‘ब्लेड रनर’ सुपर मोडेलको चक्करमा

लन्डन, ५ साउन । लन्डन ओलम्पिकका लागि दक्षिण अफ्रिकाबाट चार सय मिटरमा  छनोट भएको केही सातापछि दुवै खुट्टा नभए पनि मेसिनको भरमा दौडने ओस्कार पिस्टुरियसले विश्व चर्चित रुसी सुपर मोडेल अनास्टासिया खोजिसोभासँग रोमान्स गरिरहेको खुलासा भएको छ ।
अमेरिकी अखबार ‘दि न्युयोर्क पोस्ट’ले उक्त सम्बन्धबारे समाचार बाहिर ल्याएको हो । ‘सं्रोतका अनुसार लन्डन ओलम्पिकका लागि चार सय मिटरमा  दक्षिण अफ्रिकाबाट सहभागी हुन लागेका ओस्कार पिस्टुरियस विभिन्न विश्वचर्चित फेसन सोमा र्‍याम्प गरिसकेकी रुसी सुपर मोडेल अनास्टासिया खोजिसोभासँग एक महिनाभन्दा लामो समयदेखि नियमित ‘डेटिङ’ मा गइरहेका छन्,’ उक्त अखबारमा प्रकाशित समाचारमा उल्लेख छ ।
ब्लेड रनरका रूपमा परिचित पिस्टुरियस कृत्रिम खुट्टाको भरमा दौडन्छन् । यसरी दौडन अनुमति दिइने नियमको उनका साथी तथा ओलम्पिक स्वर्ण पदक विजेता माइकल जोनसनले आलोचना गरेका छन् । सन् २००८ मा कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टसले परीक्षण गरी यस्ता खेलाडीलाई गृष्मकालीन ओलम्पिकमा पनि दौडने अनुमति दिएको थियो ।
सन् २००८ को पारा ओलम्पिकका एक सय, दुई सय र चार सय मिटरका स्वर्ण पदक विजेता पिस्टुरियस लन्डन ओलम्पिकमा सहभागी भएपछि पारा ओलम्पिक र गृष्मकालीन ओलम्पिक दुवैमा  सहभागी हुने पहिलो खेलाडी बन्नेछन् । ओलम्पिक नजिकिँदै गएका बेला अन्य खेलाडी प्रेमिकासँग सम्बन्ध तोडेर खेलमा केन्द्रित गरिरहे पनि त्यस विषयमा पिस्टुरियस भने फरक खेलाडीका रूपमा देखिएका छन् । यसै वर्षको सुरुआतमा छोटो दूरीका कीर्तिमानी धावक युसान बोल्टले प्रेमिकासँग ६ महिनायता चल्दै आएको रोमान्स अन्त्य भएको घोषणा गरी लन्डन ओलम्पिकका लागि ध्यान केन्द्रित गर्ने बताएका थिए ।

प्रतिक्रिया