कैलाली, २६ असार । विद्यालयले पहिलो त्रैमासिक परीक्षा लिने समय भइसक्दा पनि सुदूरपश्चिमका विद्यालयहरूका विद्यार्थीले पाठयपुस्तक पाउन सकेका छैनन् ।
जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय धनगढीले शैक्षिक सत्र सुरु हुनुअघि नै पाठयपुस्तक पुर्याइसक्ने बताए पनि हालसम्म सुदूरपश्चिमका जिल्लामा मागबमोजिम पुस्तक पुर्याउन नसकेपछि विद्यार्थीहरू पुस्तकविना नै परीक्षा दिने तयारीमा जुटेका छन् । केन्द्रले पाठयपुस्तक उपलब्ध नगराएपछि मागअनुसार वितरण गर्न नसकेको साझा प्रकाशनले जनाएको छ । सुदूरपश्चिमका नौवटै जिल्लामा एक लाख पाठयपुस्तक अपुग रहेको कार्यालयका प्रमुख लीलाधर जोशीले बताए । साझाले करिब १२ करोड रुपियाँबराबरको ३२ लाख थान पाठयपुस्तक वितरण गरिसकेको जनाएको छ ।
यसवर्ष सुदूरपश्चिममा ३३ लाख पाठयपुस्तक आवश्यक रहेको भए पनि एक लाख थान पाठयपुस्तक अभाव भएको हो । अधिकांश कक्षाका पाठयपुस्तकमा कुनै न कुनै विषयका पुस्तक पुगेका छैनन् ।
साझासँग कक्षा ६ को अंग्रेजी, गणित, सामाजिक शिक्षा र वातावरण, कक्षा ७ को विज्ञान, जनसंख्या, पूर्वव्यावसायिक शिक्षा, गणित, सामाजिक र नेपाली, कक्षा ८ को स्वास्थ्य, गणित र कक्षा ९ को नेपाली र अर्थशास्त्र विषयका पुस्तक अभाव भएको जोशीले जानकारी दिए ।
स्थानीय बिक्रेताले पाठयपुस्तक ढिला उठाएका कारण सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा बढी पाठयपुस्तकको माग रहेको साझाले जनाएको छ ।
जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख योगेन्द्रराज भट्टले यसवर्ष सुदूरपश्चिममा पाठयपुस्तक केन्द्रले अनुमान गरेभन्दा बढी माग भएकोले पाठयपुस्तक उपलब्ध गराउन कठिनाइ भएको बताए । उनले अपुग पुस्तकको विवरण लिएर केन्द्रमा खबर गरिसकेकाले केही दिनभित्र पुस्तक आइपुग्ने बताए । केन्द्रले अधुरा सेट उपलब्ध गराएकोले विद्यार्थीले वर्षभरि अधुरै सेट पढेर परीक्षा दिनुपर्ने बाध्यता रहेको छ ।
प्रतिक्रिया