किर्ते गर्ने पक्राउ

नवलपरासी, २० असार । कान्छी श्रीमतीकी छोरीलाई जेठी श्रीमतीकी छोरी बनाई जन्मदर्ता गराउने रामग्राम नगरपालिका–४ का धनराज केवटलाई स्थानीय महिलाले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । पटकपटक जन्मदर्ता सच्याउन दबाब दिंदै आएका महिलाले उनलाई जन्मदर्ता नसच्याएसम्मका लागि प्रहरीको जिम्मा लगाएका हुन् ।

कान्छी श्रीमती चम्पा केवटबाट जन्मेकी छोरी सुमित्रालाई केवटले जेठी श्रीमती डोरा केवटतर्फको छोरी बनाई कान्छी श्रीमतीलाई घरबाट लखेटेको गाउँले महिलाले बताएका छन् । चम्पाले ज्यालामजदुरी गरी छोरी पाल्दै आएकामा पछि छोरीले नागरिकता बनाउन जाँदा मात्र यो रहस्य खुलेको स्थानीय महिलाले बताएका छन् । जन्मदर्ता सच्याउन भन्दाभन्दै नमानेपछि आक्रोशित महिलाले जबर्जस्ती समातेर उनलाई नगरपालिकामा ल्याएका थिए ।
महिलाले यो रहस्य थाहा पाएपछि जन्मदर्ता बदर गर्न पटकपटक रामग्राम नगरपालिकामा दबाब दिंदै आएका थिए । तर, नगरपालिकाले सूचना दिने व्यक्ति आएमात्र जन्मदर्ता बदर गरी नयाँ बनाउन सकिने भन्दै आएकाले धनराजलाई नियन्त्रणमा लिई नगरपालिकामा ल्याएको महिला अधिकारकर्मी मञ्जु गिरीले बताइन् । नगरपालिकामा हाकिम नभएकाले हाललाई प्रहरीको जिम्मा लगाइएको र हाकिम आएपछि जन्मदर्ता फेर्न लगाइने महिलाले बताएका छन् । नयाँ जन्मदर्ता नगर्न नगरपालिका कर्मचारीको समेत मिलोमतो भएको आरोप लगाउँदै नगरपालिकाले व्यक्ति ल्याउँदा पनि जन्मदर्ता नसच्च्याएमा नगरपालिकाविरुद्ध प्रदर्शनमा उत्रिने चेतावनीसमेत उनीहरूले दिएका छन् ।
अधिकारकर्मी गिरीका अनुसार धनराजले चम्पालाई उनको घरबाट भगाएर उनको नाममा रहेको एक बिगाह ६ कठ्ठा जग्गासमेत आफ्ना नाममा रजिस्ट्रेसन पास गराएका थिए । पछि उनले सो जग्गामा अंश लाग्छ भनी त्यो जग्गा जेठी श्रीमती डोरातर्फका सुसुराको नाममा गरिसकेकाले स्थानीय महिलाले जन्मदर्ता फेर्न र जग्गाफिर्ता गर्नसमेत दबाब दिंदै आएका छन् ।

प्रतिक्रिया