साइकल


जगतराम अफिसबाट घर फर्किंदा ढोकैमा उभिएका शुभम्ले आज फेरि भनिहाले–
‘बाबा, खोइ त मलाई साइकल किनिदिनुभएको ?’
‘किनिदिन्छु नि छोरा †’
‘अँ…जहिले पनि किनिदिन्छु–किनिदिन्छु मात्र भन्नुहुन्छ । कहिल्यै किनिदिनुहुन्न ।’
‘ल, अबचाहिँ पक्का किनिदिन्छु ।’
‘प्रोमिस, कहिले किनिदिनुहुन्छ ? भोलि किनिदिनोस्, हुन्छ ?’
‘हुन्छ बाबा हुन्छ †’
बाबाको मुखबाट ‘हुन्छ’ सुनेर शुभम् असाध्यै खुसी भए । आफूले भोलि साइकल पाउने खुसीको खबर आफ्ना साथीहरूका माझ पुर्‍याउनु थियो, बिजुलीझैँ घरबाहिर मिलिक्क मिल्किए ।
शुभम् जगतरामका कान्छो सन्तान हुन् । जगतराम हुलाक कार्यालयमा जागिरे छन् । उनको पद कार्यालय सहायकको हो । सानो जागिरले ६ जनाको परिवार चलाउनुपर्छ । जसरीतसरी जेनतेन चलाइरहेका छन् । जगतरामले कक्षा दुईको वार्षिक परीक्षाताका शुभम्लाई भनेका थिए– ‘परीक्षामा राम्रो गर्, म तँलाई साइकल किनिदिन्छु ।’
नभन्दै परीक्षाको रिजल्ट निस्किँदा शुभम् कक्षामा प्रथम भएका थिए । रिजल्ट निस्केदेखि नै शुभम्ले साइकल माग्न थालेका हुन् । साइकल माग्न थालेको झन्डै महिना दिन बित्न थालेको छ । जगतरामले आजसम्म ‘किनिदिन्छु’ भन्दै टार्दै आएका थिए तर अब भने छोराका अगाडि त्यसरी टार्न सक्ने अवस्था थिएन ।
टोलछिमेकमा गएर त्यहाँ भएका संगीसाथी बटुलेर शुभम्ले आफ्नो खुसीको खबर सुनाए– ‘बाबाले भोलि मलाई साइकल किनिदिनुहुन्छ ।’ उनको त्यो खुसीको खबरले साथीहरूलाई पनि खुसी तुल्यायो । सुजितले त सोधी पनि हाल्यो– ‘तिम्रो साइकलमा हामीलाई पनि बसाल्छौ ?’ शुभम् र उनका साथीहरूमाझ अरू पनि रमाइला कुराकानी हुँदै थियो ।
अलि पर टोलमा ‘पाँ पूँ–पाँ पूँ’ गर्दै एम्बुलेन्स छिर्‍यो । त्यो एम्बुलेन्स एउटा घरनिर अडियो । एम्बुलेन्सको वरिपरि तत्काल वल्लोपल्लो घरका मानिस जम्मा हुन गए । प्रमोदको घर थियो त्यो । शुभम् र उनका साथीले देखे, प्रमोदको निधारमा घरेलु कपडाको पट्टी बाँधिएको थियो । चोट लाग्नाको कारणबारे त्यहाँ भएका मानिसले भन्दै थिए– ‘साइकलमा पाइडल थिएन । प्रमोद साइकलमा सवार थियो, साथीहरूले साइकल धकेल्ने गर्दा सन्तुलन नमिलेर साइकल पल्टियो । साइकल पल्टिँदा प्रमोद घोप्टो लड्न पुगे । निधारमा गहिरो घाउ लागेको छ ।’
राति खाना खाँदै गर्दा जगतरामले शुभम्को अनुहार हेरे अनि सोच्न थाले– भन्न त भनिहालेँ, भोलि साइकल किनिदिन्छु भनेर तर पैसा पो कहाँबाट ल्याउने हो ? फेरि तत्कालै आफूलाई सम्झाउने काम पनि गरे– छोराको मन कतिचोटि दुखाउनु, रिन सापटी गरेर भए पनि साइकल त ल्याइदिनै पर्ला ।
उता शुभम्चाहिँ घाइते प्रमोदलाई सम्झिरहेका थिए । प्रमोदको निस्लोट अनुहार, उनको रगतले भिजेको कमिज, प्रमोदको घरअगाडि जम्मा भएको भिड, टोलमा आएको एम्बुलेन्स, पाइडल भाँचिएको साइकल शुभम्को सम्झनाका मुख्य दृश्यहरू थिए ।
भात खाँदै गर्दा शुभम्ले भन्न पुगे– ‘बाबा, मलाई साइकल होइन बरु स्कुलको जुत्ता किनिदिनोस् है †’ शुभम्को कुरा सुनेर जगतराम जिल्ल परे । मनले सोध्न चाहे पनि उनले मुखले सोधेनन्– ‘किन बाबु ?’

प्रतिक्रिया