खोजखबर

रोमान्टिक झरी

सौर्य अनलाइन २०६९ असार २९ गते २:३२ मा प्रकाशित


वर्षात्मा उनी रुझ्दा झरी बनूँ लाग्यो,
केशबाट तप्प चुहिने पानी बनूँ लाग्यो ।
पृथ्वीनारायण क्याम्पस पोखराका २२ वर्षीय झलक पौडेल झरीमा रुझ्दा यही गीत सम्झन्छन् । उनी केही भावुक पनि बन्छन् । र, आºनो तन्नेरीपनलाई सडकमा साट्छन् झरीसँगै । झलकजस्तै धेरै नयाँ पुस्ता झरीमा रुझ्न मन पराउँछन् । झरीसँग उनीहरू आत्मीय बन्छन् । कतिपय त झरीमै रुन्छन् अनि आँसुलाई पानीको थोपामा विलय गराउँछन् । झरीमा रुझ्दा रुझ्दै थकित बनेर मुस्काउँदा ओठबाट मोती खसाल्ने तन्नेरीहरूको कथा पनि छ सहरमा । बढीजसो झरीमा रुझ्न मस्त जवानवयका किशोरकिशोरी नै रुचाउँछन् । त्यसैले त कलेज ड्रेस लुथ्रुक्कै भिजिसक्दा पनि उनीहरू निष्फिक्री हिँडिरहेका हुन्छन् । मानौँ उनीहरू बहादुरी पनि देखाइरहेछन् र सडक किनारका ओतहरूमा बाछिटाले पनि नभेटोस् भनेर टाँस्सिरहनेहरूलाई गिज्याइरहेछन्– धत्, झरीसँग पनि डराउने हो †
झरीको पूरै सिजनभरि कलेज बिदा हुँदैन । झरी बिसाउने समय पर्खेर बसूँ, उता कक्षाले पर्खंदैन । अनि त जतिसुकै ठूलो वर्षा होस्, कलेजका लागि हिँड्नु परिहाल्यो । वर्षात्मा यसरी हिँड्न पाउनुमा कतिपय रोमाञ्च अनुभूति गर्छन् त कतिपयचाहिँ बाध्यता मान्छन् । यसबाहेक कलेजका झ्यालबाट आकाशबाट धर्तीमा ठोक्किरहेका पानीका लामा रेखाहरू, जमिरहेको पानीलाई पानीले हिर्काउँदा उठ्ने तरंग अनि कानैमा ठोक्किने तप्पतप्प तप्केनीको आवाजले पनि मनलाई मजैले तानिरहेको हुन्छ । सिद्धार्थ इंग्लिस हाइअर सेकेन्डरी स्कुल, बनेपामा विज्ञान संकायबाट कक्षा १२ को परीक्षा दिएर बसेका सागर सापकोटाको फुर्सदलाई अहिले झरीले सघाएको छ । उनलाई आफू भिज्न उति मन पर्दैन रे, तर अरू भिजेको हेरर खुब आनन्द लिँदा रहेछन् । ‘केटीहरू भिजेको हेर्दा अझ बढी रमाइलो र ग्ल्यामरस लाग्छ’ उनको झरी अनुभव । झरीमा भिज्न नचाहने तर अरू भिजेको हेर्न मन पर्नेमध्येमै पर्छिन्, नेपाल इन्जिनियरिङ कलेजकी २० वर्षीया अनिता पण्डित पनि । उनी झरी परिरहँदा घरको झ्याल खोल्छिन् र एकोहोरो बाहिर हेर्छिन् । सडकमा बटुवाका जिउभरि सलबलाउने पानीका छिटाहरूले उनको मनलाई रोमाञ्चित बनाइदिन्छन् ।
झरीमा रुझ्दा यादहरूले पनि रुजाउने बताउँछिन् त्रिचन्द्र कलेजकी २३ वर्षीय प्रतिभा महर्जन । उनलाई झरीमा रुझ्दा खुब आनन्द महसुस हुन्छ रे । झरीसँग बिताएका कैयौँ अनुभव छन् उनमा । ‘छातालाई ब्यागमै राखेर कतिपटक रुझेकी छु,’ उनले भनिन् । ‘ओहो झरी † कत्ति दामी, कति बिन्दास’, पाटन क्याम्पसकी २६ वर्षीय धना ढकाल पनि झरी भन्नासाथ उत्साहित भइहाल्छिन् । सिमसिम पानीमा रुझ्दै हिँड्दाको आनन्दलाई उनले भरपूर उपयोग गरेकी रहिछन् । उनलाई कहिले छाताबाट चुहिएकै पानीले पनि भिजाइदिन्छ त कहिले छाताविहीन अवस्थामै । आकाशबाट पानी चुहिँदा बाल्यकालीन यादहरू प्नि चुहिन्छन् उनीमाथि । त्यसैले झरी उनका लागि एक ‘नोस्टाल्जिक इभेन्ट’ बनिदिन्छ ।
