प्रतापलाई सम्मान

काठमाडौं : हीरासिंह खत्री स्मृति चलचित्र सम्मान–२०६८ वरिष्ठ रंगकर्मी तथा चलचित्र लेखक–निर्देशक प्रकाश सुब्बालाई प्रदान गरिने भएको छ । हीरासिंह खत्री स्मृति चलचित्र सम्मान गुठीले सुब्बालाई २०६८ का लागि सो पुरस्कार दिने निर्णय गरेको हो । नेपाली चलचित्र क्षेत्रको विकासका लागि उल्लेखनीय योगदान पुर्‍याउने एक स्रष्टा, शिल्प र साधकलाई गुठीले हरेक वर्ष २५ हजार एक नगदसहितको उक्त सम्मान उपलब्ध गराउँदै आएको छ ।
नेपालबाहिर रहेर पनि सुब्बाले विगत तीन दशकदेखि चलचित्र तथा रंगमञ्चका माध्यमबाट नेपाली भाषा–साहित्य, संस्कृतिको गौरव बढाउने कार्य गरेकाले सम्मानका लागि उनलाई चयन गरिएको गुठीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सुब्बाले परालको आगो, बाँच्न चाहनेहरू, दिदी, चटयाङ र भीष्मप्रतिज्ञाजस्ता चलचित्रमा लेखन तथा निर्देशन गरेका छन् । रातको प्रथम प्रहरलगायत दर्जनौँ नाटक पनि उनैका सिर्जना हुन् । यो सम्मान २०६७ मा वरिष्ठ चलचित्रकर्मी यादव खरेललाई प्रदान गरिएको थियो । आगामी साउन ६ गते निर्देशक सुब्बालाई सम्मानित गरिने गुठीले जनाएको छ । (सौस)

प्रतिक्रिया