिर बसिराखेका छौँ । यो सामान्य विचारको प्रश्न होइन, यो यति गम्भीर छ कि यसमा यदि नेपाली राजनीति चुक्यो भने असाध्यै ठूलो अनिष्टमा लैजान्छ । त्यसैले यो प्रश्नमा एमालेले गरेको बहुपहिचानको सात प्रदेशको निर्णय ठीकै हो भनेर जानुपर्छ र विगतमा गरेको पार्टीको निर्णयलाई पनि अन्तरसंघर्षबाटै सही साबित गर्न सकिन्छ भनेर जान सकिन्छ भन्नेमा छैनौँ । हामी कि हाम्रो विचारलाई पार्टीबाट लागू गराउन चाहन्छौँ या त त्यहाँबाट भएन भने बाहिरबाट लागू गराउन चाहन्छौँ ।
विधानलाई नै मान्दैनौँ भन्ने कुरा त लोकतान्त्रिक पनि भएन र बरु विधान फेर्नुपर्‍यो भने महाधिवेशनमा पो जानुपर्‍यो त होइन ?
राजनीतिले सीमाहरूलाई तोड्छ एउटा लक्ष्मणरेखाभित्र कैद भएर बस्दैन । एउटा खास समय, परिवेश र सापेक्षतामा सीमाभित्र बस्नैपर्छ । जब त्यो सीमाले राजनीतिलाई बोक्न सक्दैन र सीमाभित्र खुम्चिएर बस्दा अनिष्ट हुने अवस्था आउँछ । सीमा तोडेर अनिष्टता तोड्नु राजनीतिज्ञको कर्तव्य हुन जान्छ । हामी त्यही कर्तव्यतिर लागिरहेका छौँ ।
यो सीमा तोड्ने तयारीको परिणामचाहिँ नयाँ पार्टी गठन हो कि के हो ?
हाम्रो अपेक्षा त अहिले पनि मूलधारका यी पार्टीहरूले नै राजनीतिक समस्याको समाधान गरुन् भन्ने थियो तर हेर्दै जाँदा त्यो सम्भावना कमजोर बन्दै गएको छ । त्यसमध्ये पनि एमाले यति उत्ताउलो ढंगले जनभावना र चाहनाविरुद्ध आएको छ कि हामीलाई दु:ख लागेको छ ।
भनेपछि तपार्इंहरू अझै पार्टीसँग अन्तरसंघर्ष र बाहिर अर्काे वैकल्पिक पार्टी निर्माणको अभियान समानान्तर रूपमा चलाइरहनुभएको छ ?
डेफिनेट्ली । दुईवटै अप्सनमा हामी अगाडि बढ्छौँ ।
यी दुईमध्ये कुन बाटोमा तपाईंहरूका पाइला अघि छन् त ?
एमालेको नेतृत्व जुन किसिमको सोचबाट निर्देशित छ त्यसलाई हेर्दा वैकल्पिक शक्ति निर्माणको बाटोमा अग्रसर हुनुपर्ने सम्भावना बढी छ ।
त्यो वैकल्पिक शक्तिचाहिँ कस्तो राजनीतिक दर्शन बोकेको हुनेछ ?
मुलुकको राजनीतिक समस्या समाधान दिने खालको हुनेछ । राजनीतिक दर्शन जीवनको रूपान्तरणका लागि हो । हाम्रो राष्ट्रलाई बलियो बनाउने, एकजुट बनाउने, राष्ट्रियतालाई सुदृढ गर्ने, जातीय सद्भाव र साम्प्रदायिक सद्भावलाई अझै मजबुत बनाउने, आर्थिक पुन:निर्माण गर्ने, दिगो शान्ति स्थापना गर्ने र वर्गीय मुक्ति र सामाजिक न्यायलाई समानान्तर रूपमा सँगै बोकेर जाने दर्शन हुनेछ ।
यो त कार्यक्रम हुन सक्ला, दर्शन त यस्तोलाई भनिँदैन, तपाईंहरूको नयाँ कम्युनिस्ट पार्टीले माक्र्सवादी वा पुँजीवादी दर्शन कुन आत्मसात् गर्छ ?
संसारका सर्वाेत्तम दर्शन जे छन् ती सबैलाई बोक्छ ।
त्यसो भए तपाईंहरूको पार्टी माक्र्सवादी हुँदैन सबै दर्शनको सारसंग्रहवादी हुन्छ ?
हो, सबै पक्षका सर्वाेत्तम दर्शनलाई हामी बोक्छौँ । अहिले हामीले यो वा त्यो दर्शन, यो पार्टी त्यो पार्टी भनेर छलफल गरेका छैनौँ । पार्टी गठन गर्नेबारे ठोस धारणा नबनाई त्यस विषयमा बोल्नु हतार हुनेछ । अनौपचारिक वार्तामार्फत पार्टीले समाधान खोज्छ भन्ने बोध गरेका थियौँ । त्यो नभएपछि हामी यसबारे छलफल अघि बढाउँछौँ । ‘कालो गए गोरो आउँछ’ भन्ने साथीहरूको मान्यता देखियो यसले हामीलाई ठोस ढंगले विकल्प खोज्न बाध्य बनाएको छ ।
नयाँ पार्टीमा सहभागिता विभिन्न दलहरूबाट वा जातीय समुदायबाट कसरी हुन्छ ?