झरीमा रुझाइको आनन्दलाई शब्दमा बयान गर्न नसकिने तर्क गर्छन् झलक । स्कुलदेखि कलेज लाइफसम्म आउँदा रहर र बाध्यता दुवैले गर्दा रुझेका रहेछन् उनी । सडकमा हिँड्दै गर्दा एक्कासि परेको झरीका बीच एउटै छातामा केटा र केटी दुवै ओतिँदै हिँड्नुको बिछट्टै आनन्द पनि थाहा छ रे उनलाई । जब झरी पर्छ, पानीले बेइमानी गर्दै निथ्रुक्क पारिदिएका केटीहरूमा देखिने ग्याल्मर्सपन आँखामा कैद गर्न उस्तै हतारो हुन्छ झलकलाई । पोखरामा बढी परिदिएर झरीले उनको चाहनालाई सहयोग गरेकै छ ।
यसपालि काठमाडौंमा चाहिँ झरीले दिनभन्दा रातलाई प्यारो मान्न थालेपछि मज्जाले रुझ्ने धनाको चाहना पूरा हुनै बाँकी छ । उनी कुरिरहेकी छिन्– ‘जुन दिन गजबले झरी पर्छ, कपालबाट चुहियुन् मोतीहरू तप्पतप्प ।’ यता प्रतिभाको चाहना पनि उस्तै छ । झमझम झरीमा रुझ्दै जिन्स पाइन्टलाई फोल्ड गर्न र शरीरबाट पानीको थोपा झरेको हेर्न मन पर्छ उनलाई । र, यसपटक पनि दरबारमार्गमा रुझ्न चाहन्छिन् उनी स्यान्डल हातमा झुन्डाउँदै ।
सबैलाई झरीले न्याय नगरिदिन पनि सक्छ । बेस्मारी रुझेपछि रुघाले, ज्वरोले असर गर्ने शरीरधारी पनि हुन्छन् । अनिता रुघा लाग्छ भन्ने डरले पनि झरीमा बाहिर निस्किन्नन् । भन्छिन्, ‘बाहिर झरी पर्छ , आफूचैँ मज्जाले कोठामा बसेर मकै चपाइन्छ, जब जाडो हुन थाल्छ अनि सिरकमा गुटुमुटु भएर सुतिन्छ ।’ झरी परेकै बेला पढ्न मन गर्छिन् धना । सागरचाहिँ घरमा बसेरै नेट चलाउँछन् रे ।
मदिरा र झरीबीच सुमधुर सम्बन्ध ठहर्‍याउँछन् झलक । भन्छन्, ‘झरी परिरहँदा मदिरा पिएर मात्नुको मज्जै बेग्लै ।’ झ्यालबाट पर झरीतिर हेर्दै ‘साउनको झरी बनी तिमी आउन…’ गनन्गुनाउँदै प्यालामा मदिरा थप्नुको आनन्द लुट्न चाहन्छन् रे । झरी र संगीतको सम्बन्ध अथ्र्याउँछिन् धनाचाहिँ– ‘झरी परिरहेको बेला सेन्टिमेन्टल सङहरू सुन्दा निकै आनन्द लाग्छ ।’
नयाँ पुस्तामा वर्षाती समयलाई मन पराउनेहरू खुब भेटिन्छन् । झरीलाई मदिरासँग, संगीतसँग, प्रेमसँग अनि यादहरूसँग गाँसेर हेर्ने जमात ठूलो छ । भुवन पोखरेल आºनो ब्लगमा झरी साहित्य यसरी लेख्छन् –
झरी पर्दै गर्दा
एकतमासको मन थियो
यादहरू यसरी बर्सिए
मानौँ, रेडियोले भनोस् –
आज यति मिलिलिटर ‘प्रेम बर्सियो ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय