काठमाडौं, २९ असार । विभिन्न राजनीतिक दलका पूर्व सभासदहरुले कांग्रेस सभापति सुशील कोइरालासँग भेटगरेर संविधानसभा पुनःस्थापनाका लागि पहल गर्न दबाव दिएका छन् ।
एमाओवादी, कांग्रेस, एमाले, नेकपा–माओवादी, मधेसी मोर्चालगायत अधिकांश दलका पूर्व सभासदले आज विहान महाराजगञ्जस्थित निवासमा पुगेर कोइरालालाई संविधानसभा पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेका हुन् ।
पूर्व सभासदहरुको आग्रह पछि सभापति कोइरालाले आफूपनि संविधानसभा पुनःस्थापनाका पक्षमा सकारात्मक रहेको भन्दै पार्टीमा छलफल गर्ने आश्वासन दिएका छन् ।
‘संविधानसभा पुनःस्थापना गर्न सभापतिजी सकारात्मक हुनुहुन्छ,’ कोइरालालाई उदृत गर्दै कांग्रेसका पूर्व सभासद शोकार पराजुलीले भने, ‘यस विषयमा पार्टीमा र अन्य दलका साथीहरुसँग छलफल गर्छु भन्नु भएको छ ।’
पूर्व सभासदहरुले तत्काल मुलुकमा निर्वाचन हुन नसक्ने भन्दै नयाँ संविधानमा सहमति गरेर केही समयका लागि संविधानसभा पुनःस्थापना गर्नुपर्ने माग गर्दै आएका छन् ।
पूर्व सभासदहरु संविधानसभा पुनःस्थापनाको माग गरेर लविङ गरिरहेका समयमा आलोचकहरुले भने संविधानसभा पुनःस्थापना गर्न नहुने जनाउदै आएका छन् । उनीहरुले संविधानसभा पुनःस्थापना हुँदा विकृति बढ्ने दाबी गरेका छन् ।
जेठ–१४ गते केही समय हुँदै संविधानसभा विघटन भएको भन्दै पूर्व सभासदहरु संविधानसभा पुनःस्थापनाको माग गरेर छलफल, गोष्ठी, अन्तरक्रिया तथा भेटघाट गर्दै आएका छन् ।
प्रतिक्रिया