एमाले र माओवादीले सहकार्य गर्ने

काठमाडौं, २१ असार । नेकपा (एमाले) र नेकपा माओवादी मिल्न सक्ने तात्कालीक राजनीतिक मुद्दामा सहकार्य गर्न सहमत भएका छन् । एमाले र एमाओवादी विभाजनपछि बनेको नेकपा–माओवादीबीच भएको पहिलो औपचारिक वार्तामा सरकारले तयारी गरेको बजेट अध्यादेश ल्याउन नदिने विषयमा सैद्धान्तिक सहमति भएको छ ।
नयाँ पार्टी गठनपछि पहिलोपटक नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यसहितको पदाधिकारी टोलीले एमाले केन्द्रीय कार्यालय बल्खु पुगेर बुधबार एमाले शीर्ष नेताहरूसँग भेटवार्ता गरेको हो । भेटवार्तामा एमालेबाट अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र सचिव विष्णु पौडेल तथा माओवादीबाट अध्यक्ष वैद्य, उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ सहभागी थिए ।
दुई घन्टा भएको भेटवार्तामा वैद्यले बाबुराम भट्टराईको सरकार जति लामो समयसम्म लम्बियो त्यति नै मुलुकको सार्वभौमसत्ता संकटमा पर्दै जाने बताएका थिए । उनले नेपालको अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मेवारी भारतीय कम्पनीलाई दिने तयारीका विरुद्ध आन्दोलन चर्काउनुपर्ने प्रस्तावसमेत राखेका थिए । यस्तै सरकारलाई सहमतिविना अध्यादेश बजेट ल्याउन रोक्ने र राजनीतिक गतिरोधको अन्त्य गोलमेच सम्मेलनमार्फत गर्नुपर्ने उनको पार्टीले प्रस्ताव गरेको थियो ।
एमालेले भट्टराई सरकार विस्थापित गरी दलीय सहमतिको नयाँ सरकार गठन गर्ने र दलहरूबीच सहमति गरी संवैधानिक र राजनीतिक जटिलता फुकाउने आºनो पार्टीको धारणा प्रस्तुत गरेको थियो । सहमतिविना बजेट अध्यादेश जारी गर्न नहुने र सहमतिका लागि तत्काल प्रधानमन्त्रीले सत्ता छाड्नुपर्नेमा दुवै दल एकमत छन् । एमाले सचिव विष्णु पौडेलले सौर्यसँग भने, ‘तत्कालीन राजनीतिक विषयमा आ–आºना दृष्टिकोण राख्ने काम भयो ।’
समान धारणा रहेका तत्कालीन राजनीतिक विषयमा सहकार्य गर्ने र नमिलेका विषयमा वैचारिक राजनीतिक छलफल चलाउँदै जाने सहमति भएको पौडेलले बताए । ‘वर्तमान सरकार सहमतिको राजनीतिक निकासका लागि बाधक छ भन्ने विषयमा र यो सरकारले अध्यादेशबाट दलीय सहमतिबेगर बजेट ल्याउन सक्दैन भन्नेमा हामीबीच समान धारणा रहेको छ,’ पौडेलले भने ।
माओवादीका उपाध्यक्ष गजुरेलले पनि पदमुक्त भइसकेको सरकारले अध्यादेश बजेट ल्याउन नसक्ने र भट्टराई नेतृत्वको सरकार राजनीतिक निकासका लागि बाधक भएकामा दुई दल सहमत भएको बताए । ‘सरकारलाई बजेट ल्याउन दिनुहुँदैन भन्नेमा समान धारणा छन्,’ गजुरेलले सौर्यसँग भने, ‘यो सरकार रहुन्जेल राष्ट्रियतामाथिको संकट झनै गहिरिँदै जान्छ भन्ने हाम्रो कुरा थियो र सरकारलाई तुरुन्त हटाउनुपर्छ भन्नेमा हामी सहमत छौँ ।’
दुई घन्टासम्म चलेको दुई दलका नेताहरूको भेटवार्तामा कम्युनिस्ट आन्दोलनमा आ–आºना दलको भूमिकाका विषयमा पनि छलफल भएको थियो । कम्युनिस्ट आन्दोलनको रणनीतिक मुद्दामा उनीहरूबीच फरक दृष्टिकोण भए पनि तात्कालीन राजनीतिक र कार्यनीतिक विषयमा सहकार्य गरेर अगाडि बढ्न उनीहरू सहमत भएका छन् । ‘नेपालमा धेरै कम्युनिस्ट समूहमध्ये अहिले नेकपा माओवादी नयाँ समूहका रूपमा देखा परेको छ र ऊसँग हामीले आज पहिलोपटक औपचारिक छलफल गरेका छाँै,’ एमाले अध्यक्ष झलनाथ खनालले भेटवार्तापछि भने, ‘वैचारिक रणनीतिक मुद्दा फरक भए पनि अहिलेका तात्कालिक राजनीतिक समस्या समाधानका विषयमा नजिक छौँ, अन्य विषयमा पनि छलफल चलाउँदै जान हामी सहमत भएका छौँ ।’
राजनीतिक निकासमा वैद्यले राखेको गोलमेच सम्मेलनको प्रस्तावका विषयमा भने एमालेले असहमति राखेको छ । तत्कालीन निकासका विषयमा पहिले भट्टराई सरकारको बहिर्गमन र सहमतिको सरकार गठनलाई पहिलो पाइला मान्ने र निकासका विषयमा दलहरूबीच सहमति गरी टुंगोमा पुग्ने एमालेको प्रस्ताव थियो । अलग पार्टी गठन भएपछि नेकपा माओवादीका अध्यक्ष वैद्यलगायत नेताले यसअघि राष्ट्रपति डा. रामवरण यादव र कांग्रेस सभापति सुशील कोइरालासँग पनि भेटवार्ता गरिसकेका छन् । अन्य दलसँगको छलफलका क्रममा माओवादीले बुधबार एमालेसँग छलफल गरेको हो ।

प्रतिक्रिया