‘पैसा रित्तियो, छोरा उठेनन्’

काठमाडौं, ३० असार । जगत्बहादुर वादीका तीनवटै छोरा अहिले शिक्षण अस्पतालको बेडमा एउटै बिमारीको उपचार गराइरहेका छन् । ऋण गरेको चार लाख रुपियाँ सिध्याइसक्दा पनि छोराहरूको बिसेक हुन नसकेपछि उनलाई पिरलो भएको छ ।

जगत्का तीनै छोराको बिमार अनौठो प्रकारको छ । उनीहरू तीन वर्षसम्म सद्दे थिए तर तीन वर्ष काट्नासाथ शरीरको सबै भाग चल्न छाड्ने जगत्ले बताए । तीन महिनादेखि शिक्षण अस्पतालस्थित गणेशमान भवनको बालरोग वार्ड २, बेड नम्बर ८०१ र २ मा उनका छोराहरू पसारिएका छन् । ९ वर्षीय मनीष, ७ वर्षीय आकाश र ४ वर्षीय सरोजलाई स्याहार्दै दिन बित्छ उनको ।
छोराहरूको अवस्था देख्दा भर्खर जन्मिएकी छोरीको पनि आस लागेको छैन जगत्लाई । ‘साढे तीन वर्ष कट्न नपाउँदै मेरा छोरालाई के रोगले समात्छ, शरीर चलाउनै शक्दैनन्,’ सौर्यसँग जगत् भन्छन्, ‘एक महिनाकी छोरी छे, त्यो पनि यस्तै हुने त होला नि †’
सुत्केरी हुनुभन्दा दुई महिनाअघि श्रीमतीलाई छाडेर आएका उनकी छोरी एक महिनाकी भइसकिन् । रोग निको भएर छोराहरूलाई हिँड्न थाल्लान् भन्ने आशा लिएर काठमाडौं आएका उनी अहिले आºनै जिन्दगीदेखि विरक्त छन् । भन्छन्, ‘यस्तो हुन्छ भन्ने थाहा पाएको भए त बच्चा पाउने नै थिइनँ ।’

