असफल साक्षरता कार्यक्रमको नाम मात्रै परिवर्तन

काठमाडौं, १ साउन । विगतमा असफल साक्षरता कार्यक्रमको नाममात्र परिवर्तन गरेर नयाँ आर्थिक वर्षमा पुन: कार्यक्रम ल्याइएको छ । सरकारले नयाँ आर्थिक वर्षमा ‘साक्षर नेपाल अभियान’ का नामबाट कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।
आर्थिक वर्ष ०६९/७० को बजेट कार्यक्रममा कुनै तयारीविनै साक्षर नेपाल अभियान कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । अनौपचारिक शिक्षा केन्द्रले साक्षरता अभियान सञ्चालन गर्दै आएको छ ।
केन्द्रका निर्देशक बाबुराम पौडेलले नाम परिवर्तन गरे पनि काममा गरिने परिवर्तनबारे तयारी भइनसकेको बताए । निर्देशक पौडेलले भने, ‘काममा के परिवर्तन गर्ने भन्ने तयारी भएको छैन, छलफलका क्रममा छौँ ।’
दुई वर्षमा नेपालबाट निरक्षरता उन्मूलन गर्ने घोषणा गरेर एक अर्ब रुपियाँ बजेट विनियोजन गरी सुरु गरिएको साक्षरता अभियानका लागि साढे तीन अर्ब रुपियाँ सकिएको छ । निरक्षरता उन्मूलनको समय र बजेट पटकपटक थप्दा पनि एक तिहाईमात्र साक्षर भएका छन् ।
केन्द्रका कर्मचारीका अनुसार यो वर्ष पनि साक्षरता अभियान असफल हुने संकेत देखिइएको छ । सुरुका वर्ष दुई चरणमा कार्यक्रम सञ्चालन गर्दा असफल भएको जानकारी हुँदाहँदै यो वर्ष तीन चरणमा कक्षा सञ्चालनको कार्यक्रम झनै असफल भएको दाबी छ ।
‘यो वर्ष कति साक्षर भइरहेका छन्, कुनै तथ्यांक छैन,’ एक अधिकारीले भने, ‘कक्षा सञ्चालन अवधिभर सहभागी नभई कक्षा सुरु हुँदा नाम लेखाएकालाई साक्षर मान्दासमेत लक्षित भन्दा आधा संख्या साक्षर भएको छ, अन्तिमसम्म सहभागी भएर साक्षर हुनेको संख्या एकदमै न्यून छ ।’
सरकारले आर्थिक वर्ष ०६५/६६ मा दुई वर्षमा निरक्षरता उन्मूलन गर्ने घोषणा गर्दै साक्षरता अभियान सुरु गरेको थियो । कार्यक्रममा १५ देखि ६० वर्ष उमेरका करिब ७८ लाख नागरिकलाई साक्षर बनाउने लक्ष्य राखिएको थियो । केन्द्रका अनुसार ०६६/६७ सम्म २८ लाख मात्र साक्षर भएका छन् ।
साक्षरता अभियानका लागि सुरुका दुई वर्षसम्म एक अर्ब चार करोड रुपियाँका दरले बजेट विनियोजन भएको थियो । ०६७/६८ मा ६८ करोड आठ लाख ६० हजार रुपियाँ र ०६८/६९ का लागि ७० करोड रुपियाँ विनियोजन गरेको छ ।
केन्द्रले ०६७/६८ मा ६ लाख १२ हजार नौ सय २० निरक्षरलाई साक्षर बनाउने लक्ष्य राखेको थियो । तर, करिब तीन लाख ३९ हजार मात्र साक्षर भएका थिए ।  ०६६/६७ मा १२ लाख १० हजार पाँच सय ६० निरक्षरलाई साक्षर बनाउने लक्ष्य राखिएकामा दस लाख साक्षर भएको केन्द्रमा तथ्यांक छ । ०६५/६६ मा २३ लाख ११ हजार नौ सय ८० लक्षित संख्या रहेकामा १८ लाख निरक्षर भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया