लडाकु भर्नामा होइन, धर्नामा

चितवन, २३ असार । चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनका माओवादी लडाकु सम्मानजनक समायोजन नभए नेपाली सेनाको भर्ना प्रक्रियामा सहभागी नहुने भन्दै आन्दोलित भएका छन् । असन्तुष्ट लडाकुले शुक्रबार शिविर प्रवेशद्वारमै पत्रकार सम्मेलन गरी सम्मानजनक समायोजनको माग गर्दै शनिबारसम्ममा माग सम्बोधन नभए संघर्षमा उत्रने घोषणासमेत गरेका छन् ।

भर्ना प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनीहरूले प्रदर्शन गरेपछि शुक्रबार नेपाली सेनामा जाने लडाकुको छनोट प्रक्रिया अवरुद्धसमेत भएको छ । नेपाली सेनाले अनमिनले प्रमाणित गरेको उमेर र शिक्षालाई बेवास्ता गरी नियमित भर्ना प्रक्रियाअनुसार नै लडाकुको भर्ना थालेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् ।
उनीहरूले लडाकुको सम्मानजनक समायोजन हुनुपर्ने, अहिले जारी भर्ना प्रक्रिया खारेज हुनुपर्ने, उमेरको हदबन्दीमा शान्ति–सम्झौता हँुदा १८ वर्ष पूरा भएका लडाकुलाई योग्य मान्नुपर्ने, स्वैच्छिक अवकाशमा जान चाहनेलाई एकमुस्ट रकम उपलब्ध गराउनुपर्नेलगायत माग राखेका छन् । सरकारले शनिबार मध्याह्नसम्ममा माग सम्बोधन नगरे संघर्षमा उत्रने चेतावनी उनीहरूले दिएका छन् ।
समायोजनको अन्तिम अवस्थामा आएर पार्टीले धोका दिएको आरोप पत्रकार सम्मेलनमा उनीहरूले लगाएका थिए । बटालियन सहकमान्डर कवि लामाले सातबुँदे सहमतिकै समयमा पार्टीले षड्यन्त्र गरेको भन्दै आफूहरू सेना समायोजन प्रक्रियाप्रति असन्तुष्ट रहेको बताए । शान्तिका लागि लडाकुहरूले गरेको योगदानको अवमूल्यन भएको भन्दै उनले शिविरमा बस्दा मौलिक अधिकार हनन भएकाले क्षतिपूर्ति दिइनुपर्ने मागसमेत गरे  ।
९० प्रतिशतमा रहेका दाबी गरिएका असन्तुष्ट लडाकुले दिनभर धर्ना दिएका थिए । सेनाको नियमित भर्ना प्रक्रियाअनुसार छनोट गर्दा समायोजन कुरेर बसेको अधिकांश लडाकु फालिने उनीहरूको आशंका छ । समायोजनका नाममा आाफूहरूमाथि विभेद गरी अपमानित तवरले भर्ना गर्न लागिएको उनीहरूको गुनासो छ । बटालियन सहायक कमान्डर रामहरि पराजुलीले अन्तिम समयमा आएर पार्टीले ‘जनमुक्ति सेना’को अस्तित्व मेटाउन खोजेको आरोप लगाए । अनमिनको प्रमाणीकरणमा भएको शिक्षालाई आधार मानी शिविरमा रहेर आर्जन गरिएको शिक्षालाई मान्यता नदिएर आाफूहरूलाई अयोग्य सावित गर्न खोजेको उनको भनाइ थियो ।
समायोजन रोजेर शिविरमा बसेका लडाकुको नेपाली सेनामा भर्ना छनोट प्रक्रिया गत बुधबार सुरु भएको थियो । समायोजन रोजेका ३ हजार १ सय २३ लडाकुमध्ये तेस्रो डिभिजनमा ६ सय २५ जना छन् ।

प्रतिक्रिया