रुकुमको सदरमुकाम खलंगा–८ रातामाटाबाट नागरिकता लिएका जगत्को नाममा एक धुर पनि जग्गा छैन । बुबा बलजित वादीलाई प्यारालाइसिस भएपछि सिरिखुरी सबै बेच्दा पनि उपचार गर्न पुगेन र उनको मृत्यु भयो । सदरमुकाममा मजदुरी गरेर श्रीमती छोराछोरीको पेट पालिरहेका थिए । ‘कोही नहुनेको दैव हुन्छ भन्छन्, मलाई त भगवान्ले पनि हेरेनन्,’ जगत्ले आँसु थाम्नै सकेनन् ।
तीन वर्ष पार गरेपछि उनका छोराहरूलाई सामान्य ज्वरो देखा पर्छ । विस्तारै शरीरका विभिन्न भाग चल्न छाड्छन् र बिस्तारै अर्कैले खुवाउने, सुताउने, उठाउने गर्नुपर्छ । सबैभन्दा गाह्रो दिसा–पिसाब गराउँदा हुने उनी बताउँछन् । सुरुमा जिल्ला अस्पताल सल्लेको उपचारले ठीक नभएपछि उनले काठमाडौं ल्याएका हुन् ।
छोराहरूकै उपचारका लागि उनले चार लाख रुपियाँ ऋण बोकेका छन् । ‘सम्पत्ति केही नभए पनि मेरो इमानदारीलाई छिमेकीले पत्याए र ऋण काढेर भए पनि सक्दो उपचार गरियो । अब त कसले देला ?’ उनलाई पीर छ ।
छोराको बिजोग भएको देखेर आफन्तले पनि हेपेको महसुस भएको छ उनलाई । आºनै दाजुभाइले सहयोग त के मीठो वचन पनि नबोलेको देख्दा उनको हृदय चस्किन्छ । उनले भने, ‘हाम्रो जातमा मात्रै हो कि क्या हो, दु:ख परेपछि कसैले वास्ता नगर्ने रै’छ ।’
शिक्षण अस्पतालको खर्च कलंकीका वासु केसीले व्यहोरेको जगत्ले जानकारी दिए । एकजनालाई अस्पतालले नि:शुल्क उपचार गरिरहेको छ । जगत्का र उनकी श्रीमतीले एक कक्षा पनि पढेका छैनन् । उनलाई आºनो उमेरको पनि ख्याल छैन । ०४४ सालमा नागरिकता लिएका उनले भने, ‘नागरिकताभन्दा म ३ वर्ष जेठो छु ।’
पढ्ने उमेरमा लगातार बिरामी भएका छोराहरूको रोग पत्ता नलागेपछि उनी थप चिन्तित बनेका छन् । एक महिनाकी छोरीलाई यस्तो नहोस् भनी कामना त गर्छन् उनी तर डराउँदै भन्छन्, ‘मलाई लाग्छ अब छोरी पनि यस्तै हुन्छे ।’ राम्रोसँग बोली पनि प्रस्ट छैन उनका छोराहरूको ।
उनका छोराहरूको उपचार बालरोग वार्ड–२ को युनिट १ मा भइरहेको छ । उपचारमा संलग्न डा. जीवन घिमिरेका अनुसार उनका बच्चालाई ‘म्याग्निज टक्सिसिटी’ भएको हुन सक्छ । ‘बाल विकासका क्रममा पिसाबमा म्याग्निज टक्सिसिटी’ नामक तत्त्वको वृद्धि हँुदा बच्चाको शरीर नचल्ने र बोली नफुर्ने हुन्छ,’ डा. घिमिरेले भने, ‘उपचार गरेर यो रोग निको हुँदैन, बढ्न नदिने मात्रै हो ।’ अहिले बच्चाहरूलाई रोग नबढोस् भनेर मात्र औषधि खुवाइएको उनले बताए । डा. घिमिरेका अनुसार यस्तो रोग निकै कम बालबालिकामा पाइन्छ । उनीहरूको रगत र पिसाबको रिपोर्ट भारत पठाइएको उनले जानकारी दिए ।
उपचारपछि पनि निको नहुने भएपछि शरीर नचल्ने छोराहरूलाई यही अवस्थामा घर फर्काउनुपर्ने कुराले उनलाई सबैभन्दा दुखी बनाएको छ । मजदुरी गर्ने मान्छेले अपांग छोराहरूलाई स्याहार गर्नुपर्ने थप झन्झट थपिने हुनाले उनी चिन्तित छन् । ‘रिपोर्ट आउन्जेलसम्म पनि कसको पैसाले अस्पतालमा राख्ने ?’ उनले दुखेसो गरे ।
मजदुरी गरेर पनि छोरालाई पढाउने आºनो लक्ष्यमा भाग्यले नै साथ नदिएको जगत्ले बताए । ‘आफू पढ्न नसके पनि छोरालाई पढाउने सपना पूरा नहुने भयो,’ निराशामा थप्छन्, ‘यस्ता छोरा अब घर कसरी लानु ?’ उनी अब छोराहरू राख्नलाई कुनै संस्थाको खोजीमा छन् । ‘यस्ता अपांग बच्चा राख्ने संस्था कहाँ होला हजुर ?’
खल्तीमा एक रुपियाँ नभएका बेला छोराहरूले भोक लाग्यो भन्दा उनको मन धर्धरी रुन्छ । अस्पतालले बचेको भात धेरै ल्याइदिएको बताउँदै जगत्ले भने, ‘वासु केसी, अस्पताल र वरिपरिका बेडबाट सहयोग नभएको भए मेरा छोरा यतिन्जेल पनि बाँच्दैनथे ।’ उनी बचाउन चाहन्छन् छोराहरूलाई । यसका लागि उनले सहयोगका लागि सबैसँग अपिल गरेका छन् ।

प्रतिक्रिया