सुर्खेतमा क्षेत्रीय इन्धन डिपो नबन्ने

सुर्खेत, २९ असार । जग्गा खरिद प्रक्रियामा विवाद उत्पन्न भएपछि नेपाल आयल निगमले सुर्खेतमा स्थापना गर्न लागेको क्षेत्रीय इन्धन डिपो अन्यत्रै सार्ने निर्णय गरेको छ । जग्गा खरिदका लागि प्रक्रिया सुरु भइसकेकाले सुर्खेतमा क्षेत्रीय इन्धन डिपो स्थापना नहुने भएको हो ।

जग्गा खरिद प्रक्रियामा मूल्य विवाद बढेपछि निगमले क्षेत्रीय इन्धन डिपो सुर्खेतमा स्थापना नगर्ने निर्णय गरेको हो । मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामसमेत रहेको सुर्खेतमा आएको एउटा अवसर गुम्ने अवस्थामा पुगेको छ ।
निगमको केन्द्रीय कार्यालयले इन्धन डिपो सुर्खेतबाट अन्य जिल्लामा सार्ने निर्णय गरेको छ । मध्यपश्चिम क्षेत्रका सबै जिल्लामा सेवा दिन निगमले सुर्खेतमा क्षेत्रीय इन्धन डिपो स्थापनाको प्रक्रिया अघि बढाएको थियो । डिपो निर्माणका लागि तीनपटक सूचना प्रकाशित गरेर जग्गा खरिदको प्रक्रिया थाले पनि काम अघि बढ्न नसकेको हो । छिन्चु गाउँ विकास समिति–८ मदानेचौरमा डिपो स्थापनाका लागि जग्गा खरिदको सम्झौता हुने क्रममा मूल्यमा विवाद आएपछि डिपो स्थापनाको प्रक्रिया अवरुद्ध भएको हो । मध्यपश्चिम क्षेत्रका पहाडी जिल्लामा सहज रूपमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न निगमले ०६६ मा जग्गा खरिदको प्रक्रिया सुरु गरेको हो ।
छिन्चु–जाजरकोट सडकअन्तर्गत छिन्चुको मदानेचौरमा रहेको करिब पाँच बिघा जग्गा स्थानीय देवेन्द्रप्रसाद कोइरालाले प्रतिरोपनी दुई लाख ९० हजार रुपियाँका दरले निगमलाई बिक्री गर्न सहमति जनाएका थिए । तर, गाउँ विकास समितिले आयल निगमलाई सरकारी दर र चलनचल्तीको मूल्यभन्दा तेब्बर मूल्य सिफारिस गरेको थियो । स्रोतका अनुसार गाविसले प्रतिरोपनी तीन लाख ७० हजार रुपियाँ भएको भनी सिफारिस गरेको थियो ।
जग्गा धनीबाट प्रतिरोपनी दुई लाख ९० हजार रुपियाँका दरले जग्गा लिने तर निगमलाई बेच्नका लागि प्रतिरोपनी तीन लाख ७० हजार बनाई सिफारिस गर्नुले जग्गा लिनुअगाडि नै रकमको चलखेल भएको आशंका गरिएको थियो । जग्गाधनीले सात लाख रुपियाँ धरौटीसमेत बुझाइसकेका थिए ।
गाविसले चलनचल्तीको दर भन्दा तेब्बर मूल्य सिफारिस गरेपछि डिपो अन्तै जाने अवस्था आएको हो । बढ्दो सवारीसाधनका कारण मध्यपश्चिमको सुर्खेतमा ठूलो क्षमताको इन्धन डिपो आवश्यक रहेको भन्दै सुरु गरिएको योजना मूल्य विवादकै कारण अन्यत्र जाने भएको हो ।

प्रतिक्रिया