सन्तोषलाई दुई स्वर्ण पदक


काठमाडौं, २२ असार । केन्द्रीय बहिरा उमावि, काठमाडौंका सन्तोष नेपालले १७औँ विद्यालयस्तरीय राष्ट्रिय विशेष खेलकुद प्रतियोगितामा बिहीबार दोहोरो स्वर्णपदक जितेका    छन् । उनी बहिरातर्फ छात्रको १ सय र ४ सय मिटर दौडमा पहिलो भए ।
छात्रतर्फको १ सय मिटरमा सृजना उमावि, पोखराका सञ्जय तामाङ दोस्रो र मनकामना बहिरा विद्यालय, गोरखाका रामबहादुर सोती तेस्रो भए । ४ सय मिटरमा केन्द्रीयका दीपक कट्वाल दोस्रो र विराट बहिरा मावि, विराटनगरका राजुकुमार चौधरी तेस्रो स्थानमा रहे । छात्रातर्फ १ सय मिटर दौडमा केन्द्रीयकी संगीता बस्नेत पहिलो, विराटकी अनुराधा पौडेल दोस्रो तथा केन्द्रीयकी सुनिता तामाङ तेस्रो भए । छात्राकै ४ सय मिटरमा सृजनाकी मनीषा अधिकारी, केन्द्रीयकी रिङ्कीकुमार महतो तथा केन्द्रीयकै संगीता बस्नेत क्रमश: शीर्ष तीन स्थानमा रहे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको बहिरातर्फ छात्रको सटपुटमा पूर्वाञ्चल बहिरा विद्यालय, धरानका रूपेश चौधरी प्रथम, विराटका राजुकुमार चौधरी द्वितीय र केन्द्रीयका सन्तोष घिमिरे तृतीय भए । सोही स्पर्धाको छात्रामा धौलागिरि बहिरा विद्यालय, बाग्लुङकी तीलदेवी गर्बुजा पहिलो, केन्द्रीयकी लक्ष्मी महर्जन दोस्रो तथा मनकामनाकी रीता ढकाल तेस्रो भए ।
पूर्ण दृष्टिविहीनको छात्र ५० मिटर दौडमा नेपाल राष्ट्रिय उमाविका महेश शाह शीर्षस्थानमा रहे । मंगलप्रसाद उमावि, नेपालगन्जका राधेश्याम चौधरी दोस्रो तथा नमुना मच्छिन्द्र उमाविका सुमन देवकोटा तेस्रो भए । सोही स्पर्धाको छात्रातर्फ अमरसिंह उमावि, पोखराकी रीता थापा पहिलो, ल्याबोरेटरी उमावि, कीर्तिपुरकी सुनिता भट्टराई दोस्रो तथा श्री नेपाल राष्ट्रिय उमावि, डुमरवाना, बाराकी संगीता अधिकारी तेस्रो भए । आंशिक दृष्टिविहीनको १ सय मिटर दौडको छात्रमा नमुना मच्छिन्द्रकी सुशान्त नगरकोटी र छात्रामा पञ्चोदय मावि, धनगढीकी सविता चौधरी शीर्षस्थानमा रहे ।
शारीरिक अपाङ्गको छात्रातर्फ १ सय मिटर ह्विलचेयरको शीर्ष तीन स्थानमा खगेन्द्र नवजीवन मावि, जोरपाटीका खेलाडीले कब्जा जमाए । लाली लामा, पेमा लामा तथा आकृति पौडेल क्रमश: शीर्ष तीन स्थानमा रहे । उक्त स्पर्धाको छात्रमा खगेन्द्रकै तेजबहादुर घर्तीमगर पहिलो भए भने नेपाल अपाङ्ग संघ, धनुषाका धनबहादुर भुजेल दोस्रो तथा वीरबहादुर रेले तेस्रो भए ।
छात्रको एक वैशाखी लिएर भएको १ सय मिटर दौडमा खगेन्द्रका धनबहादुर तामाङ पहिलो, नेपाल अपाङ्गका घनश्याम शाह दोस्रो तथा नेपाल अपाङ्गकै नवीनकुमार शाह तेस्रो भएका छन् । छात्रकै सोही दूरीका लागि दुई वैशाखी लिएर भएको प्रतिस्पर्धामा नेपाल अपाङ्ग संघ, कैलाली शाखाका दीपक खत्री पहिलो, खगेन्द्रका गिरिराज थापा दोस्रो तथा नेपाल अपाङ्ग संघ, दाङका रामप्रसाद चौधरी तेस्रो भए ।
सदस्य–सचिव युवराज लामाले यस प्रतियोगिताको उद्घाटन गर्दै राखेपले यो प्रतियोगितालाई अति महत्त्वका साथ हेरेको बताए । आगामी दिनमा प्रतियोगितालाई अझ बृहत् रूपमा सञ्चालन गर्न सरकारसँग थप बजेट माग गरिएको पनि उनले जानकारी दिए । प्रतियोगितामा नेपाल अन्धा कल्याण संघ, नेपाल अपाङ्ग संघ र बहिरा क्षेत्रका ३ सय २ खेलाडीले ४० स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता शुक्रबारसम्म चल्नेछ ।

प्रतिक्रिया