सञ्चारमन्त्रीले पैसाको चलखेल गरेको आरोप

काठमाडौं, २८ असार । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष नन्दकुमार दत्तले पार्टी कारबाहीमा परेका सूचना तथा संचारमन्त्री राजकिशोर यादवले पैसाको चलखेलमा लागेर पार्टीलाई कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।
उनले भने, ‘मन्त्री यादव पैसा र पदको प्रभावमा पारेर पार्टी कब्जागर्न खोजेका छन् ।’
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर दत्तले पदबाट निष्काशन गर्न हस्ताक्षर गर्ने १४ बहुमत केन्द्रीय सदस्य अडिग रहेपछि यादव पैसाको चलखेलमा लागेको दाबी गरे ।
‘राजकिशोरजी पैसाको चलखेलमा सक्रिय हुनुहुन्छ,’ दत्तले भने, ‘पैसाकै आधारमा पार्टी कब्जागर्ने षड्यन्त्र विफल हुन्छ ।’
यादव विरुद्ध हस्ताक्षर गर्ने केन्द्रीय सदस्यहरुलाई खोजीखोजी पैसाको लोभ देखाउन गिरोहलाई सक्रिय बनाएको उनको आरोप थियो ।
विधि र प्रक्रिया संगत रुपमा कार्यवाहक अध्यक्ष हटाएको भन्दै दत्तले निर्वाचन आयोगले हस्ताक्षर परीक्षण गरी छिटो निर्णय दिनुपर्ने बताए ।
संचारमन्त्री यादवलाई पदबाट मात्र हटाएको उनले स्पष्ट पारे । कार्यबाहक अध्यक्ष दत्तले भने, ‘मधेसको बदनाम गर्न मन्त्री यादव सक्रिय छन्,’
आन्तरिक विवादका कारण मन्त्री यादवलाई पदबाट हटाई दत्त आफै कार्यबाहक अध्यक्ष बनेका हुन् ।

प्रतिक्रिया