सरकार कांग्रेस नेतृत्वमै बन्छः सिटौला

काठमाडौं, २५ असार २५ । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले दस दिनभित्र राष्ट्रिय सहमति बन्ने दाबी गरेका छन् । उनले कांग्रेस नेतृत्वमै सरकार बनाउन गृहकार्य भईरहेको पनि बताए ।
काठमाडौंमा आज आयाजित साक्षात्कारमा सिटौलाले राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर विद्यमान राजनीतिक गतिरोध अन्त गर्नुपर्ने बताए । उनले भने, ‘सहमतिको विकल्प छैन, कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छ ।’
उनले कांग्रेस नेतृत्वमा सरकार बन्ने ठोस सहमति भए एकघण्टामा प्रधानमन्त्रीको उम्मेदवार सर्वसम्मत चयन गर्ने उल्लेख गरे । उनले प्रधानमन्त्री बन्ने व्यक्तिको नामका बारेमा भने केही खुलाएनन् ।
‘कांग्रेस संविधानसभा पुनःस्थापनाको पक्षमा छैन,’ सिटौलाले भने, ‘पार्टीभित्र पुनःस्थापनाबारे बहस उठेको मात्रै छ ।’ यद्यपि उनले पुनःस्थापना र निर्वाचनका विषयमा पनि कुरा गर्न सकिने बताए ।
महामन्त्री सिटौलाले पूर्ण बजेट कुनै हालतमा आउन नसक्ने बताएका छन् । उनले भने, ‘पूर्ण बजेट ल्याउन कानूनी अड्चन छ, एक तृतीयांश बजेट मात्रै आउनु पर्छ ।’ उनले कानून कुल्चेर जर्बजस्ती बजेट ल्याउन नमिल्ने उल्लेख गरे ।
पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिको आलोचना गरेका सिटौलाले उनलाई दिइआएको सुविधा खोस्नुपर्ने बताए ।
उनले पूर्व राजासँग कुनैपनि सम्झौता नभएको बताएका छन् । सिटौलाले भने, ‘विगतमा संवैधानिक राजसंस्था कायमै राखेर २०४७ सालकै संविधानमा बसेर अघि बढ्ने लिखित सम्झौता भएको भन्ने पूर्व राजाको अभिव्यक्ति झूट हो ।’

प्रतिक्रिया