भाटभटेनीलाई वाणिज्यले बोलायो

काठमाडौं, ५ साउन । वाणिज्य विभागले महाराजगन्जस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
बजार अनुगमनका क्रममा विभागको टोलीले स्टोरमा लेबल नभएका सामान, म्याद नाघेका पेयपदार्थ बिक्रीका लागि राखेको फेला पारेपछि सञ्चालकलाई विभागमा स्पष्ट जवाफ दिन पत्र काटेको हो । टोलीले तत्कालै स्टोरलाई लेबल नभएका सामान बिक्री नगर्न, खरिद बिल र बिक्री बिलको कम्तीमा १५ वटा वस्तुको प्रतिलिपि सात दिनभित्र विभागमा पेस गर्न पत्र पठाएको छ ।
अनुगमन टोलीका संयोजक टीकाबहादुर थापाका अनुसार लेबल नभएका र म्याद नाघेका सामग्री बिक्री–वितरणका लागि राखिएको सम्बन्धमा भाटभटेनी डिपार्टमेन्टलाई ७ दिनभित्र स्पष्ट जवाफ दिन विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । उनले स्टोरबाट चित्तबुझ्दो जवाफ नआए कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।
यसैगरी, विभागले मण्डिखाटारस्थित ग्लोबल कलेजमा समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा कलेजको चमेनागृहले खाद्य अनुज्ञापत्र नलिएको, लेबलमा खुलाउनुपर्ने कुरा उल्लेख नगरेको पाइएको जनाएको छ । विभागले कलेजको चमेनागृह सञ्चालकलाई समेत सात दिनभित्र स्पष्टीकरणसहित विभागमा पेस गर्न र सो नगरेसम्मका लागि उत्पादित वस्तु बिक्री नगर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया