बस दुर्घटनामा १७ को मृत्यु

धादिङ, २ साउन । धादिङको धुषा–१ कृष्णभिरबाट यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु भएको छ । उदयपुरको कटारीबाट काठमाडौं आइरहेको ना२ख ४९५१ नम्बरको  रात्रिबस पृथ्वीराजमार्गको कृष्णभिरबाट त्रिशूली नदीमा खसेको हो ।
दुर्घटनामा एक बालकसहित ६ जनाको घटनास्थलमा र चारजनाको उपचारका क्रममा ज्यान गएको छ भने साँझ नदीमा डुबिरहेको बसबाट सातजनाको शव प्रहरीले निकालेपछि मर्नेको संख्या १७ पुगेको छ । बस पृथ्वीराजमार्गको कृष्णभिरबाट दुई सय मिटर तल त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा परेर नुवाकोटका दीपकप्रसाद खनाल, उदयपुरका खोगबहादुर धमला र आर्टीलरी तालिम केन्द्र काठमाडौंका अमलदार सुकबहादुर कार्कीको मृत्यु भएको छ । यस्तै, सिन्धुलीका २७ वर्षीय कोसिस घिमिरे, उदयपुरकी २१ वर्षीया रुकु मगर र अन्दाजी तीन वर्षीया बालिकाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । उदयपुरका २२ वर्षीय छिपनारायण श्रेष्ठ, सिरहाका २८ वर्षीय मोहम्मद कलामुद्धिन शेष, नुवाकोटका नारायण अधिकारी, उदयपुरका २२ वर्षीय सुरेन्द्र साह र धनुषाका २२ वर्षीय विनोद महराको पनि मृत्यु भएको छ ।
त्रिशूली नदीमा हराइरहेका मध्ये सातजनाको शव प्रहरीले प्राविधिकको सहयोगमाबसलाई हल्लाएर नदीबाट बाहिर निकालेको हो । नदीबाट निकालिएका सातमध्ये ३० वर्षकी एक महिला र एक पुरुषको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा घाइते भएकामध्ये १८ जनाको स्टार अस्पताल काठमाडौंमा र अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनास्थलबाट ३० जनालाई जीवितै उद्धार गरेर उपचारका लागि काठमाडौं पठाएको जनाएको छ । राजमार्ग उद्धार स्वयंसेवकको टोली, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेका थिए । लगातारको वर्षासँगै त्रिशूली नदीमा पानीको बहाब बढेकाले उद्धार कार्यमा कठिनाइ भएको इलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर विनोद घिमिरेले बताए ।  बेपत्ता हुनेको संख्या बढ्नसक्ने प्रहरीको अनुमान छ ।
कटारीबाट ५२ यात्रुको चलानी लिएर हिँडेको बसले बीचबाटोमा समेत यात्रु चढाएकाले ६० भन्दा बढी यात्रु बसमा सवार रहेको हुनसक्ने घाइतेले बताएका छन् । बस दुर्घटनाको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

सुनवलमा तीनको मृत्यु
नवलपरासी : नवलरासीको सुनवलमा सोमबार बिहान भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा ४० घाइते भएका छन् ।
दैलेखबाट काठमाडांै आउँदै गरेको ना३ख ५०९० नम्बरको बस र ना४ख ११४१ ट्रिपर सुनवल चोकमा ठोकिँदा ट्रिपरका चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ट्रिपरका चालक पुरन पाठक, कालीकोटका ३० वर्षीय अनन्त अधिकारी र अर्का एकजना बसका यात्रु रहेको प्रहरीले जनाएको छ ।

कलाकार टोली दुर्घटनामा

हेटौंडा : चलचित्र लफडाको सुटिङमा आएका कलाकार दुर्घटनामा परेका छन् । मकवानपुरमा सुटिङ भइरहेको चलचित्र लफडामा अभिनयका लागि काठमाडौंबाट हेटौंडा आएको टोली भीमफेदीमा दुर्घटनामा परेका हुन् ।
बा१ज ९६७८ नम्बरको माइक्रोमा हेटौंडा आउँदै गरेका निरञ्जन थापा, जीवन तामाङ, राजेश कटुवाल, सुभाष मोक्तान र रिचेन गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा चलचित्रमा अभिनयका लागि ल्याइएको एउटा कुकुर पनि मरेको छ ।

दुर्घटनामा मृत्यु भएकाहरू
१. दीपकप्रसाद खनाल (४०) नुवाकोट, ग्रामीण विकास बैंक गजुरीमा कार्यरत
२. सुकबहादुर कार्की (२४), दोलखा
३. खोगबहादुर धमला (४२) कटारी–३, उदयपुर
४. पृथ्वीमाया विक (३२) त्रिवेणी–६, कटारी, उदयपुर
५. प्रतीक्षा विक, (८) त्रिवेणी– ६, कटारी, उदयपुर
६. छोरी नाम नखुलेको– ३ वर्ष– त्रिवेणी–६, कटारी, उदयपुर
७. रुकु मगर, (२१) नधावी–५ सिन्धुली
८. कोशिष घिमिरे, (१७) लदावीर–१, सिन्धुली
९. मोहमद कला मुदिन शेख (३५) फूल्बरिया–८, सिराह
१०. नारायण अधिकारी (४१) नर्जामन्डन–२, नुवाकोट
११. सुरेन्द्र शाह (२१) त्रिवेणी–६, उदयपुर
१२. रामलाल मण्डल, पदरमपुर–७, सिरहा

प्रतिक्रिया