एमाओवादीले दोधारे प्रवृत्ति त्याग्नु पर्छ

काठमाडौं, ६ साउन । कांग्रेस सभापति सुशील कोइरालाले एउटा कुरा बोल्ने र अर्को काम गर्ने एमाओवादीका नेताहरुको दोधारे प्रवृत्ति त्याग्न सुझाव दिएका छन् ।
बिपी स्मृति दिवसको उपलक्ष्यमा आज काठमाडौंमा आयोजित वृक्षरोपण कार्यक्रममा कोइरालाले मुखले जे बोलेको हो सबैले विश्वास गर्ने गरी त्यसलाई व्यवहारमा लागू गर्न एमाओवादीलाई आग्रह गरे । उनले भने, ‘अरुलाई मूर्ख बनाउने र धोखा दिने काम एमाओवादीले छोड्नु पर्छ ।’
उनले एमाओवादीले लिएको हत्या र हिंसाको नीतिका कारण उनीहरुमा विग्रह, अराजकता बढ्दै गएको टिप्पणी गरे ।
महामन्त्री कृष्ण सिटौलाले कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोणका साथ शान्ति, संविधान र राजनीतिक संकटको निकास छिट्टै दिने बताए । उनले भने, ‘सरकारले घोषणा गरेको निर्वाचन सत्ता लम्बाउने अभिप्राय मात्रै हो ।’
केन्द्रीय सदस्य नरहरि आचार्यले चुनाव नगर्ने मनसायले सरकारले निर्वाचन घोषणा गरेको आरोप लगाए ।

प्रतिक्रिया