मनसुनले हवाई सेवा प्रभावित


काठमाडौं, २२ असार । मनसुन सुरु भएपछि मुलुकभरका दुर्गम स्थानमा सञ्चालित विमानस्थलको हवाई सेवा प्रभावित भएका छन् । खराब मौसमका कारण दुर्गम गन्तव्यका आधाजसो उडान रद्द हुने गरेका छन् ।
मौसमकै कारण सुगम गन्तव्यमा समेत शतप्रतिशत उडान हुन सकेको छैन । विशेषगरी पूर्वका लुक्ला, फाप्लु, स्याङ्बोचे, लामीडाँडा, भोजपुर, तुम्लिङ्टार, रुम्जाटारलगायतका दुर्गम गन्तव्यमा उडान हुनसकेको छैन । त्यस्तै पश्चिमका हुम्ला, जुम्ला, डोल्पा र मुगुमा पनि हवाई सेवा प्रभावित भएको छ । जुम्लाको खलंगा, डोल्पाको दुने र मुगुको ताल्चा विमानस्थलमा दुई साता अघिदेखि नै हवाई सेवा प्रभावित भएको बताइएको छ । यो क्षेत्रमा खलंगाबाहेक सबै विमानस्थल कच्ची छन् ।
सधैँजसो व्यस्त रहने लुक्ला विमानस्थलमा दैनिक सरदर पाँच उडान मात्र भइरहेको छ । सीता एयरका बजार प्रमुख दीपेन्द्र शाहीका अनुसार लुक्लामा विगत करिब एक महिनादेखि नियमत उडान हुन सकेको छैन । बुधबार चारवटा उडानको सेड्युल भए पनि दुइटा मात्र हुन सकेको उनले बताए । ‘कहिले ३–४ दिनसम्म हुँदैन, कहिले एक दुइटा हुन्छ,’ शाहिले भने । काठमाडौंभन्दा पनि लुक्लाको मौसमका कारण नियमित उडान हुन नसकेको उनले जानकारी दिए । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार दैनिक हुने वर्षाले आन्तरिक उडान प्रभावित भइरहेको छ । सरदरमा दैनिक ४० प्रतिशत उडान रद्द भइरहेको कार्यालयले जनाएको छ । मौसम राम्रो हुँदा विमानस्थलबाट दैनिक दुई सय पचास उडान हुन्छन् ।
काठमाडौंबाट पोखरा तथा लुक्लाको उडान प्रभावित हुँदा पर्यटक आवातजावतमा समस्या परेको छ । नेपाल वायुसेवा निगम, तारा एयर र अग्नि एयरले काठमाडौं–लुक्ला गन्तव्यमा दैनिक उडान भर्ने गर्छन् । त्यस्तै पोखरामा बुद्ध एयर, यती एयरलाइन्स र गुण एयरलाइन्सले उडान गर्छन् । काठमाडांै–लुक्लाका नियमित उडान रद्द हुँदा ट्ेरकिङका लागि सगरमाथा बेस क्याम्प गएका पर्यटकलाई राजधानी फर्किन समस्या परेको छ । उता जोमसोममा समेत खराब मौसमका कारण आंशिक मात्र उडान भइरहेको छ । पोखराबाट दैनिक एक दर्जन बढी उडान जोमसोमका लागि हुने गरेका छन् । नेपाल वायुसेवा निगम, अग्नि र तारा एयरले जोमसोममा उडान गर्छन् ।
काठमाडौंबाट सबैभन्दा नजिकको सिमरा विमानस्थलमा समेत पूर्णरूपमा उडान हुन नसकेको विमान कम्पनीहरूले जनाएका छन् । सिमरामा गुण र बुद्ध एयरले दैनिक एक दर्जन उडान गर्छन् । त्यस्तै बिहान हुने माउन्टेन फ्लाइट पनि मौसमका कारण प्रभावित भएका छन् ।
वायुसेवा सञ्चालक संघ (आयोन) ले मनसुनको सुरुवातसँगै हवाई दुर्घटना बढ्नसक्ने भन्दै पूर्वसचेतना अपनाइने बताएको छ । आयोनका प्रवक्ता सागरकुमार आचार्यले मनसुन सुरु हुनुअघि पाइलटलाई मौसम सचेतनासम्बन्धी कार्यक्रम गरिएको बताए । नागरिक उड्डयन प्राधिकरणले पनि सबै विमान कम्पनीलाई सुरक्षासम्बन्धी पूर्वसचेतनाका लागि सर्कुलर गरिएको उनले जानकारी दिए । नेपालमा अधिकांश हवाई दुर्घटना मनसुनको समयमा र दुर्गममा हुने गरेका छन् ।

प्रतिक्रिया