दुर्घटनामा आठको मृत्यु, २७ घाइते

कैलाली, २० असार । बस दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको छ । २८ घाइते छन् । ४० यात्रु चढेको धनगढीबाट दार्चुला जाँदै गरेको सुदूरपश्चिम यातायातको ना ४ ख ६६०८ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान दार्चुलाको ग्वानी–६ बगौरामा दुर्घटना भएको हो ।

बस सडकबाट करिब ७५ मिटर तल खसेको प्रत्यक्षदर्शी तथा उक्त सडक कालोपत्रे गर्ने जिम्मा लिएकामध्ये एक लामा नागार्जुन चन्द्रा एन्ड वसन्त जेभीका हरिविजय मिश्रले बताए । मृतकमा एक महिला र सात पुरुष रहेको दुर्घटनास्थलमा पुगेका प्रहरी निरीक्षक श्याम साउदले जानकारी दिए । उनका अनुसार सातजनाको घटनास्थल र एकको गोकुलेश्वरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा दार्चुला सर्मोली गाविसका एमाले जिल्ला कमिटी सदस्य लक्ष्मीदत्त जोशी, जिल्ला भूसंरक्षण कार्यालय दार्चुलामा कार्यरत सबइन्जिनियर धनुषा खजुरा–३ का अमितकुमार पण्डित, दार्चुला ग्वानी–१ का धौलसिंह धामी र बैतडी डिलासैनी–३ का धौलराम सार्कीको मृत्यु भएको हो ।
यसैगरी सोही घटनामा परी कञ्चनपुर झलारी–३ का सुनीलसिं धामी, डडेलधुरा अजयमरु–९ की पार्वतीदेवी भट्ट, बैतडी कोटपेटरा–५ का हरिभान धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी देवबहादुर बोगटीले बताए । दुर्घटनामा परेर घाइते भएका कैलाली गेटा–३ का बसचालक दुर्गादत्त कँुवरसहित २३ जनालाई डडेलधुरास्थित टिम अस्पतालमा ल्याइए पनि चारजनालाई अस्पतालले अन्यन्त्र रिफर गरेको छ । अधिकांश घाइतेको स्वास्थ्यअवस्था नाजुक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
अन्य चार घाइतेको गोकुलेश्वरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बस दुर्घटनामा परी घाइते हुनेहरूमा मालपोत कार्यालय दार्चुलाका प्रमुख हर्कसिंह कुँवर, महिला तथा बालबालिका कार्यालय दार्चुलाका श्यामसिंह धामी, कैलालीका कमल ऐरी र दुर्गा कँुवर, दोलखाका सीताराम भुजेल, डडेलधुरा अजयमरु–८ का खेमराज भट्ट र उनकी छोरी दीपा, दार्चुला धाप–७ का करन कुँवर, बैतडीका शिवलाल घडेरी र कृष्ण सार्कीलगायत रहेका छन् ।
घाइतेमध्ये मालपोत प्रमुख हर्कसिंह कँुवर, खेमराज भट्ट र उनकी छोरी दीपा तथा करन कुँवरलाई थप उपचारका लागि अन्यन्त्र रिफर गरिएको टिम अस्पतालले जनाएको छ । पानी परेर सडक भासिएकोले बस दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घाइतेहरूले प्रहरीलाई टेलिफोन गरेर जानकारी गराएपछि बस दुर्घटना भएको थाहा भएको थियो । विगत दुई सातायता सुदूरपश्चिमका पहाडी जिल्लामा सवारी दुर्घटना भएर दुई दर्जनको मृत्यु भइसकेको छ । अधिकांश सडक दुर्घटना चालकको लापरबाहीले हुने गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया