पुरस्कार राशि अब २५ हजार

काठमाडौं, १९ असार । नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघले हरेक वर्ष प्रदान गर्दै आएको खेलकुद पत्रकारिता पुरस्कारको राशिमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले वृद्धि गर्ने वचन दिएका छन् । संघले दुई खेलाडीलाई जनही १० हजार रुपियाँ पुरस्कार दिँदै आएकोमा सदस्यसचिव लामाले १५ हजार रुपियाँ थप गरिदिने बताएका हुन् । नाम परिवर्तन गरी नेपालका पुराना खेलपत्रकार दिवंगत ईश्वरमान सिंहको सम्झनामा ‘ईश्वरमान सिंह स्मृति खेलकुद पत्रकारिता पुरस्कार’ नामाकरण गरिएको पुरस्कारको राशि जनही २५ हजार रुपियाँ हुने भएको छ ।
अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसको अवसरमा नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघको आयोजना गरेको घोषणा कार्यक्रममा लामाले भने, ‘संघले दिँदै आएको पुरस्कार राखेपले १५–१५ हजार रुपियाँ थपिदिने घोषणा गर्दछु, त्यसका लागि निर्णय गरेर संस्थागत गरिनेछ ।’
त्यसैगरी नेपाल बुद्धिचाल संघले बुद्धिचाल खेलका विकासमा समाचार प्रसारण र प्रकाशन गर्ने एक–एकजना सञ्चारकर्मीलाई जनही पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने भएको संघका अध्यक्ष समज्ञ लाकौलले घोषणा गरेका छन् । संघका महासचिव राधेश्याम दाहालले वर्षको उत्कृष्ट खेलकुद पत्रकार छनोटका लागि उपाध्यक्ष श्रीविक्रम भण्डारीको संयोजकत्वमा उपसमिति गठन भएको बताएका छन् ।

खेलकुदको वेबसाइट सार्वजनिक
नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघले अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसको अवसर पारेर सम्पूर्ण खेलकुदको समाचारको गतिविधि समेट्ने ‘खेलपेपर डट कम’ नामक वेबसाइट सावर्जनिक गरेको छ । सोमबार त्रिपुरेश्वरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले डब्ल्युडब्ल्यु डट खेलपेपर डट कम टाइप गरेर वेबसाइटको विमोचन गरे । सो अवसरमा संघका महासचिव राधेश्याम दाहालले संघले गर्ने कार्यक्रमको घोषणा गरे । ‘०५३ सालमा स्थापना भएर उल्लेख्य गति लिन नसकी नेपालभित्र पनि खुम्चिएर रहेको यस नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघलाई दक्षिण एसियाकै एउटा प्रतिष्ठित संस्था बनाउने लक्ष्य छ,’ दाहालले संघको लक्ष्यका विषयमा प्रकाश पार्दै भने । संघले दक्षिण एसियाली खेलकुद पत्रकारहरूको एउटा सम्मेलन काठमाडांैमा गर्ने तयारी गरेको बताएको छ । ‘हामीले यो सम्मेलनमार्फत दक्षिण एसियामा खेलको संभावना र चुनौती पनि पहिल्याउने प्रयास गर्नेछाँै,’ दाहालले भने ।
संघले प्रदान गर्दै आएको खेलकुद पत्रकारिता पुरस्कारको नाममा परिवर्तन गरी संस्थाका संस्थापक अध्यक्ष ईश्वरमान सिंहको स्मरणमा नगद दस हजार रुपियाँ
प्रदान गरिने पुरस्कारको नाम ईश्वरमान सिंह स्मृति खेलकुद पत्रकारिता पुरस्कार राखेको छ । संघले खेलकुद पत्रकारहरूकै सक्रियतामा खेलकुद मासिक पत्रिका पनि प्रकाशनमा ल्याउने तयारी गरिरहेको दाहालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै सदस्यसचिव लामाले राष्ट्रिय खेलकुद परिषद्लाई ९० करोड रुपियाँ बजेट दिन अर्थ मन्त्रालय तयार भइसकेको र थप ३० करोड रुपियाँ बजेट राख्नका लागि पहल भइरहेको बताएका छन् ।
‘१ अर्ब ३० करोड रुपियाँ बजेट भयो भने खेलकुदको भौतिक निर्माण, खेलकुदलाई वैज्ञानिकीकरण गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा ठूलो परिवर्तन हुन सक्छ,’ लामाले भने, ‘त्यसका लागि पहल गरिँदै छ । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले खेलकुदको विवादलाई राखेप चिर्न सफल हुने र त्यसका लागि गृहकार्य गरिरहेको बताए ।
पत्रकार महासंघकी उपाध्यक्ष यशोदा तिम्सिनाले पत्रकारको समग्र अवस्थाको चित्रण गर्दै भनिन्, ‘पत्रकार बिचरा होइन, मिडिया हाउसबाट पत्रकार केही रूपमा पेलिएका होलान् तर त्यसका लागि सबै मिलेर अगाडि बढ्नुपर्छ,’ वरिष्ठ पत्रकार केदार कोइरालाले ‘खेलकुद विनासतिर गइरहेको भान भइरहेको अवस्थामा खेलकुद पत्रकार संघले विकासतिर डोहोर्‍याओस्’ भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया