लन्डन, ३ साउन । आसन्न लन्डन ओलम्पिक चालु रहेकै बेला ओलम्पिक इतिहासकै सबैभन्दा ठूलो परिमाणमा प्रत्बिन्धित लागुऔषध परीक्षण (डोपिङ टेस्ट) सञ्चालन गरिने भएको छ । एक अनुमानअनुसार सम्पूर्ण प्रत्स्पिर्धीमध्ये लगभग आधाजसोले डोपिङ टेस्ट दिनुपर्नेछ । यस कार्यका लागि डेढ सयभन्दा बढी वैज्ञानिकलाई खटाइएको छ । उनीहरूले पारा–ओलम्पिक खेलकुदको समाप्तिसम्म झन्डै ६ हजार स्याम्पल जम्मा गरिसक्नेछन् । कहाँसम्म भने पदक विजेता हरेक खेलाडीले डोपिङ
टेस्ट दिनुपर्नेछ ।
बेलायती टोलीका फिलिप्स इडोबु, बेथ ट्विडेल, डेभिड वेयर, ग्राहम एडमन्ड्स र मर्लन डेभोनिस आदिले ‘एन्टी डोपिङ कार्यक्रम’ का विषयमा अभियान नै सञ्चालन गरिरहेका छन् । यी अभियानकर्तामध्ये डेभोनिस ट्रयाक एन्ड फिल्ड खेलाडी हुन् । उनले सन् २००४ को एथेन्स ओलम्पिकमा चारगुणा १०० मिटर रिले दौडमा स्वर्ण पदक जितेका थिए ।
डेभोनिस भन्छन्, ‘ओलम्पिकमा पदक जित्नु भनेको विश्वको सर्वश्रेष्ठ अनुभव हो । कुनै पनि खेलाडीलाई के थाहा हुनु अत्यन्त महत्त्वपूर्ण छ भने पदक वितरणको बेला पोडियममा उभिने व्यक्ति आफ्नो निष्ठा र मिहिनेतको भरमा त्यो ठाउँसम्म पुगेको हो तर कुनै डोपिङको सहारा लिएर होइन ।’
बेलायतका धावक ड्वायन च्याम्बर्स र साइक्लिङ खेलाडी डेभिड मिलर लन्डन ओलम्पिकमा सहभागी हुँदै छन् । उनीहरू केही समयपहिला डोपिङ टेस्टमा असफल भएका थिए तर डोपिङ टेस्टमा दोषी ठहरिएका खेलाडीमाथि आजीवन प्रतिबन्ध लगाउने बेलायती ओलम्पिक एसोसिएसनको निर्णयलाई बेलायती अदालतले उल्टयाइदिएको थियो ।
लन्डन ओलम्पिकको बेला स्थापित एन्टी डोपिङ प्रयोगशालामा एक हजारभन्दा धेरै मानिसले काम गर्नेछन् र उनीहरूले प्रत्येक दिन चार सयभन्दा धेरै नमुना रगत परीक्षण गर्नेछन् । यस क्रममा दुई सय ४० भन्दा बढी प्रतिबन्धित औषधिको परीक्षण गरिनेछ ।
प्रतिक्रिया