बजार अनुगमनमा विभागको सक्रियता

काठमाडौं, ६  साउन । वाणिज्य विभागले दुइटा ग्यास गोदाम र एउटा किराना पसललाई सात दिनभित्र विभागमा आएर स्पष्टीकरण दिन निर्देशन दिएको छ । बजार अनुगमनका क्रममा विभागको टोलीले बालकुमारिस्थित सिद्धार्थ ग्यास डिपो, जडीबुटीस्थित सगरमाथा ग्यास गोदाम र जडीबुटीकै जोशी किराना स्टोरलाई विभागमा बोलाएको हो ।
सिद्धार्थको दर्ता नवीकरण नभएको र ग्यासको तौलने डिजिटल उपकरण नभएको फेला पारेपछि तीन दिनभित्र पसल व्यवसाय दर्ता नवीकरण गरी विभागमा पेस गर्न र नयाँ डिजिटल उपकरण खरिद गरी ग्यासको बिक्रीवितरण गर्न निर्देशन दिइएको अनुगमन टोलीका संयोजक विष्णुप्रसाद रेग्मिले बताए । सगरमाथामा पनि ग्यास तौलने उपकरण फेला नपरेपछि विभागले सञ्चालकलाई डिजिटल तराजु गुणस्तर तथा नापतौल विभागबाट जाँच गराई सोको प्रमाण सात दिनभित्र विभागमा पेस गर्न र तौल बढी पाइएका खाली सिलिन्डर सफा गरेर मात्र भर्न निर्देशन दिएको छ । टोलीले मूल्यसूची नराखेको भन्दै जडीबुटीका जोशी स्टोरका सञ्चालकलाई तीन दिनभित्र मूल्य सूची राख्न र नापतौलको प्रमाण प्राप्त गरी विभागमा पेस गर्न निर्देशन दिएको छ । (प्रशिक्षार्थी)

प्रतिक्रिया