यात्रीको अर्थपूर्ण यात्रा

घाइते पन्छीजस्तै यादहरू
उडी आउँथे टाढा–टाढाबाट
गुनगुनाउँदै दु:खका आदिम गीतहरू
र गुड्दै–गुड्दै झर्थे ओरालामा
ढुङ्गाजस्तो चर्किंदै–चर्किंदै यादहरू

‘कविता सरल हुनुपर्छ’ भन्ने हल्ला खरबारीमा आगोझैँ फैलिदै गरेको समयमा कवि हेमन यात्रीले ‘पहाड मसितै यात्रा गर्छ ’ कविता संग्रहमार्फत मस्तिष्कलाई सुस्तरी छुने र नमेटिने गरी गहिरो प्रभाव छोड्ने कविता लिएर आएका छन् । गोरेटोमा बुर्किसी मारिहिँड्ने, बतासमा सिमलको भुवाझैँ उडीहिँड्ने थुप्रै कविजमातबाट अलग्गिएर जंगलबीच कतै जमेको दहमा पौडी खेलिरहेका कवि हुन् कि हेमन ? सङ्ग्रहका यी कविताले दहमा पौडनुजस्तो मजा दिन्छन् । सरल कवितामा गहिराइ बोल्न यी कविले कहाँबाट सिकेका होलान् रु भन्न खोजेको कुरा यसरी सजिलै कसरी भन्न सकेका होलान् ? यहीँनेर कविताको भारी बोकेर पहाडसँग यात्रारत यी कवि धेरैपर पुग्ने छनक पाउँनेछन् पाठकले । सयौँ दिनको आन्दोलनले, हल्लाले भन्न नसकेको, भन्न नजानेको कुरा । आख्यानका हजारौँ पृष्ठले भन्न खोजेर पनि भन्न नसकेको कुरा कविताका केही पंक्तिमार्फत सजिलै भनिदिन्छन् यी कवि यसरी :

पोहरको सालझैँ
मक्किएको छ घरको छानो
यसपालि पनि चुहिनेछ पानी बर्खामा
र खसेर लग्नेछ
देउताहरूको निद्रा मध्यरातमा…

यहाँ कुनै नारा जुलुस छैन् । कुनै रुवाबासी छैन् र पनि करङ् गलेगले जस्तो हुन्छ । हड्डी काठे किराले किर्किर खाइरहेजस्तो हुन्छ । सुकुम्बासी बस्तीबाट टाढा बसेको पाठक पनि सुस्तरी धकेलिएर त्यतै पुग्छन् र आहत हुन्छन् । न समाजदेखि टाढा छन् यी कविता, न समयदेखि । हामीले भोगेकै समाज र समयका रूप, रंग, चित्र, सुस्केरा र उच्छ्वास छ्याप्छ्याप्ती आएका छन् । मानाँै कि पाठक हेरिरहेछ ऐना र देख्दै छ आफैंलाई ।
अञ्जान देशतिर हिँड्नेहरू हामी नै त हौँ । र, आँसुले पछ्याइरहेका आँखाले नियाल्ने पनि हामी नै हौँ । जीवनका मिहिन दु:खहरू खिपिएका छन् कवितमा । बजारको भिडबाट पर एकान्तमा एकैछिन् बसाइँ सर्दा हामीसँग जेजस्ता अत्यास र बिषादले बास मागेर भर्खर हमीले भोगेको र अझै भोग्न अभिशप्त यो समयमा तिनलाई आवाज दिन यी कविता सक्षम छन् । र, पाठक मस्तिष्कमा नमेटिने दृश्यमा प्रतिस्थापित हुनेगरी लिपिबद्घ हुन पनि ।  पलपल समय छुट्टिरहेको हुन्छ । मित्रहरू छुटिरहेका हुन्छन् । मोडहरूमा आइपुगेर प्रेमीहरू छुटिरहेका हुन्छन् । सपना र रहरहरू छुटेका हुन्छन् । ‘जनता, जनता’ जप्ने नेताहरूको फाइलबाट जनताहरू नै छुटिरहेका हुन्छन् । बेइमानी र विवेकहीनताको अँध्यारोले ढाकिएपछि धेरै कुरा छुट्छन्, हराउँछन्, बिलाउँछन् । यहाँसम्म कि आफ्नै छाया पनि छुट्दै जान्छ । छुट्नुका थुप्रै पीडा छन् ।
ििि
किन विधवाको सिँउदोजस्तै देखिन्छ घरसम्म आइपुग्ने बाटो ? उत्तर कोसँग होला ? हाम्रा बाटाहरूबाट हरियाली बेपत्ता भएको बर्षाैं भयो । उत्तर खोज्नेहरू काठमाडौँ सडकका किनारादेखि रमितेखोलासम्मै भेटिएलान् । रमितेखोला, मोरङका यी कविको मानस झोलामा भने थुप्रै उच्छ्वास र सुस्केरा रहेछन् र, आफ्नो मौलिक सांस्कृतिक कथा, मिथक । सायद यी कविलाई ज्ञात छ बाहिर हेरेर आफूलाई हेर्न बिर्सिएमा नक्कले भइन्छ । आफ्नै संवेदना लेखिनुले, आफ्नै सांस्कृतिक कथा, मिथक लखिनुले र आफ्नै समय लेखिनुले यी कविता हाम्रो हो भनेर देखाउन सकिने गरी आएका छन् । यी कविताले आफ्नै समाज, परिवेश, समय र संस्कृतिबाट दृश्य पाएका छन् ।
गहिराइ र कला पाएका छन् । आवाज र लय पाएका छन् । हेमन यात्रीका कविता सुस्केरा र विरहले हल्लाउने क्षमता बोकेर आएका छन् । सायद यी कविलाई लाग्दो हो विचारको मूल संवेदना हो कविता । यी कविता त्यही मुलतिरबाट बग्दै–बग्दै आएजस्ता छन् । आक्रोशले भन्दा गहिराइले भाषा र आवाज पाएको छ यी कविताले । र त पाठक मस्तिष्कमा गहिरो प्रभाव पार्न सक्षम छन् यी कविता ।

प्रतिक्रिया