‘९९ को चक्र’ –यो सिद्धान्त आफैँमा असन्तोषे लाग्छ । यही चक्रभित्र रुमल्लिन्छ मानिस जीवनभर । ९९ पाउनासाथ सयको चाहना जन्मिन्छ । अनि जीवनहरूलाई चाहनारूपी यो भाइरसले लखेटिरहन्छ निरन्तर, समाजको परम्परागत संस्कार बनेर । त्यसैले त समाजभरि नै व्याप्त छ असन्तुष्टि । ‘म पनि यही सिद्धान्तभित्रको असन्तोषे जीव हुँ’, व्यापारी नरेन्द्रकुमार गुप्ताले भने– ‘मलाई तीस लाख जम्मा गर्ने निकै ठूलो चाहना थियो, त्यही तृष्णा मेट्न व्यापारमा होमिएँ, पढाइ चौपट भयो ।’ आज उनको हैसियत ३० लाखको होइन, ५०औं करोडभन्दा बढीको हो । तर, असन्तुष्टि पटक्कै घटेको छैन, चाहनाको आयतन हर्लक्कै उचालिएको छ । व्यवसायलाई अर्बौंको बनाउने मृगतृष्णाले लखेट्न थालेको छ । एक समय सामान्य व्यापारी बन्ने रहरले झङझङ्याएका उनी आज सायद बन्न चाहन्छन्, सर्वोच्च व्यवसायी । उनी आफैँ भन्छन्– ‘३० लाख बचतसीमा तोडिएकै जुग भइसक्यो, तर व्यवसायको रहर अझै मेटिएन भन्या †’
सायद नेपालमै सबैभन्दा बढी चर्चित गहना पसल हो– ऋद्धिसिद्धि ज्वेलर्स । यसैका सञ्चालक हुन् उनी । जहाँ छ, पचास करोड रुपियाँभन्दा बढीको लगानी । गुप्तालाई सञ्चालनमा रहेका अन्य पसलभन्दा आºनो पसलले बजारमा उच्च तह कायम गरेझैँ लागेको छ । तर, बजारको प्रतिस्पर्धात्मक रस्साकस्सीबीच असन्तुष्टिसँगै त्रासको भोल्टेज पनि बढिरहन्छ– अरू कसैले उछिन्ने पो हो कि † कपाल कालाम्मे हुँदाको जवान वयमा ३० लाखको चाहनाले पिरोलिएका उनलाई आज कपाल हिउँपरेसरि हुँदा बजारमा कसरी उच्च नियन्त्रण कायम राख्ने भन्ने भूतले पनि उत्तिकै तर्साइरहेको छ । पैसासँगै अनुभव पनि कमाएका छन् उनले । व्यापारमा बिताएका १५ वर्षले सानोतिनो बोधिज्ञान पनि सिकाएका छन्, जसले भन्न थालेको छ– उचाइमा पुगिसकेपछि साख जोगाउन झनै गाह्रो रहेछ ।
१६ वर्षको उमेरमा एसएलसी दोस्रो श्रेणीमा उत्तीर्ण गरे पनि पढाइतिर उनको रुचि गएन । बरु, कपडा व्यापारी पिता केदारनाथ गुप्ताले खनखनी पैसा गनेको देखेर त्यतैतिर लोभिए । अनि हौसिए, व्यवसायतिर । १६ वर्षको काँचो उमेरमा पदम इन्टरनेसनल इलेक्ट्रोनिक्स दर्ता गरे । तर, उनको चञ्चले मन यसमा धेरै वर्ष अडिएन । युवा जोस न पर्यो, केही नयाँ गरेर देखाऊँ भन्ने रहरले उखरमाउलै गर्यो । तर, गर्ने के त ? केचाहिँ नयाँ होला बजारमा ? एकपटकको दुबई भ्रमणले उनको मनमा उब्जिएका यी प्रश्नलाई शमन पारिदियो । दुबईका रंगीन सहरमा उनले देखे– सुनैसुनको गरगहनाका पसल । यतिसम्म आकर्षक बान्कीका गहना पसल उनले नेपालमा देखेका थिएनन् । अनि नयाँ उपाय फुराइहाले– नेपालमा गएर त्यस्तै पसल चलाउने ।
उति बेला सुन व्यवसाय जातका आधारमा गरिने संस्कारको धङधङी बाँकी नै थियो । व्यापारिक पृष्ठभूमिका भए पनि उनको ‘जात’ सुन पसल गर्ने थिएन, यसैको सिकार उनी पनि भएछन् । साथीभाइ विभिन्न तर्क दिएर यो व्यवसाय नगर भन्थे, उनलाई सुनसम्बन्धी व्यावसायिक आइडिया लगभग ‘शून्य’ थियो । दोधारै दोधारका बीच एक वर्ष त्यत्तिकै गुजारे । अन्तिममा आँट दह्रिलो पारे । ‘१५ वर्षअघिको साँझ इलेक्ट्रोनिक्स पसल बन्द गर्ने समय हुँदै थियो’, उनी सम्झँदै छन्, ‘मेरो मनले सुनपसलै गर्ने निर्णय गर्यो एकाएक । एक घन्टामै इलेक्ट्रोनिक्सका सामान हटाएर रातिसम्ममा नयाँ पसलका लागि ठाउँ खाली बनाउन मिस्त्रीलाई अह्राएर घरतिर लागेँ ।’ त्यही सुनपसलले अहिले १५ वर्ष पार गरिसकेको छ । काठमाडौंमा थालेको आधुनिक सुनका गरगहनाको पसल सफल बनाउने दिनका सुरुआती अप्ठ्यारा र मानसिकताहरू निष्फिक्री बताउँछन् उनी, हिचकिचाउँदैनन् । उनकै भनाइमा, आºनो आम्दानीको जानकारी दिनुपर्दा अधिकांश व्यवसायी अतालिन्छन् । तर, गुप्ता आफूचाहिँ ‘सिरक ओढेर घिउ खानुपर्छ’ भन्ने मान्यताको विरोधी रहेछन् । यो मान्यतालाई उनी आºनो व्यवसायको प्रचारशैलीसँग लगेर जोड्छन् । गहना पसल थालेको दस वर्षपछि प्रचारका लागि विज्ञापन गर्दा अरू व्यवसायी साथीले ‘पागल भयो’ भनेर टिप्पणी गरेका थिए रे । ‘आºनो पसलको ब्रान्ड स्थापित गराउन त्यही निर्णयले सहयोग गर्यो ।’ प्रचारको प्रसंग जोड्दै गुप्ता थप्छन्– ‘धन भएको मान्छेले आफूसँग धन छ भन्न डराउनु हुँदैन ।’ व्यवसायीले व्यवसायिक धर्म नछाडे, सफलता सधँै आºनो पक्षमा हुने उनको तर्क छ । व्यवसायीले आम्दानीबापतको राजस्व सरकारलाई तिर्न हिचकिचाउन नहुने बताउँछन् ।
व्यावसायिक प्रवद्र्धन एवं प्रचारका नाममा ठगी गर्ने प्रवृत्ति पनि पछिल्लो समय बढ्दै गएको छ । तर, उनी व्यवसायीले ग्राहकको सेवालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँछन्– ‘ग्राहकमुखी सेवा व्यवसाय सफलताको पहिलो सर्त हो ।’ काठमाडौंको विशालबजारमा ऋद्धिसिद्धि ज्वेलर्सका दुई पसल छन् । नयाँ डिजाइनका सुनका गहना मात्रै होइन, हीराका गहनाको पनि बजार सिर्जन गर्दै छन् गुप्ता । निम्नदेखि उपल्लो तहसम्मका व्यक्ति एकै ठाउँ आउन सक्ने गरी हीराको गहना पसल दर्ता गरेको बताए । ६ वर्षअघि हिराका गहना थपे पनि यसले बजारमा सुनको जत्तिको आकर्षण अझै समात्न नसकेको गुप्ताले देखेका छन् । ‘अझै पनि बजार सिर्जना गर्ने अभियानमै छु,’ उनले भने– ‘बजार पूर्ण विकासित भएपछि प्रतिस्पर्धी पनि बढ्छन् ।’ ऋद्धिसिद्धिले सन् २००२ मा नेपालकै पहिलो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गर्ने गहना पसलका रूपमा रेकर्ड राख्यो, यो गुप्ताकै लगनीशलताको देन हो ।
वार्षिक १८ हजार ग्राहकलाई सुन एवं हीरा पहिर्याइरहेका गुप्ता आºना ग्राहक थपिँदै गएको देख्छन् । सुनका गहनालाई नेपाली उपभोक्तामाझ स्थापित गराएर यससम्बन्धी बजारको नेतृत्वकर्ताका रूपमा चिनिन्छन् उनी । परिवार, आफन्त तथा साथीभाइको साथ पर्याप्त छ । तर, व्यावसायिक जीवनसँग उति खुसी छैनन् । व्यापारले आफ्नो निजी जिन्दगीको खुसीहरूलाई निस्फिक्री फक्रन नदिएको अनुभव गर्छन् । उनी केही दार्शनिक बने– ‘व्यवसायमा मेरो आºनै जीवन छैन । यो अनन्त नटुंगिने जीवनयात्रा रहेछ ।’ व्यावसायिक यात्राले दिलाएको रुखो असन्तुष्टिलाई समाजसेवाको रसिलो अनुभूतिले पुर्न चाहन्छन् उनी । सन्तुष्टि कमाउन चाहन्छन् । त्यसैले लेलेमा जेष्ठ नागरिक संरक्षण केन्द्र खोल्न लगानी गरेका छन् । अन्य पाँच जिल्लामा पनि जेष्ठ नागरिक संरक्षण केन्द्र सञ्चालन गर्ने योजना बनाएको उनले सुनाए । हरेक वर्ष मुनाफाको दस प्रतिशत रकम समाजसेवामा लगाउने गरेको गुप्ताले बताए । भनिरहनै पर्दैन उनको व्यावसायिक जिन्दगी सफल छ तर यो रुखो यात्राको डेडलाइन कहाँ हो उनलाई थाहा छैन । ९९ बाट सय बनाउने लालसाको असन्तुष्टिबाट फुत्कन चाहन्छन् उनी, व्यापारीकै स्वरूपमा । तर, उपाय भेट्दैनन् । उनले कुराकानीको बिट मारे– ‘व्यवसायको भ्याइनभ्याइ आर्यघाट नपुगी अन्त्य हुँदैन । जति नै होइन भने पनि व्यवसायीले ९९ को चक्करको सीमा कहिल्यै तोड्न सक्दैनौँ ।’
–प्रतिमा
प्रतिक्रिया