सुन्दरीजल जलविद्युतको ‘बूढो’ टर्वाइन फेरिँदै

काठमाडौं, २० असार । जलविद्युत् आयोजनाका टर्वाइन प्रत्येक २५ वर्षमा फेर्नुपर्ने हुन्छ । तर जलविद्युत् इतिहास बोकेको नेपालकै दोस्रो सुन्दरीजल जलविद्युत् केन्द्रको टर्वाइन ७८ वर्षदेखि उही छ ।

७८ वर्षको बूढो भइसकेको त्यो पेल्टन टर्वाइनले अब काँचुली फेर्ने भएको छ । नयाँ टर्वाइनलगायत उपकरणका लागि प्रक्रिया सुरु भइसके पनि काँचुली फेर्नकै लागि करिब तीन वर्ष लाग्नेछ ।
एसियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले पुरानो भएको टर्वाइन, जेनेरेटरलगायत इलेक्ट्रिक उपकरण नयाँ राख्न लागेको हो । ‘सामान्यतया २५ वर्षमा टर्वाइन परिवर्तन गर्नुपर्छ तर ७८ वर्ष भइसकेको छ,’ प्राधिकरण उत्पादन तथा सञ्चालन सम्भारका कायममुकायम महाप्रबन्धक मोहनकृष्ण उप्रेतीले भने, ‘७८ वर्ष पुरानो भए पनि फूल फेजमा उत्पादन दिइरहेको छ तर बेलाबेलामा बिग्रिएर मर्मत गरिरहनुपर्ने अवस्था छ ।’
एसियाली विकास बैंक (एडिबी)ले सुन्दरीजल र तिनाऊ जलविद्युत् आयोजनाका लागि चार मिलियन अमेरिकी डलर ऋण सहयोग गरेको छ । सो सहयोगअन्तर्गत दुवै आयोजनाको सुधार गरिन लागेको प्राधिकरण ग्राहक तथा वितरण पूर्व शाखाका महाप्रबन्धक चिरञ्जीवी शर्माले जानकारी दिए । उनका अनुसार तीन वर्षभित्र दुवै आयोजनाको सुधार गरिसक्ने कार्यक्रम छ ।
फर्पिङपछिको नेपालकै दोस्रो आयोजना ७८ वर्षअघि काठमाडौंको सुन्दरीजलमा निर्माण गरिएको हो । अहिले सो आयोजनाले ६ सय ४० किलोवाट विद्युत् उत्पादन गर्दै आएको छ । धेरै पुरानो आयोजना भएको कारणले अधिकांश उपकरण पुरानो अवस्थामा छन् । धेरै उपकरण पुराना भएकाले सुन्दरीजलको नयाँ टर्वाइन, जेनेरेटरलगायत उपकरण तथा मर्मतका लागि प्राधिकरणले एडिबीसँग ऋण सहयोग मागेको थियो ।
एडिबीको ऋण सम्झौताअनुसार परामर्शदाता नियुक्ति गर्नका लागि आवश्यक कागजपत्रहरू तयार भइरहेको प्राधिकरणका सहायक प्रबन्धक केशव श्रेष्ठले जानकारी दिए । प्राधिकरणका अनुसार टेन्डर आह्वानका लागि आवश्यक सम्पूर्ण कागजपत्र तयार गरेपछि टेन्डरमा गई निर्माणमा जान कम्तीमा एक वर्ष लाग्छ । निर्माण सुरु गरेको दुई वर्षभित्र सुन्दरीजलको निर्माण कार्य सक्ने लक्ष्य प्राधिकरणको छ ।
सन् १९९१ सालमा ब्रिट्रिस सरकारले अनुदानमा विद्युत् निर्माण गरेपछि पटकपटक मर्मत भए पनि अहिलेसम्म टर्वाइन फेरिएको छैन । त्यही टर्वाइनलगायत उपकरणद्वारा अहिले पनि पूर्णरूपमा विद्युत् गृहले विद्युत् उत्पादन गर्दै आएको छ । जलविद्युत्को जीवन्त इतिहासको रूपमा समेत लिइने सो केन्द्रमा नयाँ टर्वाइनलगायका लागि धेरै पहिलेदेखि प्राधिकरणलाई गृहले अनुरोध गरे पनि बल्ल एडिबीको आर्थिक सहयोगमा नयाँ उपचकरणहरू जडान गरिन लागिएको हो ।
पछिल्लो समयमा प्राधिकरणले २५ वर्ष नपुग्दै टर्वाइनहरू परिवर्तन गर्नुपर्ने अवस्था रहेको र त्यसका लागि करोडौँ रुपियाँ खर्च भइरहेको बेला प्राधिकरणभित्र बूढो र बलियो टर्वाइनका रूपमा सुन्दरीजलको टर्वाइन चर्चित छ । ‘अहिले बनेका टर्वाइन २० वर्षलाई पनि पुग्दैनन्, त्यस्ता उदाहरण प्राधिकरणभित्र प्रशस्त छन्,’ प्राधिकरणका एक उच्च कर्मचारीले भने, ‘विट्रिसहरूले त्यो बेला ल्याएको त्यो टर्वाइनले अहिलेसम्म काम गरिरहेको छ, अब नयाँ त राखिँदै छ ।’ पुरानो टर्वाइन, जेनेरेटरलगायत उपकरणहरू फेरिएपछि बेलाबेलामा मर्मत गरिरहनुपर्ने समस्याबाट मुक्त पाउन सकिने विद्युत् गृहको आशा छ ।

प्रतिक्रिया