अवकाशप्राप्त कर्मचारीले सेवासुविधा पाएनन्

राजविराज, २५ असार । अनिवार्य अवकाश पाएका राजविराज नगरपालिका कार्यालयका निवृत्त पाँच कर्मचारीले नगरपालिकाले दिनुपर्ने सेवासुविधा पाएका छैनन् । स्थानीय स्वायत्त शासन नियमावली–०५६ अनुसार ६ महिनाअघि अनिवार्य अवकाश पाएका उनीहरूले पाउनुपर्ने सुविधा भने पाएका छैनन् ।

नियामावलीको नियम २६१ अनुसार ५८ वर्ष पूरा भएका कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्थाअनुरूप सेवानिवृत्त भएका नायब सुब्बा कृष्णप्रसाद श्रेष्ठ, टाइपिस्ट खरिदार जीवेन्द्र झा, वारुणयन्त्र इन्चार्ज दुर्गाबहादुर बुढाथोकी, चालक बद्री यादव र खरिदार हारुल अन्सारीलाई नगरपालिकाले १ माघ ०६८ मा अवकाश दिएको हो ।
उनीहरूले अवकाश पाए पनि नियमावलीका अन्य नियमअनुसार पाउनुपर्ने सेवासुविधा भने पाएका छैनन् । नियमालीको नियम २४७ र २६६ अनुसार सञ्चित बिरामी बिदा तथा घर बिदा र औषधि उपचार खर्च एकमुष्टरूपमा व्यवस्था गरिएको र २६८ अनुसार अन्य उपदान रकम उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि पाँचैजनाले सो सुविधा नपाएका हुन् ।
नियमावलीअनुसार सेवाअवधि गणनाका आधारमा पाँचजनाले करिब ७५ लाख रुपियाँ पाउनुपर्ने देखिएको छ । तर कार्यालयले जनही ९५ हजार रुपियाँका दरले भुक्तानी दिएर अन्य रकम हालसम्म उपलब्ध नगराएको सेवानिवृत्त कर्मचारीहरूले बताए । श्रेष्ठ र अन्सारीले ४२ वर्ष, झाले ३० वर्ष, बुढाथोकीले २७ वर्ष र चालक यादवले १९ वर्ष सेवा गरेका थिए ।
आफ्ना समस्या कार्यालयमा राख्दा तत्कालीन कार्यकारी अधिकृत कृष्णप्रसाद निरौलाले आगामी दुई आर्थिक वर्षभित्रमा सबै कर्मचारीको रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए । तर उनको सरुवासँगै आफ्नो सेवासुविधासमेत अन्योलमा परेको कर्मचारीहरूले बताए । कार्यालयमा पैसा छैन भन्दै पाउनुपर्ने रकमसमेत उपलब्ध नगराइएको उनीहरूको गुनासो छ ।
नगरपालिकाका कार्यकारी अधिकृत निरञ्जन श्रेष्ठले कार्यालयमा रकम नभएकै कारण उनीहरूको सुविधा रोकिएको बताए । उनले साउन महिनाभित्र कार्यालयमा भएको सात लाख रुपियाँ दामासाहीले उपलब्ध गराउने बताए । ‘सरकारी कर्मचारी भए पो सरकारले उपलब्ध गराउँथ्यो, स्थानीय कर्मचारी कल्याण कोषबाट सेवासुविधा उपलब्ध गराउने हो,’ श्रेष्ठले भने, ‘कोषमा रकम नभएकोले दिन सकिएको छैन ।’

प्रतिक्रिया