छानबिन समिति मौन

काठमाडौं, २९ असार । सातदोबाटोस्थित पौडीपोखरीमा नक्कली टिकट बिक्री प्रकरण छानबिनका लागि एक साताअघि गठित छानबिन समितिले अझै काम सुरु गरेको छैन । छानबिन समितिकै सदस्य आफू उक्त समितिमा रहेको बारे बेखबर छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य…–सचिव युवराज लामाले राखेप कोषाध्यक्ष इन्द्रबहादुर थिङको संयोजकत्वमा कानुन विभाग प्रमुख नारायण अर्याल र लेखा प्रमुख वासुदेव आचार्य सदस्य रहने गरी तीनसदस्यीय छानबिन समिति गठन गरेका थिए । गत साता बुधबार पौडीपोखरीमा ग्राहकको टिकटजाँच गर्ने क्रममा एक सय दरका पाँचवटा टिकट नक्कली फेला परेका थिए । छानबिन समितिलाई प्रतिवेदन बुझाउन सात दिनको समय दिइएको थियो ।
छानबिन समिति गठन भएयता उक्त समितिका संयोजक तथा सदस्यबीच भेटसम्म नभएको स्रोत बताउँछ । इन्द्रबहादुर थिङ आफ्नै काममा व्यस्त रहेको बताइन्छ । उनी राखेपमा समेत कम आउने गरेका छन् । स्रोतका अनुसार अर्याल पनि सदस्य–सचिव लामाको कामका कारण व्यस्त छन् । छोरा तथा निजी सचिव सिद्धार्थलाई जागिर दिँदा उठाइएको टिप्पणी हराएपछि अर्याललाई सो खोज्न लामाले अह्राएका थिए । यता लेखा प्रमुख आचार्य भने उल्टै प्रतिप्रश्न गर्छन्, ‘म छानबिन समितिमा छु र ?’
छानबिन समितिका सदस्य तथा कानुन विभाग प्रमुख अर्याल पनि काम सुरु गर्न नै नभ्याएको स्वीकार गर्छन् । ‘म पनि परिषद्को आन्तरिक काममा व्यस्त थिएँ । संयोजक थिङ पनि सायद व्यस्त हुनुहुन्छ ।’ उनले आइतबार/सोमबारदेखि काम सुरु गर्ने बताए । उनले यसले केही समय लिने पनि जानकारी दिए । ‘विषय ठूलो भएकोले सबैसँग बुझ्नुपर्छ । यसकारण केही समय लाग्छ,’ अर्यालले भने ।
गम्भीर मानिएको नक्कली टिकट प्रकरणमा सदस्य–सचिव लामाले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडीपोखरी प्रमुख केशरी चित्रकार, सोही ठाउँमा केही समयअघि सामान्य प्रशासन प्रमुखबाट सरुवा भई पुगेका मधुसूदन बस्नेतलाई खेलकुद प्रतिष्ठानमा सरुवा गरिसकेका छन् । त्यस्तै टिकटबिक्रीमा काम गरिरहेका दुई कर्मचारी र टिकटजाँचमा काम गर्ने पुराना एक कर्मचारीलाई पनि सरुवा गरिएको राखेपले जनाइसकेको छ ।
विगतमा ठेक्कामा दिने गरेको पौडीपोखरी यस वर्षदेखि राखेप आफैले सञ्चालन गरेको थियो । सातदोबाटो पौडीमा मात्र दुई महिनाको अन्तरमा ५० लाख रुपियाँ आम्दानी भएको जनाइएको छ ।

प्रतिक्रिया