रोकियो उमाविको परीक्षा

सप्तरी : परीक्षा केन्द्रले परीक्षार्थीको अभिलेख र आवश्यक कागजपत्र उच्च माध्यमिक शिक्षा परिषद्मा नपठाउँदा सप्तरीका सयौँ विद्यार्थीको परीक्षाफल रोकिएको छ । सर्वाेदय उमावि कञ्चनपुर परीक्षा केन्द्रबाट परीक्षा दिएका परीक्षार्थीको उत्तरपुस्तिका परिषद्मा नपठाइएपछि विद्यार्थी आन्दोलित भएका छन् र विद्यालयमा तालाबन्दीसमेत भएको छ ।
नियमित र आंशिकतर्फ परीक्षा दिएका पाँच उमाविका परीक्षार्थीको विभिन्न अभिलेख शिक्षा परिषद्मा नपुगेपछि परीक्षाफल परिषद्ले रोक्ने जनाएको छ । कक्षा ११ र १२ को परीक्षा दिएका फत्तेपुरका दुई उमावि, ओद्राहा उमावि, बलुवा सीतापुर उमावि तथा जण्डौल उमाविका छात्रछात्राको उत्तरपुस्तिका परिषद्मा नपुगेको हो ।
परीक्षामा सहभागी विद्यार्थीको हाजिरी फारम, समष्टिगत फारम र प्रयोगात्मक परीक्षाको रेकर्डसमेत परिषद्मा नगएपछि परिषद्ले सम्पूर्ण विद्यार्थीको परीक्षाफल स्थगन गर्न लागेको हो ।
सर्वाेदय उमावि कञ्चनपुरका प्रधानाध्यापक महेन्द्रप्रसाद यादव परीक्षार्थीको अभिलेख नगएकाले परीक्षाफल रोकिने स्विकार्छन् । यादवले विद्यालय दुई सातादेखि बन्द रहेका कारण परीक्षार्थीको विवरण परिषद्मा पठाउन नसकिएको बताए । (सौस)

प्रतिक्रिया