भोकमरीले ज्यान जाने अवस्था

नेपालगन्ज, २५ असार । कर्णाली अञ्चलका सबै खाद्य डिपो रित्तिएका छन् । गत ४ महिनादेखि खाद्यान्न ढुवानी बन्द भएपछि डिपो खाली भएका हुन् । कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोटस्थित खाद्य संस्थानका डिपो खाली भएपछि भोकमरीमा परेका सर्वसाधारणको ज्यान जानसक्ने अवस्था देखिएको छ ।
सरकारले ढुवानी अनुदान दिन बन्द गरेपछि गत फागुनदेखि ती जिल्लामा खाद्यान्न गएको छैन । मागअनुसारको खाद्यान्न आपूर्ति नहुँदा मुगुमा चरम खाद्यसंकट उत्पन्न भएको हो ।
जल्लाका २४ वटै गाविसका लागि वर्षभरी पुग्ने ३७ हजार क्विन्टल चामल जिल्ला खाद्य समितिले पटकपटक माग गरेको थियो । आर्थिक वर्ष ०६८/६९ मा १५ हजार ५ सय ५० क्विन्टल खाद्यान्न मुगुको लागि सरकारले स्वीकृत गरेको भए पनि अर्थमन्त्रालयले १३ हजार ३ सय ५० क्विन्टलमात्र अनुदान निकासी गरेकाले खाद्य संकट भएको हो ।
मृतक, दैवी प्रकोप र आपतकालका लागि मात्र प्रमुख जिल्ला अधिकारीको सिफारिसमा मौज्दात रहेको खाद्यान्न वितरण गरिने खाद्य संस्थान मुगुका प्रमुख हीराबहादुर सिंहले बताए । ग्रामीण भेगमा रहेका संस्थानका बिक्री केन्द्र श्रीकोट, सरुकोट र पुलुमा खाद्यान्न पुर्‍याउन नसकिएको उनले बताए । खाद्यान्न संकट हुने भएपछि जिल्ला खाद्यान्न समितिले थप १२ हजार ५ सय क्विन्टल चामल केन्द्रीय कार्यालयमा माग गरेको थियो । माग गरेको खाद्यान्नमध्ये सदरमुकामका लागि आठ हजार एक सय, श्रीकोट डिपोका लागि १५ सय, सोरुकोटलाई नौ सय र पुलु डिपोका लागि दुई हजार क्विन्टल रहेको छ ।
त्यस्तै हुम्लामा पनि खाद्यान्न सकिएपछि अभाव भएको छ । सरकारले ४८ करोड रुपियाँ ढुवानी अनुदान रकम छुट्टयाए पनि ३७ करोड मात्र उपलब्ध गराएकाले रकमको कमीले ढुवानी हुन नसेकका खाद्य संस्थान हुम्लाका कर्मचारी नारायण सिंह केसीले बताउँछन् । उनले जिल्लाका सबै डिपो रित्तिएपछि सर्वसाधारण खाद्यान्न नपाएर खाली हात घर फर्किरहेका बताए ।
बझाङको उत्तरी भेगका एक दर्जनभन्दा बढी गाविसमा खाद्यान्नको चरम अभाव हुन थालेको छ । खाद्यान्न अभाव हुन थालेपछि ती गाविसका स्थानीयवासी दैनिक छाक कसरी टार्ने भनेर चिन्तामा छन् । खाद्यान्न अभाव हुन थालेका गाविसमा लेकगाउँ, सैनपसेला, भामचौर, गढराय, काडा, दातोला सुर्मा, दौलिचौरलगायत छन् ।
डोल्पाका लागि सरकारले चामल ढुवानी गर्न यो वर्ष १० करोड मात्र विनियोजन गरेपछि खाद्य संकट उत्पन्न भएको हो । जिल्लाका २३ गाविसमा रहेका ३६ हजार जनसंख्यालाई भोकमरीबाट बचाउन तत्काल खाद्यान्न पुर्‍याउनु पर्ने स्थानीयको माग छ । यो वर्ष १९ हजार क्विन्टल चामलको माग गरी पठाए पनि अनुदान रकम कम भएको भन्दै १३ हजार क्विन्टल मात्र पठाइएको थियो । डोल्पामा रहेका कायगाउँ, सर्मी, टिन्जे र जुफाल डिपोका लागि करिब आठ हजार क्विन्टल चामल आपूर्ति भई वितरण भइसकेको र ती डिपोका लागि विनियोजित २५ सय क्विन्टल चामल हिमपातका कारण ढुवानी हुन नसकेकाले खाद्यान्न अभाव भएको डोल्पा शाखाका लेखापाल अनिलकुमार श्रेष्ठ बताउँछन् ।
उपल्लो डोल्पाका सालदाङ, तिन्जे, धो, से–फोक्सुन्डो, मुकोट र छार्का गाविसमा चामल ढुवानी हुन नसक्दा भोकमरी परेको सालदाङ गाविस–१ का लार्का गुरुङले बताए । चामल नआएकाले आफूहरूले वनमा पाइने कन्दमूल खाने गरेको उनी बताउँछन् ।

प्रतिक्रिया