पानीको सतह बढेपछि सर्वसाधारण त्रसित

नेपालगन्ज, २९ । बिहीबार मध्यरातदेखि बाँके आसपासको क्षेत्रमा परेको निरन्तर वर्षाका कारण राप्ती नदीमा पानीको सतह र बहाव बढेपछि नदी आसपासका गाँउमा बाढीको सन्त्रास छाएको छ ।
राप्ती नदीमा पानीको सतह बढेका कारण वरपरका होलिया, मटेहिया, गंगापुर, नरैनापुर, फत्तेपुर, लक्ष्मणपुर लगायतका गाविस डुवानको खतरामा पर्ने खतरा बढेको छ ।
बाँके जिल्लाको कुसुमस्थित बाढी मापन केन्द्रका अनुसार, नदीको सतह पाँच मिटर ४० सेन्टीमिटर पुग्यो भने नदी वरपरका आधा दर्जन गाविस डुवानमा पर्ने निश्चित छ । अहिलेसम्म नदीको सतह तीन मिटरभन्दा तल नै रहेको छ ।
नदीमा बाढी नआए पनि जिल्लाको होलिया गाविसमा निरन्तरको वर्षाले डुबानको समस्या बढाएको कुसुमस्थित नदीको सतह मापन केन्द्रका गेजरिडर भद्रबहादुर थापाले बताए ।
गेजरिडर थापाका अनुसार, कुसुम क्षेत्रमा आज बिहान ११ बजेसम्म ३९ मिलिमिटर पानी परेको र त्यस क्षेत्रमा निरन्तर पानी परिरहेकाले नदीमा पानीको सतह बढदै गएको छ ।
नदीमा पानीको सतह र बहाव बढन थालेपछि स्थानीय प्रशासन कार्यालयले कस्टर समूह अन्तर्गतको उद्दार, राहत र स्वास्थ्य समूहलाई नेपालगन्ज तथा सम्भावित डुबान प्रभावित गाँउ क्षेत्रमा तयारी अवस्थामा राखेको प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोखरेलले बताए ।
भारतले बाँके जिल्लाको नेपाल—भारत सीमा नजिक अन्तर्राष्ट्रिय कानून विपरित भारतीय क्षेत्रमा निर्माण गरेको लक्ष्मणपुर बाँध र तटबन्धका कारण राप्ती नदीको प्राकृतिक बहाव रोकिन गई राप्तीपारी नेपाली भूमिका आधा दर्जनभन्दा बढी गाविसका नागरिकहरु प्रत्येक वर्ष बाढी तथा डुबानको जोखिम मोल्न बाध्य छन् ।

प्रतिक्रिया