सम्बन्धविच्छेद गर्न खोज्ने महिलालाई समलिंगीको आरोप

काठमाडौं २५ असार । श्रीमानसँग सम्बन्धविच्छेदको मुद्दा लडिरहेकी महिलालाई परिवारले अदालत परिसरबाटै ‘अपहरण’ गरी पुनस्र्थापन केन्द्रमा राखेको छ । उनी समलिंगी भएको र मानसिक सन्तुलनसमेत ठिक नरहेको आरोप परिवारजनले लगाएका छन् ।

स्वयम्भू १५ की रजनी शाही पहिलो तारिखका लागि गत २० असारमा काठमाडौं जिल्ला अदालत पुग्दा अदालत परिसरबाटै अपहरण शैलीमा एक समूहले जबरजस्ती मिनिबसमा हालेर लगेको थियो । त्यसअघि उनी श्रीमान र घरपरिवारबाट असुरक्षित महसुस गरेर असार १६ गते महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालको सम्पर्कमा आएकी थिइन् ।
श्रीमान प्रदीप शाहीले केही वर्षदेखि शारीरिक र मानसिक यातना दिन थालेपछि शाहीले जेठ २२ गते सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएकी हुन् । आइतबार पत्रकार सम्मेलन गर्दै महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष डा. रेणुराज भण्डारीले भनिन्, ‘रजनीकै परिवार बताउने करिब पैंतीसजनाको समूहले अदालतको परिसरबाटै लछारपछार पारेर बहुलाई हो सुई लगाउनु पर्छ भन्दै बा१च८८८७ नम्बरको मिनिबसमा हालेर लगे । उनकी दश वर्षीय छोरीलाई समेत लिएर गए ।’ अदालतबाटै एक महिलालाई त्यसरी अपहरणको शैलिमा लगिंदा प्रहरी मुकदर्शक बनेको भण्डारीको भनाइ छ ।
रजनीको जीवन रक्षाका लागि २० असारमै प्रहरी प्रधान कार्यालय, प्रधानमन्त्री कार्यालय लैंगिक हिंसा इकाइ, महिला आयोग, मानवअधिकार आयोग, वार एसोसिएसन र महिला बालबालिका समाजकल्याण मन्त्रालयलाई अनुरोध पत्र तथा फोनमार्फत जानकारी गराइएको ओरेकले जनाएको छ । अदालत हाताबाटै अपहरण शैलीमा लगिएकी महिलाको चार दिनसम्म पनि अवस्था सार्वजनिक नभएपछि पत्रकार सम्मेलन गर्दै महिला मानव अधिकार रक्षक सञ्जाल र ओरेकले रजनीको जीवन सुरक्षाको माग गरेका छन् ।
रजनीका श्रीमान, घर परिवार र माइती पक्षले समेत उनलाई समलिंगीको आरोप लगाउँदै आएको बताइएको छ । ‘आफ्नै घरमा डेरा लिएर बस्ने प्रेम कुमारी नेपालीसँगको निकट सम्बन्धलाई लिएर समलिंगीको आरोप लगाएका छन् । स्वयम्भू प्रहरी चौकीमा दबाब दिएर समलिंगी भएको स्वीकार्न लगाए,’ रजनीको भनाइ उद्धृत गर्दै डा.भण्डारीले बताइन् । नेपालीसँगको सम्बन्धलाई रजनीका माइती पक्षले समेत राम्रो मानेका थिएनन् ।

प्रहरीले भने रजनी मानसिक रूपमा अस्वस्थ रहेको ठहर गर्दै परिवारले रिहाब सेन्टरमा राखेको जनाएको छ । ‘अनुसन्धानका क्रममा रजनी शाहीलाई उनकै श्रीमान र बुवाले अदालतबाट लगेको र गौशालाको टेकबहादुर रायमाझी आरोग्य केन्द्रमा राखेको पत्ता लागेको छ,’ हनुमान ढोकाका डिएसपी अरुण विसीले पत्रकार सम्मेलनमा भने । उनका अनुसार अदालतबाट लगेपछि रजनीले घरका सामान फुटाएकाले उनी मानसिक रूपमा अस्वस्थ भएको ठहरमा परिवारजन पुगेका थिए । अहिले उनको अवस्था सामान्य छ ।

महिला अधिकारकर्मीले भने श्रीमान र परिवारबाटै असुरक्षित महसुस गरेकी महिलालाई समलिंगी भन्दै रिहाबमा राख्न नहुने बताएका छन् । ‘रिहाब सेन्टरमा राख्नका लागि कुन डक्टरले सिफारिस गर्‍यो ?,’ ओरेककी सरिता दाहालले भनिन्, ‘हिंसा पीडित महिलालाई विनाकारण रिहाबमा राख्नुले उसलाई थप पीडा हुन्छ ।’
निलहीरा समाजको अध्यक्ष सुनिलबाबु पन्तले पनि समलिंगी भन्दै रिहाबमा राख्न नहुने तर्क गरे । ‘विनाकारण रिहाबमा राखिनु उसलाई थप यातना दिनु र अपराध गर्नु हो,’ पन्तले भने, ‘रजनीलाई स्वतन्त्रताको खाँचो छ, रिहाब सेन्टरको होइन ।’

प्रतिक्रिया