पदकविजेतालाई नगद पुरस्कार

काठमाडौं, २८ असार । राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदकविजेता खेलाडीलाई प्रोत्साहन स्वरूप बुधबार नगद पुरस्कार प्रदान गरेको छ । वर्ष ०६८/६९ मा भएका विभिन्न दक्षिण एसियाली र एसियाली स्तरीय तथा आमन्त्रण च्याम्पियनसिपका स्वर्ण र रजत विजेतालाई नगद पुरस्कार प्रदान गरिएको हो । अफिसियल खेलको स्वर्णलाई सात हजार पाँच सय १० रुपियाँ तथा नन्अफिसियलतर्फको स्वर्णलाई दुई हजार आठ सय ९० रुपियाँ प्रदान गरियो ।
सात अफिसियलसहित विभिन्न ११ खेलका ६१ खेलाडीलाई कुल तीन लाख ७४ हजार नौ सय ५० रुपियाँ वितरण गरिएको थियो । उक्त खेलाडी संख्यामा एक खेलाडी करातेकी गंगादेवी अधिकारीले दोहोरो पुरस्कार हात पारिन् । खेलाडीको छनोट गर्न खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनालको संयोजकत्वमा नौ सदस्यीय खेलाडी छनोट समिति गठन गरिएको थियो ।
बंगलादेशको ढाकामा भएको दोस्रो फजिलातुन्नेसा मुजिब अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपअन्तर्गत करातेमा स्वर्ण विजेता विजय लामा, सुनील लामा, विनोद महर्जन, मुकुन्द महर्जन, लेखनाथ मैनाली, पर्शुराम बाँस्तोला, मन्डेकाजी श्रेष्ठ, केदारबहादुर सिंखडा, गणेशबहादुर थिङ, दिगम्बरप्रसाद पन्त, मल्लिका थापा, अनु अधिकारी, रोजी नगरकोटी, लक्ष्मी भट्ट, सुभद्रा श्रेष्ठ, संगीता डंगोल, चञ्चला दनुवार तथा गंगादेवी अधिकारीले जनही सात हजार पाँच सय १० रुपियाँ नगद पुरस्कार प्राप्त गरे । उक्त प्रतियोगितामा समावेश १४ स्वर्णमध्ये सबै स्वर्ण जित्दै नेपालले क्लिनस्विप गरेको थियो ।
करातेकै गंगादेवी अधिकारीलाई सिंगापुरमा भएको सिंगापुर खुला करातेमा स्वर्ण जितेबापत छुट्टै सात हजार पाँच सय १० रुपियाँ नगद प्रदान गरियो । नेपालगन्जमा भएको प्रथम दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनसिपका स्वर्णधारी अनिल मल्ल तथा तारादेवी पुनले पनि करातेकै जत्ति नगद पुरस्कार पाए । भारतको गुजरातमा भएको दोस्रो दक्षिण एसियाली वादोरियो कराते च्याम्पियनसिपमा पहिलो भएका सानुकान्छा श्रेष्ठ, सुकबहादुर राई, चित्रप्रसाद श्रेष्ठ, सिमोन खत्री र मनबहादुर तामाङ तथा सोही स्थानमा भएको गोजुरियो ओसिकाईको अर्को प्रतियोगितामा अन्तर्राष्ट्रिय सेइकोकाइ खुला करातेमा पहिलो भएका आमोदकुमार राय र रुक्मिला तामाङलाई जनही सात हजार पाँच सय १० रुपियाँ दिइयो ।
बंगलादेशको ढाकामा भएको दोस्रो फजिलातुन्नेसा मुजिब अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपअन्तर्गत तेक्वान्दो (आइटिएफ) का स्वर्ण विजेता उमेश राजथला, विश्व श्रेष्ठ, आकाश खनाल तथा विजय श्रेष्ठले दुई हजार आठ सय ९० रुपियाँ नगद पुरस्कार पाए ।
त्यस्तै, पाकिस्तानको इस्लामाबादमा भएको दक्षिण एसियाली जुडो च्याम्पियनसिपका स्वर्णधारी सरोज महर्जन तथा काठमाडौंमा भएको जुडो फर पिस दक्षिण एसियाली क्याडेट जुडो च्याम्पियनसिपमा शीर्ष स्थान हात पारेका विकास भुजेल, रूपेश शाही, श्रवण शाक्य, रोहित कार्की, समिर खड्का, शारदा खत्री र देवकीमाया श्रेष्ठले सात हजार पाँच सय १० रुपियाँका दरले नगद पुरस्कार थापे । काठमाडौंमा सम्पन्न प्रथम माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पहिलो स्थान हात पारेका यानकुमारी चौलागाईं, मनिता शाही, आयशा शाक्य, सुजन जोशी, अनोज पुजारी तथा अप्सरा कार्कीले पनि सात हजार पाँच सय १० रुपियाँका दरले नगद पुरस्कार हासिल गरे ।
काठमाडौंमै भएको प्रथम एसियाली साम्बो च्याम्पियनसिपका स्वर्ण विजेता नवीना लामा, सन्तोषी घले, गीता राना मगर, सुनीता मगर, पूर्ण घिसिङ, रुद्र लिम्बू तथा गोविन्द खत्री जनही दुई हजार आठ सय ९० रुपियाँ नगदबाट पुरस्कृत भए । काठमाडौंमा भएको पाँचौँ एसियाली ओसिएना च्यानबारा च्याम्पियनसिपका स्वर्णधारी कृशला घिसिङ, प्रतीक लामा, सन्नी गौर, धनदास लामा, विपना अधिकारी तथा सञ्जय शाही जनही दुई हजार आठ सय ९० रुपियाँ पुरस्कारको हकदार बने ।
काजाकिस्तानको आस्तानामा भएको एसियाली सिन क्योकुसिन फुल कन्ट्याक्ट करातेमा रजत जितेकी अनिसा लामा स्याङ्तानले दुई हजार आठ सय ९० रुपियाँ नगद पुरस्कार पाइन् । त्यसैगरी, भारतको जम्सेदपुरमा भएको चौथो एसियाली गोजुरियोमा स्वर्ण जितेबापत मनीषा रानाभाटले पनि सात हजार पाँच सय १० रुपियाँ नगद पुरस्कार थापिन् । खेलाडीलाई राखेप सदस्य–सचिव युवराज लामा र कोषाध्यक्ष इन्द्रबहादुर थिङले त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित कार्यक्रममा नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव लामाले धेरै अनुसन्धान र विचार गरेर खेलाडी, प्रशिक्षक, खेलकुदको विकास र सिंगो राष्ट्रको हितलाई ध्यानमा राखी राखेपले दुवै ओलम्पिक कमिटी विघटनको सिफारिस गर्ने निर्णय गरेको बताए ।

प्रतिक्रिया