निस्सार जीवनका सार लेखक

म आफ्नो सद्गुणका कारण दण्डित भएको छु, दुराचार या दुष्कर्मले होइन’ यो अभिव्यक्ति थियो असाधारण मानिएका जर्मन लेखक तथा दार्शनिक फ्रेडरिख विल्हेल्म निसेको । आºनै खालको बौद्धिक सनक र दार्शनिक तर्कको कडा दनकले सदियौँसम्म दुनियाँलाई प्रभावित पार्ने यिनको परिवर्तित र प्रसिद्ध नामचाहिँ ‘नित्से’ हो । लेखनमा बेजोड भाषाशक्ति भएका नित्से पुस्तकमा यसरी प्रकट हुन्छन् कि आफूलाई पढुन्जेल पाठकको कठालो समातेर बस्छन् ।
‘लिभ डेन्जरसली’ अर्थात् ‘खतरामा बाँच †’ दुनियाँलाई यस्तो सन्देश दिने तिनै नित्सेले एकदिन घोषणा गरेका थिए– ‘ईश्वर मरिसक्यो र हामी सबै उसको मृत्युको जिम्मेवार हौँ ।’ यसका लागि उनले अनेकन तर्क दिँदै भनेका थिए– ‘ईश्वर हुनु भनेको मान्छेलाई घटिया किसिमको प्राणी साबित गर्नु हो ।’ यसलाई पुष्टि गर्न उनले आºनो ‘स्व’ लाई ‘जराथु्रस्ट’ मा प्रतिस्थापित गरे । जराथु्रस्ट इरानीहरूका ‘मसिहा’ हुन् । जसले इसाभन्दा पनि ६ सयवर्ष पहिले इरानी समाज र जनमानसलाई आºनो धार्मिक ज्ञान दिएका थिए । तिनै जराथु्रस्टलाई मानवीकरण गर्दै नित्सेले लेखेको चर्चित पुस्तक हो ‘दस स्पिक जराथ्रुस्ट’ । नैतिकताको मापदण्डप्रति चिन्तन गर्दै निषेधवादी हुन मान्छेमा अदम्य साहस हुनुपर्छ भन्ने निष्कर्षमा पुगेर उनले यो पुस्तक लेखेका थिए । साहसले नै कुनै अदृश्य सत्ताको छायाबाट टाढा गएर मानिसलाई उसको हर कर्मप्रति जिम्मेवार बनाउँछ भन्ने उनको तर्क थियो ।
नित्सेको किताब पढ्नेले उनलाई निकै रिसाहा, सनकी र झोक्की भएको अनुमान लगाउँछन् । उनी थिए नै त्यस्तै । उनको मृत्युपश्चात् निस्किएको किताब ‘विल टु पावर’ पढेर नाजीहरूले आर्यजातिको शुद्धतालाई बचाइराख्न यहुदीहरूलाई खेदेर बाहिर निकाल्नु जरुरी भएको अवधारणा बनाए । नाजी सेना लगाएर पोल्यान्डमाथि आक्रमण गर्ने हिटलरको दुस्साहसिक कार्यले दोस्रो विश्वयुद्धलाई नै निम्तायो । त्यही युद्धको दौरानमा नाजीसेनाले साठीलाख यहुदीलाई जिउँदै आगोको आहरा बनाइदिए । हुन त नित्से नाजीहरूप्रति सहमत थिएनन् तथापि नाजीहरूले उनको किताबलाई आफ्नै ढंगले अथ्र्याए । समीक्षकहरूका अनुसार सोपेनहावरको ‘विल टु लिभ’ पढेपछि उनले जवाफका रूपमा ‘विल टु पावर’ लेखेका थिए । सोपेनहावर हिन्दू–बुद्ध धर्म, जर्मन धर्म सिद्धान्त र रहस्यवादी दर्शनका ज्ञाता थिए भने नित्से अनिश्वरवादी नास्तिक ।
