काठमाडौं, ५ असार । वैदेशिक रोजागारीका लागि आर्थिक वर्ष ०६८/६९ मा करिब चार लाख नेपाली बिदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार यो आवमा तीन लाख ८४ हजार दुई सय १० जना रोजगारीका लागि विदेश गएका हुन् ।
यो संख्या अघिल्लो आव ०६७/६८ का तुलनामा आठ दशमलव ३७ प्रतिशत बढी हो । सो आवमा तीन लाख ५४ हजार पाँच सय ४३ जना वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ । यो अवधिमा सबैभन्दा बढी कतार गएका छन् । विभागका अनुसार आव ०६८/६९ मा एक लाख पाँच हजार ६ सय ८१ जना वैदेशिक रोजगारीका लागि कतार गएका छन् ।
रोजगारीका लागि विगतमा सबैभन्दा बढी मलेसिया जानेगरेको भए पनि यो वर्ष कतार अघि आएको छ । यसमा ६१ हजार एक सय ४६ व्यक्तिगत र ४४ हजार पाँच सय ३५ जना व्यक्तिगत रूपमा रोजगारीमा गएको विभागले जनाएको छ । असारमा मात्र ६ हजार आठ सय ६० जना कतार गए ।
यस्तै, यस अवधिमा मलेसिया जानेको संख्या ९८ हजार तीन सय ६७ रहेको छ । असारमा १४ हजार १६ जना मलेसिया गएका छन् । सो अवधिमा ८० हजार चार सय ५५ जना साउदी, ५४ हजार चार सय ८२ जना युएई, २४ हजार पाँच सय ७५ कुवेत, पाँच हजार आठ सय ६५ बहराइन र तीन हजार एक सय ६३ जना ओमान गएका छन् ।
असारमा मात्र ३४ हजार दुई सय ६७ जना विदेश रोजगारीका लागि गएका छन् । यसमा ३२ हजार पाँच सय ८३ पुरुष र एक हजार ६ सय ८४ महिला छन् । यो संख्या भने असारभन्दा २३ दशमलव ३७ प्रतिशत कम हो । गत वर्ष असारमा ४४ हजार सात सय १५ जना रोजगारीका लागि बिदेसिएका थिए ।
विभागका अनुसार आव ०६८/६९ मा एक लाख १९ हजार आठ सय ७९ जना व्यक्तिगत रूपमा बिदेसिएका छन् । यो अघिल्लो वर्षको तुलनामा सात दशमलव ८१ प्रतिशत बढी हो । अघिल्लो आवमा एक लाख ११ हजार एक सय ९६ जना व्यक्तिगत रूपमा विदेश गएका छन् ।
सरकारले व्यक्तिगत रूपमा विदेश जानेलाई कडाइ गरे पनि अघिल्लो वर्षभन्दा बढी मानिस व्यक्तिगत रूपमा बिदेसिएका छन् । खाडी मुलुकमा प्राय: महिला कामदार व्यक्तिगत भिसामा रोजगारीमा जाने गरेको विभागको तथ्यांक छ ।
यस्तै, सो आवमा एक लाख ४६ हजार ४० जनाले विभागबाट पुन: स्वीकृति लिएका छन् । सरकारले वैदेशिक रोजगारीबाट घरबिदामा आई पुन: जानेलाई गत मंसिरदेखि पुन: स्वीकृतिको व्यवस्था गरेपछि उनीहरूले विभागबाट स्वीकृति लिएका हुन् ।
प्रतिक्रिया