रौतहट, ३१ असार । १४ अैं एनसेल राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप–०६९ रौतहटको चन्द्रनिगाहपुरमा शनिबार सुरु भयो । उद्घाटनका क्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता रौतहटमा हुनुले यस जिल्लाको खेलकुदप्रतिको लगाव र माया प्रष्टरूपमा झल्किएको बताए ।
कार्यक्रममा बोल्दै अखिल नेपाल फुटबल संघका अध्यक्ष एवम् एसियाली फुटबल महासंघका उपाध्यक्ष गणेश थापाले आयोजकले छोटो समयमा गरेको तयारी सन्तोषजनक भएकोमा आयोजक जिल्ला फुटबल संघ धन्यवादको पात्र भएको बताए । यो प्रतियोगिता आगामी साफ फुटबल प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने उत्कृष्ट माध्यम भएको पनि थापाले बताए ।
रौतहट फुटबल संघका अध्यक्ष नेपाल कार्कीले स्वागत मन्तव्य व्यक्त गर्दै मध्यतराईमा रहेको रौतहट जिल्ला खेलको उर्वर भूमि भएकोले यस क्षेत्रमा रंगशालाको आवश्यकता रहेको बताए । शनिबार भएको उद्घाटन खेलमा रौतहटले नवलपरासीलाई १२–० ले पराजित गरेको छ । खेलको सुरुदेखि नै रौतहटले नवलपरासीलाई दबाबमा राखेको थियो । खेलको पहिलो पाँच मिनेटमै अग्रता लिएको रौतहटले आकर्षक खेल प्रदर्शन गरेको थियो ।
प्रतियोगिताको पहिलो खेलमा रेणुका नगरकोटी र मेनुका थापाले हयाट्रिक गरे । प्रतियोगितामा नेपालका २४ जिल्ला फुटबल टिम र ३ वटा विभागीय महिला टिमको सहभागिता रहेको छ । प्रतियोगिताका १३ खेल रौतहटमा हुनेछन् भने १४ खेल बाराको सिमरामा हुनेछ । फाइनल खेल भने बाराको सिमरामा १३ साउनमा हुनेछ ।
प्रतियोगिताको उपाधि विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र सेमिफाइनलमा पुग्ने २ वटा टोलीलाई ५०–५० हजार रुपियाँ प्रदान गरिनेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ । पछिल्लो तीन दशक भिन्न साख राखेको समयमा आयोजित नेपाली महिला फुटबलको १४औं राष्ट्रिय प्रतियोगिता विभिन्न कारणले महत्त्वपूर्ण रहेको छ । सुरुमा अञ्चल र पछि जिल्लास्तरीय टोलीको सहभागिता रहने गरेको यो प्रतियोगिता १४औं संस्करणमा आइपुग्दा विभागीय टोलीको महत्त्वपूर्ण उपस्थिति र जिल्ला संघको सहभागिता रहेको हो ।
सुरुका दिनमा त्यति लोकप्रिय नरहे पनि ढाकामा सम्पन्न १०औं दक्षिण एसियाली खेलकुद र ढाकामा नै सम्पन्न दक्षिण एसियाली च्याम्पियनसिपमा नेपाल दोस्रो स्थानमा रहेपछि यस क्षेत्रमै नेपाल नयाँशक्तिको रूपमा उदाएको हो । दुवै प्रतियोगितामा नेपाल र भारत दुवै टोली अन्य टोलीभन्दा धेरै स्तरीय रहेका थिए ।
राष्ट्रिय टोली रक्षात्मक खेल र फिजिकल फिटनेसका लागि विज्ञ मानिने ध्रुव केसीको प्रशिक्षणमा राष्ट्रिय टोलीले फड्को मार्दा नेपाल एपिएफ क्लबको पनि महिला फुटबलको पुनरुत्थानको युगमा त्यत्तिकै महत्त्वपूर्ण भूमिका रहयो । अधिक राष्ट्रिय खेलाडी भएको एपिएफ क्लब नै वर्तमान समयमा पनि महिला फुटबलमा हरेक उपाधिको दाबेदारको रूपमा रहेको छ ।
सुरुमा थुप्रै खेलाडी फुटबलमा भन्दा अन्य खेलमा भविष्य देख्दै यो खेलमा केन्द्रित नभएको अवस्थामा एपिएफको पहल र दक्षिण एसियामा प्राप्त नतिजाका कारण राष्ट्रियस्तरमा पूर्ण र बलियो टोली तयार गरेको महिला फुटबल क्लबस्तरमा पनि संगठित बनेको छ । यसपटक नेपाल पुलिस क्लब पनि संगठित टोलीको रूपमा रहेको छ । स्वाभाविक रूपमा मोरङ र कैलाली पनि महिला फुटबलमा हेर्नलायक टोलीको रूपमा रहनेछन् । महिला फुटबलमा विभागीय टोली संगठित हुनुभन्दा अघि मञ्जु श्रेष्ठ हयान्डबलमा, केशमाया श्रीश एथलेटिक्समा र चन्द्रकला थापा फुटबल त्यागेर एथलेटिक्समा नै प्रवेश गरेका थिए । महिला फुटबलको बदलिँदो स्वरूपका कारण वर्तमान नेपाली फुटबलमा रहेका स्टारले यसै खेलमा निरन्तरता दिने र घरेलु प्रतियोगितासमेत स्तरीय रहने अपेक्षा गरिएको छ । लगभग डेढ दशक नेपाली फुटबलमा बिताइसकेका जमुना गुरुङ र चन्द्रा भण्डारीले यसै प्रतियोगितामार्फत नेपाली फुटबलमा निरन्तरता दिनेछन् । नेपाल पुलिस क्लबकी कप्तानसमेत रहेकी भण्डारी घरेलु प्रतियोगितामा पुलिस क्लबलाई पहिलो उपाधि जिताउने प्रयासमा छिन् ।
प्रतिक्रिया