लेखक एवं स्वतन्त्र दार्शनिकका रूपमा सन् १८७२ मा प्रकाशित भएको पहिलो पुस्तक ‘द वर्थ अफ ट्रेजेडी’ले नै नित्सेलाई सार्वजनिक गरेको थियो । लेखनको प्रारम्भमै भाषा र लेखन शक्तिले उनी लोकप्रिय भए । उनका हरेक कृति उनैका विचार र दर्शनका लागि प्रसिद्ध छन् । उनीपछिका धेरै लेखक उनको दर्शनबाट प्रभावित छन् । समकालीनहरूमा रुसी लेखक दोस्तोएभ्स्कीसँग अपवादको उनको घनिष्ट मित्रता थियो । वर्षांैसम्म उनीहरूले एकआपसमा पत्र व्यवहार गरिरहेका थिए । कत्तिले यसो पनि लेखका छन् कि दोस्तोएभ्स्कीको ‘ब्रदर्स कारामाजोभ’ पढेपछि नै नित्सेमा नास्तिक अस्तित्ववादप्रति रुचि बढेको थियो ।
नित्से अजीव किसिमका मान्छे थिए । उनका कोही साथी थिएनन् । युवतीप्रति उनको कुनै रुचि थिएन । युवतीहरूसित उनी निकै चिढिन्थे । यस सम्बन्धमा दुईवटा कारण पढ्न पाइन्छ । कसैले लेखेका छन् २५ वर्षको उमेरमा उनले एक युवतीलाई बिहेको प्रस्ताव राखेका थिए । तर, ती युवतीले उनको प्रस्तावलाई लत्याइदिइन् । त्यसपछि युवती मोहप्रति उनी बिरक्तिए । अर्को कारणचाहिँँ कुनैबेला नित्से बेश्यालय जान्थे । त्यसैक्रममा उनलाई सिफलिस रोग लाग्यो । उनी बिरामी भए । उनले त्यस रोगको उपचार गोप्य रूपमा गरे । त्यसपछि उनी बेश्यालय जानै छाडे । युवतीहरूलाई ध्यान दिनै छाडे । उनले विवाह पनि गरेनन् ।
नित्से र उनको पारिवारिक पृष्ठभूमिबारे इतिहाससित पनि पर्याप्त जानकारी छैन । १५ अक्टोबर, १८४४ मा पर्सियाको लिपजिक सहरनजिकै एक प्रोटेस्टेन्ड पादरीको घरमा जन्मिएका नित्सेका बाबुको उनी पाँच वर्षको छँदै मृत्यु भएको थियो । नित्से उनकी आमा र दुईजना धाईआमाको छत्रछायामा हुर्के । उनकी एक बहिनी थिइन् । नित्सेको पढाइलेखाइ पादरी बन्ने शिक्षाबाटै प्रारम्भ भयो । उनले जर्मन साहित्य, धर्मशास्त्र र भाषाविज्ञान पनि पढे । सुरुमा वन विश्वविद्यालय र पछि लाइपजिग विश्वविद्यालयबाट उनले बाँकीे अध्ययन पूरा गरे । अध्ययनपछि नित्से स्विट्जरल्यान्ड गए । स्विट्जरल्यान्डको बासेल विश्वविद्यालयमा शास्त्रीय भाषाविज्ञान पढाउन उनी अध्यापकमा नियुक्त गरिए । अध्यापकको सो पद स्विट्जरल्यान्डका नियमित प्रशासनिक सेवाअन्तर्गत भएकाले उनी पनि त्यहीँको नागरिकसरह भए । त्यहीँ हँुदा उनले नैतिकता, धर्मसंस्कृति, दर्शन विज्ञान आदि विषयमा लेख्न थाले ।
सन् १८७० मा पर्सिया र फ्रान्सबीच सल्किएको युद्ध डढेलोझैँ आधा युरोपमा फैलियो । युद्धमा पर्सियाका तर्फबाट नित्से पनि संलग्न थिए । उनी युद्धमा घाइते भएकाको, उद्धार, उपचार र रेखदेखमा सहयोगीको भूमिकामा थिए । एक वर्षसम्म चलेर १८७१ मा आधा युरोपलाई रक्ताम्मे पारेर युद्ध रोकियो । उनी युद्धको भयानक रूप अनि दर्दनाक पीडा बोकेर फेरि स्विट्जरल्यान्ड फर्किए । उनको मनमा निकै बेचैनी थियो । त्रासदीलाई उनी जीवनको अभिन्न अंग मान्न थालेका थिए । उनी संगीत सुन्थे । तत्कालीन समयका चर्चित संगीतकार रिचर्ड वाग्नरसित उनको निकटता बढ्दै गयो । उमेरले रिचर्ड नित्सेभन्दा निकै जेठा थिए । तथापि उनीहरूबीच आत्मीयता थियो । तर, समयको एउटा मोडमा असमझदारीले उनीहरूबीचको आत्मीयता वर्षाको बाढीझैँ धमिलियो । वैचारिक असमझदारीका कारण
