शिक्षकले ६२ करोड खाए, पोसाक लगाएनन्

काठमाडौं, २० असार । विद्यालय तहमा कार्यरत स्थायी शिक्षकले गत शैक्षिक सत्रमा ६२ करोड रुपियाँ पोसाकभत्ताका रूपमा लिए तर आफूखुसी पोसाक लगाएरै एक वर्ष गुजारे ।

सबै सरकारी कर्मचारीलाई लागू हुनेगरी सरकारले कार्यालय आउँदा अनिवार्य लगाउनुपर्ने भनेर गत वर्षबाट औपचारिक पोसाक व्यवस्था गरेको हो । पोसाकका लागि प्रतिकर्मचारी सात हजार पाँच सय रुपियाँ सरकारले उपलब्ध गराएको थियो । भत्ता लिए पनि शिक्षकले औपचारिक पोसाक लगाएनन् ।
निजामती कर्मचारीका लागि सेतो सर्ट र नीलो पाइन्ट तोकेको सरकारले शिक्षकका लागि छुट्टै पोसाक तोकेको थिएन । शिक्षकहरूले भने निजामती कर्मचारीको पोसाक आफूहरूका लागि उपयुक्त नभएको बताउँदै आएका छन् । शिक्षकले औपचारिक पोसाक नै नलगाएको अवस्थामा शिक्षा मन्त्रालयले नयाँ शैक्षिक सत्रका लागि पनि अर्थ मन्त्रालयसँग रकम माग गरेको छ । शिक्षा विभागका कार्यक्रम तथा बजेट शाखा प्रमुख जयप्रसाद आचार्यले भने, ‘यस वर्षका लागि अर्थसँग रकम मागेका छौँ, आयो भने पठाउँछौँ ।’
गत वर्ष पोसाक भत्ताका लागि करिब साढे ६२ करोड खर्च भएको थियो । प्राथमिक तहका ६३ हजार ४८ शिक्षकका लागि ४७ करोड २८ लाख ६० हजार, निमाविका ११ हजार ८६ शिक्षकका लागि आठ करोड ३३ लाख ४५ हजार, मावि तहका आठ हजार आठ सय १३ शिक्षकका लागि ६ करोड ६० लाख ९८ हजार रकम खर्च भएको थियो ।
शिक्षकहरू पोसाक भत्ता सदुपयोग नहुनुमा आफ्नो गल्ती नरहेको बताउँछन् । ‘सरकारले स्थायी शिक्षकको खातामा रकम पठायो, शिक्षकले खाए,’ नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारीले भने, ‘हामीले तोकेनौँ, राज्यले पनि शिक्षकको पोसाक यस्तो भनेर तोकेको छैन ।’
अध्यक्ष अधिकारीले सबै शिक्षकलाई एकै किसिमको व्यवहार नगरेसम्म पोसाक नलगाउने पनि बताए । उनले प्रश्न गरे, ‘पोसाक एकरूपताका लागि हो, स्थायी शिक्षकलाई मात्र पोसाक दिँदा एकरूपता हुँदैन भने किन लगाउने ?’ प्रधानाध्यापक मात्र स्थायी र अरू सबै शिक्षक अस्थायी, राहतलगायत कोटामा रहेको विद्यालयमा एकजनाले मात्र पोसाक लगाउनु उपयुक्त नरहेको उनको धारणा छ । उनी भन्छन्, ‘राज्यबाट तलबभत्ता खानेहरूमा एकरूपता हुनुपर्छ ।’
शिक्षा मन्त्रालयका प्रवक्ता जनार्दन नेपालले अघिल्लो वर्ष सरकारकै केही कमजोरी रहेको भन्दै एक साताभित्र पोसाकको विषयमा टुंगो लाग्ने बताए । उनले भने, ‘विभागबाट पोसाकबारे फाइल पेस भएको छ, छलफल गरेर एक सातामा टुंगो लाग्छ ।’ उनले शिक्षा मन्त्रालयबाट पोसाक तोक्न नसक्दासमेत केही समस्या भएको स्वीकार गरे ।
शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले शिक्षकको पोसाकका लागि पेसागत संगठनलाई दुईवटा विकल्प दिइएको जानकारी गराए । पहिलो विकल्पमा हल्का नीलो पृष्ठभूमि (आइस ब्लु) मा सेतो धर्का भएको सट र कालो पृष्ठभूमिमा हल्का सेतो धर्का भएको कोटपाइन्ट सिफारिस गरिएको छ । शिक्षिकाका लागि गुलाबी रङको पृष्ठभूमिमा कफी कलरको ढाका बुट्टा भएको छेउ भएको साडी तथा ब्लाउज वा पुरुषसरह नै सटपाइन्ट वा साडी मिल्दो कुर्ता सलवार सिफारिस गरिएको छ ।
अर्को विकल्पका रूपमा निजामती कर्मचारीको पोसाकमै शिक्षकको झल्को आउने लोगो राख्ने गरी सिफारिस गरिएको छ । धेरै समय पढाउने शिक्षकले हिँडडुल धेरै गर्नुपर्ने र मैलिने भएकाले निजामती कर्मचारीको पोसाक उपयुक्त नहुने शिक्षक नेताहरूले बताउने गरेका छन् ।

प्रतिक्रिया