दलित महिलाद्वारा १० बुँदे धनगढी घोषणापत्र जारी

कैलाली, २९ असार । धनगढीमा भएको सुदूरपश्चिमका नौ जिल्लाका दलित महिलाको भेलाले १० बुँदे धनगढी घोषणापत्र जारी गरेको छ ।

नारी उत्थान मञ्च कैलालीको आयोजनामा भएको महिलाअधिकार तथा जातीय विभेदसम्बन्धी दलित महिलाको सुदूरपश्चिम भेलाले दुई दिनसम्म सामूहिक छलफल गरेर १० बुँदे घोषणा जारी गरेको हो ।
घोषणापत्रमा दलित महिलाको अवस्थामा सुधार ल्याउने, दलित महिलाको हरेक क्षेत्रमा पहुँच हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूले दलित महिलालाई ३३ प्रतिशतबाटै छुटयाइनुपर्ने, गरिबीका कारण कामको खोजीमा मुलुकबाहिर जाने गरेका एचआइभी र एड्सबाट पुरुष संक्रमित भएर बढी मात्रामा दलित महिला पीडित हुनुपरेको औँल्याउँदै राज्यबाट ठोस कदम चाल्नुपर्ने बताएका छन् ।
त्यस्तै, दलित र दलित महिलामाथि हुने हिंसालाई सहजरूपमा दर्ता गर्ने वातावरण बनाउन स्थानीय प्रशासनलाई संवेदनशील हुन माग गरिएको छ । दलित समुदायको शिक्षामा पहुँच पुर्‍याउन प्राथमिक तहदेखि उच्चमावि तह तथा प्राविधिक शिक्षा नि:शुल्क हुनुपर्ने, दलित समुदायको सीपलाई राज्यले संरक्षण गर्नुपर्ने र उनीहरूको सीपलाई आधुनिकीकरण गरी आर्थिक अवस्था प्रवद्र्धन गर्न विनाधितो ऋण उपलब्ध गराउन माग गरिएको छ ।
जारी घोषणापत्रमा सुदूरपश्चिममा रूढीवादी मूल्यमान्यता विद्यमान रहेकोले छाउपडी, जातीय छुवाछुत, बोक्सी प्रथाविरुद्ध अभियान चलाउन माग गरिएको छ । भेलामा अछाम, बझाङ, बाजुरा, डोटी, डडेल्धुरा, कञ्चनपुरलगायतका जिल्लाका दलित महिलाको उपस्थिति थियो ।

प्रतिक्रिया