दुवै छुट्टिए ।
सन् १८७९ मा नित्सेले पढाइरहेको विश्वविद्यालयबाट राजीनामा दिए । उनको जीवनतालिका अव्यावहारिक थियो । उनी खाना नखाई भोकभोकै बस्थे । आफ्नो स्वास्थ्यको पटक्कै वास्ता गर्दैनथे । लापरवाह उनको बानी थियो । विश्वविद्यालय छाडेपछि उनी गर्मीमा स्विट्जरल्यान्ड र जाडोमा इटालीमा बस्थे । लेखनलाई भने जसोतसो उनले जारी राखे । उनको मनस्थिति तनाबग्रस्त हुन थाल्यो । कहिलेकाहीँ त अनायासै उनको दिमागी हालत बिग्रन्थ्यो । एकपटक केही मानिसहरूले घोडालाई पिटिरहेको देखेर यिनले मन थाम्न सकेनन् र घोडालाई अँगालो हालेर उनी धेरैबेरसम्म रोए ।
१८८९ मा नित्से इटालीमै थिए । लामो समयदेखि नकाटिएको दाह्रीजुँगा, कपाल अनि मैलिएका कपडाले उनको नाजुक अवस्थाको बयान गरिरहेका थिए । एकदिन इटालीको तुरिन सहरको एक सडकमा हिँड्दाहिँड्दै एक्कासि नित्से ढुनमुनिएर लडे । त्यहाँ भिड जम्मा भयो । उनीसँग परिचित त्यो भिडले उनको शरीरलाई उठाएर सडक किनारामा ल्यायो । आफ्नो जीवनकालमा धेरै बाधालाई पराजित गर्ने नित्सेले एकाएक मानसिक सन्तुलन गुमाए । उनलाई इटालीको एक पागलखानामा भर्ती गरियो । केही समयपछि उनका आफन्तले उनलाई पर्सियाको उही पुरानै ठाउँमा लगे । मानसिक असन्तुलनले उनको बुद्धि तथा सिर्जनात्मक पागलपनलाई पूरै ध्वस्त गरिदियो । बौलाहा भएर उनले ११ वर्ष बिताए । सन् १९०० को अगस्ट २९ मा ५६ वर्षको उमेरमा उनको जीवन समाप्त भयो । धेरैले उनी सिफलिसका कारण पागल भए र त्यही रोगले उनको मृत्यु भयो भनेका छन् तर डाक्टरहरूले उनको मृत्यु सिफलिसले नभएर क्यान्सरले भएको बताएका छन् ।
विवाह गरेर माइतीबाट टाढिएकी नित्सेकी बहिनी श्रीमान्ले आत्महत्या गरेपछि दाजुलाई खोज्दै आइन् । यता दाजु पनि नर्फकने गरी हिँडिसकेका थिए । उनी अत्यन्तै मर्माहत भइन् । त्यसपछि उनले दाजुका सबै पुस्तकलाई पुनप्र्रकाशित गराइन् । नित्सेको जन्म दोहोरिएन तर उनका प्रमुख कृतिहरू– ‘द वर्थ अफ ट्रेजिडी’, ‘अनटाइम्ली मेडिटेसन’, ‘द गे साइन्स’, ‘दस स्पिक जराथु्रस्ट’, बेआन्ट गुड एन्ड इविल’, ‘द केस अफ बेगनर’, ‘द एन्टी क्रिस्ट’, ‘द विल टु पावर’ संसारका धेरै देश र भाषाहरूमा जन्मिएका छन्, जन्मिरहेका छन् । ती कृतिहरूमा नित्से यसरी बाँचेका छन् कि दुनियाँका लागि उनी न पुराना भएका छन् न दिवंगत नै ।

प्रतिक्रिया