सहानाले लेखिन् : “छैन”

मुखबाट वाक्य फुट्न नसकेर के भो त ? अनुहारको चमक रत्ती घटेको छैन । आँखामा उत्तिकै तेज छ । देशको अवस्थाप्रतिको असन्तुष्टि जनताको माझमा पुगेर शब्दमार्फत व्यक्त गर्न आतुर जस्तो लाग्छ मुखाकृति, बोल्न बल गरेको देख्दा । तर, शरीरका अवयवहरू कमजोर छन् । राजनीतिप्रति मनमा भेलसरी उर्लेको वितृष्णा अनुहारमा पोतिएको भावबाट बुझ्न सकिन्छ ।
सहाना । हो तिनै सहाना प्रधान नेपालको राजनीतिले निरंकुश पञ्चायतबाट कोल्टे फेरेको उत्कर्षका दिनमा राजासँग वार्तामा थिइन् । बाहिर मुक्तिगामी नारा चर्केका बेला ०४६ सालको जनआन्दोलनको उत्कर्षका दिन उनी तत्कालीन राजा वीरेन्द्रसँग नारायणहिटी दरबारमा ‘टेबुलटक’ मा थिइन् । सँगसँगै थिए कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र राधाकृष्ण मैनाली । छोटो अवधिमै पञ्चायत गयो, बहुदल आयो, फेरि राजाकै सक्रिय शासनपछि अहिले गणतन्त्र आएको छ । व्यवस्थाहरू निरन्तर परिवर्तनको यो चक्रवत् परिदृश्यकी दर्शक बनेकी छिन् तिनै सहाना अहिले । बुधबार ८६औं जन्मदिन आइपुग्दा सहाना वाणीहीन अवस्थामा घाइते वीरांगनाझैँ बिस्तरामा पल्टिएकी छिन् ।
भेट्न आउनेहरूसँग बोल्न सक्दिनन् सहाना । अहिलेको सिंगो राजनीतिलाई एउटै प्रश्नमा उनेर उनीसँग जवाफ माग्ने प्रयासको प्रतिफल सहानाको कलमबाट निस्कियो ‘छैन’ । नेताहरूको देश चलाउने तरिका कत्तिको मन परेको छ ? भनेर गरिएको प्रश्न सहानाले सुनिन्, अनि काँपेका उनका हातले समातेको कलमले लेख्यो, ‘छैन’ ।
अहिले ओछ्यानलाई नै संसार मान्नुपर्ने बाध्यता बनेको छ । शरीरमा तागत नभएपछि मनको शक्ति काम नलाग्ने रहेछ । वाक्य बसेको वर्षदिन पुग्यो । अर्काको सहारा नभई शरीरले भर पाउँदैन । २००४ सालदेखि आफूले नेतृत्व गरेको नेपाली महिला आन्दोलनले कत्तिको फड्को मारेको छ, बुझ्नका लागि अहिलेका महिला नेतृसँग भलाकुसारी गर्ने वाक्शक्ति पनि छैन उनीसँग । मनका जिज्ञासा, चाहना अनि असन्तुष्ट भाव आँखाले बोल्छ ।
आधुनिक नबनिसकेको समाजमा महिलाहरूको एक्लो परिचय विरलै हुन्छ अझ हुँदै हुँदैन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालकी श्रीमती हुन् उनी तर उनले आºनो परिचयका लागि पुष्पलालको नाममा टाँस्सिएर आउनु परेन । नेपालको कम्युनिस्ट राजनीतिमा एक सशक्त नेतृत्वकर्ता बनेर आºनो जीवनको ऊर्जाशील समय बिताइन् । ज्यान बाजी राखेर राणाविरोधी आन्दोलनमा अघिल्लो मोर्चा सम्हालिन् ।
