लाहोर : सन् २०११ को एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितापछि पहिलोपटक विकेटकिपर कमरान अकमल पाकिस्तानी राष्ट्रिय टोलीमा परेका छन् । अगस्टमा अस्ट्रेलियाविरुद्ध हुने टि–२० शृंखला र सेप्टेम्बरमा हुने टि–२० विश्वकपका लागि पाकिस्तानले मंगलबार घोषणा गरेको १५ सदस्यीय टोलीमा विकेटकिपर कमरान अटाएका हुन् । यसै महिनाको सुरुवातमा पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी) ले उनलाई सफाइ दिएको थियो ।
त्यस्तै, सन् २०१० को फेब्रुअरीयता राष्ट्रिय टोलीमा नपरेका ब्याट्सम्यान इमरान नाजिरले पनि पाकिस्तानी टोलीमा पुनरागमन गरेका छन् । त्यस्तै, अलराउन्डर अब्दुल रज्जाक पनि टोलीमा फर्किए । कमरान, रज्जाक र नाजिरसँग पिसिबीको केन्द्रीय सम्झौता छैन ।
मंगलबार पिसिबीले जारी गरेको विज्ञप्तिअनुसार अलराउन्डर मोहम्मद हाफिज सन् २०१२ को अन्त्यसम्म टि–२० टोलीको कप्तान रहनेछन् । भर्खरै श्रीलंकाविरुद्ध खेलिएको टेस्ट शृंखलामा निकै राम्रो प्रदर्शन गरेका असद सफिकले पनि टोलीमा स्थान बनाए । औँलाको चोटका कारण श्रीलंकाविरुद्धको शृंखला गुमाएका प्रारम्भिक ब्याट्सम्यान नासिर जम्सेद पनि टोलीमा फर्किए । खालिद लतिफ, अहमेद सेहजाद, हमाद आजम, हरिस सोहैल र सकिल अन्सार टोलीमा परेनन् । टोलीको स्पिन बलिङ साइद अजमल र राजा हसनले सम्हाल्नेछन् भने पेस बलिङका लागि सोहेल तनविर, उमर गुल र मोहम्मद सामीलाई टोलीमा राखिएको छ । कमरान टोलीमा नरहे पनि उनको स्थानमा आफ्नै भाइ उमरले पाकिस्तानको विकेटकिपर भएर काम गर्दै आएका थिए । प्रतिभावान् खेलाडीका रूपमा परिचित उमर र कमरानको दाजुभाइ जोडी एक समय अन्तर्राष्ट्रिय क्रिकेटमा निकै जमेको थियो ।
उदाना श्रीलंकामा
बायाँहाते फास्ट बलर इसुरु उदानालाई श्रीलंकाले भारतविरुद्धको आसन्न एकदिवसीय क्रिकेट शृंखलाका लागि मंगलबार घोषित १५ सदस्यीय टोलीमा समाहित गरेको छ । २४ वर्षीय उदानाले श्रीलंकाका लागि ६ वटा टि–२० खेल खेले पनि उक्त टोलीका लागि अहिलेसम्म एकदिवसीय खेलमा भने सहभागिता जनाउने अवसर पाएका छैनन् । मार्चमा भएको एसिया कपमा अन्तिमपटक श्रीलंकाका लागि खेलेका चमारा कापुगेडारा र पाकिस्तानविरुद्धको अन्तिम तीनवटा एकदिवसीय खेलमा आराम दिइएका रंगाना हेराथलाई पनि टोलीमा फिर्ता बोलाइएको छ । पेस बलर दिलहरा फर्नान्डो भने टोलीमा अटाएनन् । गत महिना पाकिस्तानविरुद्ध भएको टि–२० खेलमा फिर्ता बोलाइनुअघि उदानाले ६ मध्ये पाँच खेल सन् २००९ मा खेलेका थिए । कापुगेडाराको टोलीमा आउने र बाहिरिने क्रमले भने निरन्तरता पाएको छ । गत वर्ष उनी वेस्टइन्डिजसँगको घरेलु शृंखलामा खेलेका थिए भने विश्वकप टोलीमा पनि अटाएका थिए । (एजेन्सी)
प्रतिक्रिया