गोल्डेनगेट फाइनलमा

काठमाडौं, २६ असार । अन्तिम क्वार्टरमा सानदार पुनरागमन गर्दै साविक विजेता गोल्डेनगेट १२आँै पुरुष राष्ट्रिय बास्केटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
सोमबार भएको सेमिफाइनलमा साउथ साइडर्सविरुद्ध ९२–८७ ले विजयी हुने क्रममा १३ अंकले पछि रहेको स्थिति उल्टाएर गोल्डेनगेट चौथो तथा अन्तिम क्वार्टरमा ३५–१७ ले अगाडि रहेको हो । गोल्डेनगेटको रोमाञ्चक जितमा सुशील गुरुङको प्रदर्शन केन्द्रमा रहयो । उनले खेलको अन्त्यतिर लगातार तीनवटा ‘थ्री प्वाइन्टर’ बास्केट गरेका थिए । त्यस्तै उक्त अवसरमा रवीन्द्र महर्जनले पनि एउटा थ्री प्वाइन्टर बास्केट गरी तेस्रो क्वार्टरसम्म विजयतर्फ उन्मुख साउथ साइडर्सलाई हतोत्साही बनाएका थिए ।
‘चौथो क्वार्टरअघि नै साउथ साइडर्सको इस्टामिना सकिएको थियो । त्यसको फाइदा उठाएर हाम्रा खेलाडीले जित निकाले,’ जितपछि गोल्डेनगेटका प्रशिक्षक विपिन कपालीले भने । पहिलो क्वार्टरमा
२६–१९ ले अगाडि रहेको गोल्डेनगेट दोस्रोमा २०–२० को बराबरी खेले पनि तेस्रोमा २४–१८ ले अगाडि रहेको थियो । सुशीलले समग्रमा ३७ अंक योगदान गरे । पराजित टोलीका सञ्जय व्यञ्जनकार (सिनियर) को नाममा २२ अंक रहयो । पहिलो सेटमा ९–० ले अग्रता लिए पनि त्यसलाई कायम राख्न नसकेपछि गोल्डेनगेट एकाएक दबाबमा आएको थियो ।
गोल्डेनगेटले उपाधि भिडन्तमा नासाको सामना गर्नेछ । मंगलबार हुने फाइनलमा स्थान बनाउने क्रममा नासाले सोमबार नै भएको अर्को सेमिफाइनलमा प्रिमियरको यात्रा ९०–८० ले पूर्णविराम लगायो । नासाका रोविन खत्रीले २८ अंक बटुले । सदीश प्रधानले सर्वाधिक ३६ स्कोर गरे पनि प्रिमियरको हार टार्न सकेनन् । सुरुआतदेखि नै खेलमा दबदबा राखेको नासा पहिलो क्वार्टरमा २२–१३ ले अगाडि रहे पनि दोस्रोमा २१–२५ ले पछि परेको थियो । बाँकी क्वार्टरमा भने नासा क्रमश: २४–२० र २३–२२ ले अगाडि रहयो । ११आँै महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधि भिडन्त पनि मंगलबार नै हुनेछ । यसका लागि प्राइम र प्रिमियर फाइनलमा पुगेका छन् ।

प्रतिक्रिया