दोलखा, बाँके र रुपन्देही विजयी

बारा/रौतहट, ३  साउन । १४औँ एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगितामा गोल वर्षाको क्रम मंगलबार भएका तीनमध्ये एक खेलमा मात्र कायम रह्यो । प्रतियोगिताको चौथो दिन मंगलबार बाराको सिमरामा भएको खेलमा रूपन्देहीले सुनसरीलाई १–० ले हरायो भने रौतहटको चन्द्रनिगाहपुरमा भएको खेलमा दोलखाले बर्दियालाई २–० ले पराजित गर्‍यो । सिमरामै भएको अर्को एक खेलमा भने बाँकेले चितवनलाई १०–१ ले पराजित गर्‍यो ।
रूपन्देहीको जितमा अञ्जना श्रेष्ठले खेलको ८४औँ मिनेटमा निर्णायक गोल गरिन् । निक्कै प्रतिस्पर्धात्मक खेलमा दुर्गा खत्रीले गरेको कर्नर प्रहारमा अञ्जनाले आकर्षक गोल गरेकी थिइन् । मध्यान्तरअघि लाजिमा लिम्बूले डि–बक्सभित्र फ्रि बल पाए पनि त्यसलाई गोलमा परिणत गर्न नसक्नु सुनसरीको दुर्भाग्य रह्यो । लाजिमाको फितलो प्रहार रूपन्देहीकी जितु लामाले सहजै नियन्त्रणमा लिएकी हुन् ।
चितवनविरुद्ध फराकिलो जित हात पार्ने क्रममा बाँकेका लागि लक्ष्मी थापा र निर्मला उपाध्याय दुवैले हयाट्रिक गरे । त्यस्तै सुमित्रा लामिछानेले दुई तथा नानु खत्री र भद्रकला विकले समान एक/एक गोल गरेका थिए ।
खेल सुरु भएको तेस्रो मिनेटमै कप्तान नानुको गोलमा अग्रता लिएको बाँकेका लागि लक्ष्मीले खेलको २५, ४९ र ७०औँ मिनेटमा गोल गरिन् । त्यस्तै ३८, ७२ र ७५औँ मिनेटमा गोल गरेर निर्मलाले हयाट्रिक पूरा गरेकी थिइन् । सुमित्राले ४५ र ८९औँ मिनेटमा गोल गर्दा ५५औँ मिनेटमा बिन्दा महतले चितवनका लागि सान्त्वना गोल गरेकी थिइन् ।
यता चन्द्रनिगाहपुरमा भएको खेलमा दोलखालाई कठिन जित दिलाउन कञ्चन रानामगरले चौथो मिनेट र उडुसा तामाङले ४४औँ मिनेटमा गोल गरिन् । खेल सुरु हुनेबित्तिकै पानी पर्न सुरु भए पनि दर्शक भने रुझ्दै भए पनि खेल हेरिरहेका थिए । यसअघि आइतबार कैलालीले सप्तरीलाई १६–० ले पराजित गरेको थियो । प्रतियोगिताअन्तर्गत बुधबार चन्द्रनिगाहपुरमा धनुषा र पाँचथर तथा सिमरामा कास्की र सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया