प्रहरी कार्यालय घेराउ


वीरगन्ज,  १ साउन । तस्करीको सुपारी फिर्ता माग गर्दै व्यापारीले वीरगन्जमा प्रहरी कार्यालय घेराउ गरेका छन् ।
सुपारीको अवैध पैठारी गर्दै आएका व्यापारीले आइतबार दिनभर इलाका प्रहरी कार्यालय लंगडी घेराउ गरेका हुन् । शुक्रबार साँझ प्रहरीले भारत निकासी गरिरहेको ७८ क्विन्टल सुपारीसहित ना २ त ९६८ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएको थियो । ट्रयाक्टरचालक प्रहरी हिरासतमा रहेका छन् ।
व्यापारीले वीरगन्जबाट भिस्वा लैजान लागेको सुपारी प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेका छन् । व्यापारीले आइतबार इलाका प्रहरी कार्यालय लंगडीमै पत्रकार सम्मेलन गरेर प्रहरीले दु:ख दिएको बताए । उनीहरूले सुपारीसहितको ट्रयाक्टर प्रहरीले फिर्ता नगरे आन्दोलन गर्ने चेतावनीसमेत दिए । उनीहरूले सुपारी फिर्ता नगरे सिडिओ कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने चेतावनी दिएका हुन् ।
वीरगन्जस्थित गोपाल राय पुरुषोत्तम लाल ट्रेडिङबाट २८ असारमा भिस्वास्थित राधा स्वामी स्टोरको नाममा जारी बिलका आधारमा सुपारी लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको व्यापारीको भनाइ छ । कागजी प्रमाण भए पनि प्रहरीले सुपारी नियन्त्रणमा लिएर दु:ख दिएको व्यापारी गणेशप्रसाद जयसवालले बताए ।
प्रहरीले नियन्त्रणमा लिइएको सुपारी शुक्रबारै आवश्यक अनुसन्धानका लागि सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय ल्याउने प्रयास गरे पनि व्यापारीले ल्याउन दिएका छैनन् । पर्साका एसपी पीताम्बर अधिकारीले तस्करीको आशंकामा सुपारी नियन्त्रणमा लिइएको बताए । तेस्रो मुलुकबाट आयातित सुपारी पर्साका ग्रामीण नाका हुँदै भारतीय बजारमा अवैधरूपमा निकासी हुने गरेकाले प्रहरीले ग्रामीण क्षेत्रबाट सुपारी नियन्त्रणमा लिएको हो । भारतमा नेपाली बजारभन्दा झन्डै दुईगुणा बढी मूल्यमा सुपारी बिक्री हुने भएकाले तेस्रो मुलुकबाट आयातित सुपारी ग्रामीण नाकाबाट भन्सार, राजस्व र क्वारेन्टाइन चेकपोस्ट छलेर भारत निकासी हुने गरेको छ ।

प्रतिक्रिया