डा. केसीको अनशनमा ऐक्यबद्धता

काठमाडौँ, २३ असार । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगन्जमा रिक्त पदाधिकारीको नियुक्ति योग्यता र वरिष्ठताका आधारमा गर्नुपर्ने मागसहित प्रा. डा. गोविन्द केसीले थालेको आमरण अनशनमा चिकित्सकदेखि कर्मचारीसम्मले समर्थन गरेका छन् ।

संस्थान र अस्पताललाई राजनीतिक गतिविधिबाट मुक्त राख्ने अभियानमा डा. केसीको आमरण अनशनप्रति ऐक्यबद्धता जनाउँदै संस्थानका प्राध्यापक, रेजिडेन्ट डाक्टर, फ्याकल्टी डाक्टरलगायतले आइतबारदेखि रिले अनसन गर्ने भएका छन् ।
विगत नौ महिनादेखि संस्थानका डिन, तीनजना सहायक डिन, क्याम्पस चिफ, सहायक क्याम्पस प्रमुखलगायत पद रिक्त छन् । पदाधिकारी नियुक्ति दलगत भगवण्डामा नगर्न माग गर्दै डा. केसी आमरण अनशनमा बसेका हुन् । संस्थानलाई पारदर्शी बनाउन र राजनीतिबाट मुक्त गराउन डा. केसीको माग सम्बोधन गर्न संस्थानको स्ववियुले पनि आइतबार त्रिभुवन विश्वविद्यालयको
दीक्षान्त समारोहमा विरोध गर्ने जनाएको छ ।
डा. केसी र संस्थान बचाउ अभियानका संयोजक डा. दिनेश बाँस्तोलाले आइतबारसम्म त्रिविले माग पूरा नगरे संघर्षमा उत्रने चेतावनी दिएका छन् । उनले रिक्त पदमा ‘राम्रा व्यक्ति ल्याऊ’ भन्दा पनि ल्याउन नसक्नु सरकारको कमजोरी भएको भन्दै सरकारको आलोचनासमेत गरे ।
आइओएम प्राध्यापक संघका पूर्वअध्यक्ष डा. करवीरनाथ योगीले ‘संस्थानलाई भ्रष्टाचार र अस्तव्यस्त गतिविधिबाट टाढा राख’ भन्दा पनि नदेख्ने सरकार र त्रिविको आँखा बन्द रहेको बताए । यसैगरी, डा. केसीको अभियानमा ऐक्यबद्धता जनाउँदै आइओएमका आवासीय चिकित्सकले माग पूरा नभए काम बन्द गर्न बाध्य हुने बताएका छन् ।

प्रतिक्रिया