अवैध रूपमा विदेश जाने पक्राउ

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध रूपमा वैदेशिक रोजगारमा जान लागेका र पठाउने चारजनालाई पक्राउ गरेको छ । उनीहरूलाई सोमबार त्रिभुवन विमानस्थलमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा २६ वर्षीय निशा पाण्डे र ३२ वर्षीया शशिकला राई विदेशमा अवैध रूपमा काम गर्न हिँडेका थिए । उनीहरूलाई इन्टरनेसनल जबलिंकका निर्देशक विमलजंग थापा र एजेन्ट रामचन्द्र काफ्लेले विदेश पठाउने प्रबन्ध मिलाएको प्रहरीले जनाएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार युएईसम्मको टुरिस्ट भिसा बनाई त्यहाँबाट ओमनको मस्कटमा काम गर्न जान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूले श्रम स्वीकृतिसमेत नलिएका प्रहरीले जनाएको छ । वैदेशिक रोजगार व्यवसायी र दलालको सक्रियतामा भिसाको दुरुपयोग गरी उनीहरू जान लागेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । – विस्मिता श्रेष्ठ/प्रशिक्षार्थी

प्रतिक्रिया