तर, राजनीतिको अहिलेको चालप्रति सहाना सन्तुष्ट छैनन् । काठमाडौंको सानेपामा घरको माथिल्लो तलाको एक कोठा, कोठाभित्रको सानो पलङमा नै एक वर्षयता शरीरको बोझ बिसाउँदै आएकी छिन् । सुतेरै हेर्न मिल्ने गरी राखिदिएको टेलिभिजनको पर्दामा दैनिक घटनाक्रम उनी बिस्तराबाटै नियालिरहन्छिन् । कानले सानो आवाज पनि टिप्छ, आँखाले हरेक क्रियाकलाप टेलिभिजनको पर्दामा नियाल्छन् । अनि, अहिलेको राजनीति देखेर मनमनै थकथकाउँछिन् । आमाको भाव छोरा उमेशलालको मुखबाट सुनियो ‘नेताहरूले देश बिगारे ।’ कम्युनिस्ट पार्टीमा लागेर जनताप्रति जीवनपर्यन्त गरेको संघर्षले उनलाई पीडाबोध गराउँदो हो । कहिलेकाहीँ छोराछोरीसँग कुरा हुन्छ बडो गाह्रोसँग । जातीय आधारमा राज्य बनाउन नहुने उनले छोराछोरीसँग भन्ने गरेकी छिन् । बोल्न नसके उनी लेखेर पनि आºना कुरा व्यक्त गर्छिन्– ‘देशमा कम्युनिस्टजस्तो व्यवहार कुनै कम्युनिस्ट पार्टीले पनि गरेनन् ।’ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालले आºना रचना र दस्ताबेजहरूमा कहिल्यै थर लेखेनन् सायद पुष्पलालको विचारको त्यही लय सहानाले समातेकी छिन् । उनी भन्छिन् ‘राज्य जात, वंश र कुलको हुँदैन ।’
८६ वर्षीया सहाना नेपाली कम्युनिस्ट र प्रजातान्त्रिक आन्दोलनको सिंगो इतिहासकै जिउँदो साक्षी हुन् । २००४ सालदेखि महिला आन्दोलनको अगुवाका रूपमा राजनीतिक यात्रा थालेकी सहाना ०४६ सालसम्म आइपुग्दा संयुक्त वाममोर्चाको अध्यक्षसमेत बनिन् । दिल्ली सम्झौताविरोधीे आन्दोलनमा पनि उनले सशक्त भूमिका निर्वाह गरिन् । महिला, विद्यार्थीदेखि किसानसम्मको आन्दोलनमा सहाना प्रधानले वामपन्थी महिलाका रूपमा सशक्त क्षमता देखाइन् ।
नेपाल कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशनमा नीति र नेतृत्वको महाविवाद भयो । पुष्पलालको नीति पारित गरेर महाधिवेशनले डा. केशरजंग रायमाझीलाई महासचिव चुन्यो । नेता र नीतिबीचको तदात्म्य नहुँदा कम्युनिस्ट पार्टीमा आएको संकट पनि उनले नजिकैबाट भोगेकी छिन् । २०१४ सालमा भएको भद्र अवज्ञालाई उनले गर्भवती अवस्थामा सघाएकी थिइन् । महिलाले घरबाट बाहिर निस्कन नहुने रूढ चिन्तनले ग्रस्त समाजमा सहाना पटकपटक जेल परिन् । राणा शासन र पञ्चायती व्यवस्थाको जेल जीवन उनले बिताएकी छिन् । नयाँ जनवादी क्रान्तिमार्फत समाजलाई समृद्ध बनाउने कृत्यस्वरूप उनले जेल जीवनलाई पनि सहजै स्विकारिन् । कम्युनिस्ट पार्टीको प्रतिबन्ध रहँदा लामो समय भारतमा लुकेर बसेका श्रीमान् पुष्पलालको दह्रिलो आधार नभए पनि राजनीतिक अग्रपंक्तिमा रहेर काम गर्ने उनको चाहना रोकिएन ।
