चण्डीगढ, २९ असार । भारतका स्टार क्रिकेटर युवराज सिंह आफूलाई ग्रस्त पारेको रोग क्यान्सर र त्यससम्बन्धी आफ्नो अनुभवबारे पुस्तक लेख्दै छन् । पुस्तकको शीर्षक पहिले नै राखिसकिएको छ– ‘इन डिफरेन्ट फर्म’, र यो यसै वर्ष डिसेम्बरको अन्त्यसम्ममा बजारमा आइसक्ने पनि जनाइएको छ ।
युवराज सिंह भन्छन्, ‘मलाई यस सम्बन्धमा सोच्दा के लाग्छ भने मेरो जीवनमा अंग्रेजी अक्षर ‘सी’ र त्यसबाट सुरु हुने शब्दहरूको निकै प्रभावशाली भूमिका छ । मेरो जन्म चण्डीगढमा भयो, म क्रिकेटर बनेँ र विश्वभरि नै एक क्रिकेटरका रूपमा आफ्नो टोलीसितै कपका लागि लालायित भइरहेँ । अब फेरि अंग्रेजीको एउटा नयाँ ‘सी’ शब्द मेरो जीवनसित जोडिन आइपुगेको छ, र जसको नाम हो– क्यान्सर । यो किताब त्यही क्यान्सरका सम्बन्धमा हो ।’
पुस्तकमा युवराज सिंहले सन् २०११ को विश्वकप क्रिकेट प्रतियोगिता जितेको र त्यसपछिका प्रसंगबारे बताउनेछन् । साथै उनले विश्वकपका म्याचहरू भइरहँदा उनले के–कस्ता परिस्थितिबाट गुज्रनुपरेको थियो र उनलाई त्यो भयानक रोगबारे कस्तो चिन्ता भइरहेको थियो भन्ने पनि सविस्तार खुलाउनेछन् ।
युवराजले पुस्तकमा आफूले फाइनलभन्दा अघिल्लो राति ईश्वरसित कसरी आफ्नो टिमलाई विश्वकप जिताइदिन र त्यसबापत भगवानलाई जे चाहिन्छ त्यो चाहिँ लिए हुन्छ भनेर प्रार्थना गरेका थिए भनेर पनि बताउनेछन् । युवराजले पुस्तकमा यो पनि उल्लेख गर्नेछन्– कसरी उनलाई विश्वकपका म्याचहरूको धङधङीले गाँजिरहेको बेला आफूलाई क्यान्सर रोगले समातेको थाहा हुन आएको थियो र उपचारक्रममा केमोथेरापी भइरहेका बेला उनको मनमा के–कस्ता भावनाहरू तरंगिने गरेका थिए ।
युवराज सिंहले केमोथेरापीका बेला आफूलाई हुने गरेको पीडा, दु:ख, लगातार क्षीण हुँदै गइरहेको शारीरिक ऊर्जा र दिनहुँ खुइलिँदै गइरहेको कपालबारे पनि यस पुस्तकमा लेख्नेछन् । साथै उनले आफू अस्पतालमा भर्ती भइसकेपछि उनलाई कुन डरले सताउने गथ्र्यो र उदासी एवं एक्लोपनबाट बच्न उनी कसरी आफूजस्तै रोगको उपचार गराइरहेका अन्य रोगीहरूसित कुराकानी गरेर बस्थे भन्ने पनि सविस्तार लेख्नेछन् ।
उनका अनुसार, उनको पुस्तक ‘इन डिफरेन्ट फर्म’ पनि अर्का चर्चित अंग्रेजी लेखक लान्स आम्र्सस्ट्रङले लेखेको ‘इट्स नट दि बाइक’ जस्तै पूर्ण इमानदारीपूर्वक लेखिएको हुनेछ । र, यो पुस्तक एकजना खेलाडीको विजययात्राका बारेमा नभई क्यान्सरले ग्रस्त भई उपचार गराइरहेको उनको जीवनका बारे हुनेछ ।
युवराज आफूले विश्वकपदेखि लिएर क्यान्सरग्रस्त हुन पुगेको र त्यसपछिको समयसम्म गरी धेरै कुरा सिकेका छन् । टोलीका एक सदस्य खेलाडीका रूपमा उनको इच्छा हुने गथ्र्यो– उनले मैदानभित्र र मैदानबाहिर जे–जस्ता गल्ती गरेका थिए र त्यसबाट जे सिकेका थिए, त्यसबारेमा आफ्ना सहयोगीहरूलाई बताउन र उनीहरूलाई सचेत गराउन पाए कति जाती हुने थियो ।
युवराजका अनुसार, उनलाई आफू क्यान्सर रोगले ग्रस्त भएपछि भारतमा कति धेरै क्यान्सरपीडित मानिस छन् भन्ने थाहा भएको थियो । उनी भन्छन्, ‘म के कल्पना गर्न सक्छु भने उनीहरूमध्ये धेरैजनाले एक्लोपन महसुस गरिरहेका होलान्, किंकर्तव्यविमूढ भइरहेका होलान् अथवा बेसरी आत्तिइरहेका होलान् । त्यसकारण म उनीहरूसित आफ्नो रोगको क्रममा जीवनमा आएका उकाली–ओह्रालीबारे बताउन चाहन्छु । म उनीहरूलाई भन्न चाहन्छु– उनीहरू आफूलाई एक्लो महसुस नगरून् । किनभने, मलाई लाग्छ, अब म पनि उनीहरूकै टोलीको एक हिस्सा बनिसकेको छु ।’
अंग्रेजी भाषामा लेखिएको युवराज सिंहको पुस्तक ‘इन डिफरेन्ट फर्म’ डिसेम्बरमा प्रकाशन भइसक्नेछ । प्रकाशनगृह र्यान्डम हाउस इन्डियाले पुस्तक बजारमा ल्याउन लागेको हो ।
प्रतिक्रिया