अहिले हाम्रा विरुद्धमा खासगरी मेरा विरुद्धमा जातीय पार्टी खोल्दै गरेको हल्ला फिँजाइएको छ । जातीय पार्टी खोल्नु अपराध होइन तर यदि विकल्प दिनुपर्‍यो भने म राष्ट्रिय पार्टीको विकल्प दिन चाहन्छु । कुनै जातीय, धार्मिक र क्षेत्रीय पार्टी मेरा निम्ति अनुकूल हुने छैनन् । जातीय पार्टी बनाउने प्रयत्नमा म छैन ।
पार्टीसँगको मतभेद त जातीय विषयलाई नै लिएर गरिरहनुभएको छ नि ?
यो त संयोग मात्रै हो । म रहेको पार्टीका नेता साथीहरू राज्य पुन:संरचनाका प्रश्नमा आएपछि यो विषयमा पूर्वमान्यताहरूबाट पछि फर्कनुभयो । त्यसैले यस्तो देखिएको मात्र हो । हामीले नयाँ दल निर्माण गर्‍यौँ भने जातीय विषयमा मात्रै सीमित हुने छैनौँ । सबै नेपाली जनताका लागि स्थान रहेको बृहत् दायरा ओगटेको पार्टी बन्नेछ ।
यस विषयमा अरू पार्टीका नेताहरूसँग पनि छलफल अघि बढेको छ कि छैन ?
मुद्दामा कसरी सहमति कायम गर्ने भन्नेमा अरू पार्टीका नेतासँग पनि छलफल भएको छ तर अलग कुन किसिमको पार्टी बनाउने भन्नेमा छलफल भएको छैन । एमालेको पछिल्लो निर्णयपछि पार्टी गठन गर्ने चरणमा समेत छलफल गर्छाैं ।
त्यसो भए तपाईंहरू एमालेको अनुशासन आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिने र पार्टी कमिटीको बैठकमा तपाईंहरू फर्कने सम्भावना अब छैन ?
जरुर, छैन । अनुशासन आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिने सम्भावना पनि अब छैन ।
पार्टी अन्तरसंघर्षका रूपमा भोलि, पर्सि, निकोपर्सि हुने कामचाहिँ के त अब ?
भोलि, पर्सि निकोपर्सि पनि हिजोअस्ति जे गरेका थियौँ हामी त्यही गर्छाैं ।
अनौपचारिक वार्ताहरू गरिरहनुहुन्छ कि गर्नुहुन्न ?
अनौपचारिक वार्ताको सम्भावना पनि अब धेरै कम भएर गएको छ । वार्ताका लागि वार्ता गर्नुको कुनै अर्थ छैन हामी हाम्रो प्रचार गर्छाैं । पार्टीको रूप के हुन्छ । पार्टीभित्र संविधानसभा पुन:स्थापनाका लागि लडिरहनुभएका साथीहरूको अवस्था के हुन्छ सबै कुरा हेरेपछि हामी सोच्छौँ ।
जनजाति महासंघले गठन गर्ने भनिएको पार्टीप्रति तपाईंहरूको दृष्टिकोण के हुनेछ ?
तीनवटै मूलधारका राजनीतिक पार्टीले नेपाली जनताको मनोभावनालाई बोक्न सकेनन् । संविधान जारी नगरी संविधानसभा भंग हुनुले उनीहरू असफल भए भन्ने सन्देश आमजनतामा गएको छ । विगतमा राज्यद्वारा उत्पीडनमा परेका लिंग, जाति, वर्ग, क्षेत्रका जनताभित्र आक्रोश छ । यस्तो अवस्थामा मधेसी, दलित, मुस्लिम, महिला, आदिवासी जनजाति र उत्पीडनमा परेको वर्ग मजदुर, किसान र सुकुम्बासी कमैया, हलियालगायतले यी पार्टीबाट चल्दैन नयाँ शक्ति चाहिन्छ भनेर सोच्नु नितान्त जायज हुन्छ, त्यो समयको माग हो ।
नयाँ शक्ति निर्माण गर्ने भन्ने तर हिजोसम्म एउटा पार्टीको नेतृत्व नै गरेको व्यक्तिले नयाँ पार्टी खोल्दैमा कसरी नयाँ शक्ति होला ? एमाले असफल भयो भने तपाईं एमालेको नेताको हिसाबले असफलताको जिम्मेवारी लिनु पर्दैन ?
यस्तो त दशकौँ कांग्रेस, एमालेमा रहेका नेताले पनि मधेसी दल खोलेर नयाँ शक्ति भनेका थिए तर व्यवहार नयाँ हुन सकेन नि ? हामी महान् पुनर्गठन र संक्रमणको प्रक्रियामा छौँ । यो राजनीतिको मात्रै संक्रमण होइन । हामी हरेक व्यक्तिको मानसिकतामा रहेको पुरानो मान्यताबाट नयाँ मान्यतामा अग्रसर हुने संक्रमण हो । प्रत्येक व्यक्तिको चिन्तन र सामाजिक सम्बन्धहरूमा पनि यतिबेला पुनर्गठन भइरहेको छ । नेपाली समाजले नयाँ खोजिरहेको छ । हामी पनि त्यही दिशामा जान खोजिरहेका छौँ । त्यसैले व्यक्ति को हो भन्नेले केही असर पर्दैन ।

प्रतिक्रिया