नेपाली राजनीतिमा पार्टीको नेतृत्वपंक्तिमा रहेर काम गरेका अत्यन्त कम मात्रै महिला छन् । सहानाको सशक्त व्यक्तित्वका कारण ०४६ मा संयुक्त वाममोर्चाको नेतृत्व लिएकी थिइन् । उनले तत्कालीन अवस्थामा संवैधानिक राजसंस्थासहितको बहुदलीय व्यवस्थाको कार्यनीतिमा अन्य वाम समूहसमेतको नेतृत्व गरिन् । त्यसलगत्तै थालिएको संयुक्त जनआन्दोलनले पञ्चायती व्यवस्था फाल्यो । बहुदलीय व्यवस्था स्थापना भएपछि बनेको अन्तरिम सरकारमा उद्योग वाणिज्यमन्त्री भएकी उनी ०६३ सालको अर्काे जनआन्दोलनपछि परराष्ट्रमन्त्री भइन् ।
पहिलोपटक संगठित रूपमा राणाशाहीविरोधी नारा लगाउने चार कर्मठ महिला कार्यकर्तामध्ये एक सहाना प्रधान थिइन् । राणाशाही विरुद्धको आन्दोलनमा सहाना, कनकलता, स्नेहलता र साधना प्रधान थिए । महिलालाई पनि विद्यालयमा पढ्न पाउने अधिकारका लागि उनीहरूले आन्दोलन गरेका थिए । उनीहरूको सशक्त मागसामु तत्कालीन श्री ३ प्रधानमन्त्री पद्मशमशेर महिलालाई शिक्षाको अधिकार दिलाउन सहमत भए ।
बाल्यकालमै प्रवासी जीवन बेहोरेकी सहानाले दोस्रो विश्वयुद्धमा भएका गोलाबारी आºनै आँखाले देखेकी छिन् । दुई वर्षको उमेरमा आमाको देहान्त भएपछि बुबासँग हुर्किएकी उनी परिवारका साथ ७ कक्षा पढ्दासम्म बर्मामा बसेकी थिइन् । बर्मामा बसेको समयमा दोस्रो विश्वयुद्धका कारण जापान र बेलायतले ºयाँकेको गोलाबारुदबाट भाग्दै जोगिएको जीवन्त स्मरण उनीसँग छ । उनको आत्मवृत्तान्त स्मृतिका आँखीझ्यालमा दोस्रो विश्वयुद्धका घटनावर्णन छ । पछिल्ला पुस्तालाई आºनै मुखबाट ती कहालीलाग्दा घटनाहरू सुनाउन उनी समर्थ छैनन् अहिले । एक इतिहास रचेको जीवनको भोगाइ जनतामाझ प्रस्तुत गरेर देशलाई सभ्य तथा स्थिर मुलुक बनाउन आह्वान गर्ने चाहना उनका आँखाका भावले बोल्छन् । तर, उनको मनभित्रका चाहनाको पोको वाक्य बनेर निस्कन सक्दैनन् । त्यसैले होला, सहाना आफूभित्रको चाहना आँखाको भावबाट खोल्न अनि आºनो वृद्धावस्थाले बनाएको निरीहता हत्तपत्त देखाउन चाहँदिनन् । भेट तथा उनका भावना बुझ्न खोज्ने कोही पुगे उनी चिढिएको मुखाकृति देखाउँछिन् । त्यतिबेला बुझ्न सकिन्छ, उनी पनि आºना देशका नेताले देखाएको गैरजिम्मेवार व्यवहारप्रति उर्लिएको भाव हज्जारौँ जनामाझ पोख्न चाहन्छिन् । भन्न चाहन्छिन् ‘हाम्रो देश विखण्डनतर्फ जाँदैछ । बेलैमा सचेत नभए देश नराम्रो संकटमा जान सक्छ ।’ अनि नेताहरूलाई खबरदारी गर्न जनतालाई सुझाउने उनको चाहना मेटिँदैन । मात्रै बोलेर चोटिलो भाषणमा अभिव्यक्त गर्न नसक्ने आºनो अवस्थाप्रति उनी आफैँ निराश भएझैँ देखिन्छिन् । आºनो निराशालाई कहिलेकाहीँ हातको भाव, कहिले शब्दमार्फत लेखेर व्यक्त गर्छिन् ।

प्रतिक्रिया