ब्यालोटेली बार्सिलोनाका उत्पादन

बार्सिलोना, १८ असार । स्पेनको एक पत्रिकाले इटालीका स्ट्राइकर मारियो ब्यालोटेली स्पेनिस क्लब बार्सिलोनाका पूर्वखेलाडी भएको दाबी गरेको छ । संसारकै उत्कृष्ट फुटबल एकेडेमीको रूपमा रहेको बार्सिलोनाका उत्पादनले पछिल्लो एकदशक विश्व फुटबलमा सनसनी फैलाई रहेका छन् । युरोकप–२०१२ को फाइनलमा बार्सिलोनाका खेलाडीको प्रभावमा केन्द्रित उक्त समाचारमा ब्यालोटेली बार्सिलोना एकेडेमीका उत्पादन भएको दाबी गरिएको छ । जारी प्रतियोगितामा २१ वर्षीय ब्यालोटेलीले सनसनीपूर्ण प्रदर्शन गरेपछि उनले विश्वभरका फुटबलप्रेमीको ध्यान खिचेका छन् । यसैकारण उनीसँग कुनै न कुनै रूपमा जोडिएर समाचार आइरहेका छन् ।
ब्यालोटेलीबारेको पछिल्लो यो समाचार भ्रमपूर्ण भएको दाबी गरिए तापनि आंशिक सत्यता भने रहेको भनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बार्सिलोनाबाट प्रकाशन हुने एल मुन्डो डिपोर्टिभोले उक्त समाचार प्रकाशन गरेलगत्तै फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा त्यसको आलोचना व्यापक भएको थियो । ब्यालोटेली बार्सिलोनाका उत्पादन नभएर उक्त क्लबमा १६ वर्षको हँुदा प्रवेश गर्न खोजेको चाहिँ खुल्न आएको छ । ब्यालोटेलीले सन् २००६ मा बार्सिलोनामा ‘ट्रायल’ दिएको उनका दाजु जियोभानीले दाबी गरेका छन् ।
समाचारहरूमा जनाइएअनुसार दुई वर्षको हँुदा ब्यालोटेलीलाई इटालीको एक परिवारले धर्मपुत्रका रूपमा ग्रहण गरेको थियो । इटालीको उत्तरी क्षेत्रमा हुर्किएका उनको सानैदेखि फुटबलमा तीव्र अभिरुचि थियो । सानो छँदा उनले विश्वकै ठूला खेलाडीहरूले खेलेको भिडियो हेरेर समय बिताउने गरेको जिओभानी बताउँछन् । यसैकारण फुटबलमा ब्यालोटेलीको आकर्षण बढेको जिओभानीको तर्क छ । ‘मारियो कहिले थाक्दैनथ्यो । उसमा फुटबल खेल्ने र हेर्ने सम्बन्धमा पूर्ण चासो र त्यत्तिकै मात्रामा जाँगर थियो । यसैले दिनभर ऊ यसैमा व्यस्त हुन्थ्यो ।’ एक कार्यक्रममा जिओभानीले भने, ‘भान बास्टेन, डिएगो म्याराडोना, रोनाल्डो, मिचेल प्लाटिनीलगायत खेलाडीले खेलेको घन्टाँै भिडियोमा हेरेर उसले सिक्ने गथ्र्यो ।’
इटालियन सेरी ‘सी’मा उत्कृष्ट प्रदर्शन गरेपछि अभिभावकले ब्यालोटेलीलाई स्पेनिस क्लब बार्सिलोनामा ‘ट्रायल’मा लैजाने निर्णय गर्‍यो । ‘विदेशमा अनुभव बटुल्नु ब्यालोटेलीका लागि ठूलो कुरा हुने हामीले सौच्याँै ।’ जिओभानीले थपे, ‘हामीले तत्काल बार्सिलोनासँग सम्पर्क गर्‍यौँ र दुई/तीन दिनभित्र आइपुग्छौँ भन्यौँ ।’ जतिबेला बार्सिलोनामा ब्यालोटेली ट्रायल दिन गए, त्यतिबेला बार्सिलोनाको युथटोली प्रमुख जोसे रेमोन अलेजान्का थिए जो बार्सिलोनाकै पूर्वडिफेन्डर हुन् । उनी उक्त समय सम्झन्छन्, ‘मारियोले एसेप्सनल खेल खेल्यो । उसले पाँच गोल गर्‍यो । ऊ हाम्रा लागि योग्य पनि थियो र हामी उसलाई अनुबन्धन गर्न तयार पनि थियौँ ।’ अलेजान्का उतिबेला ब्यालोटेलीलाई लिएर आएका एजेन्टका कारण कुरो नमिलेको बताउँछन् । ‘ब्यालोटेलीको स्वभाव फरक खालको थियो तर त्यसलाई हामीले सामान्यरूपमा लियौँ । खासगरी उनका एजेन्टका कारण अनुबन्धन प्रक्रिया अगाडि बढ्न सकेन ।’ अलेजान्काले कारण प्रष्ट बनाउने प्रयास गरे । अलेजान्कासँग सहमत हुँदै बार्सिलोनाका त्यतिबेलाका अर्का प्रशिक्षक फ्रान सान्चेज भन्छन्, ‘वास्तवमै हामी प्रशिक्षक ब्यालोटेलीलाई भित्र्याउन सहमत थियौँ तर एजेन्टका कारण हामी असफल भयौँ ।’ यता ब्यालोटेलीका दाजु जियोभानी भने बार्सिलोनाले त्यतिबेला स्थानीय खेलाडीलाई प्राथमिकता दिएको बताउँछन् । ‘हामीलाई ब्यालोटेली नराख्नुको कारणबारे कहिले केही भनिएन ।’ जियोभानी त्यो क्षण स्मरण गर्छन्, ‘उनीहरूले स्पेनिस खेलाडीलाई नै प्राथमिकता दिने बताए ।’
यसै सन्दर्भमा उनले बार्सिलोनाले उतिबेला भनेको अर्को कुरा पनि सम्झिए, ‘कस्तो नराम्रो, मारियो स्पेनिस परेनन् ।’ ब्यालोटेली पुन: इटाली नै फर्किए । त्यसपछि उनी स्विजरल्यान्डतिर हिँड्न लागेका थिए तर इन्टर मिलानले उनलाई अनुबन्धन गर्‍यो । तत्पश्चात् उनको व्यावसायिक फुटबल जीवन सुरु भएको थियो । सन् २०१० सम्म इन्टर मिलानमा उनी रहने क्रममा इन्टर मिलानले तीनपटक घरेलु लिग, एकपटक युरोपियन च्याम्पियन्स लिग जित्यो तर ब्यालोटेली अधिकांश समय बेन्चमै रहेका कारण खासै चर्चामा आएनन् । इन्टर मिलानका लागि ५९ पटक खेल्ने क्रममा २० गोल गरेका ब्यालोटेलीले गत सिजन इंगलिस क्लब म्यानचेस्टर सिटीमा आएयता सो क्लबका लागि ४० पटक खेल्ने क्रममा १९ गोल गरेका छन् । उनी आएकै वर्ष म्यानचेस्टर सिटीले ४४ वर्षपछि घरेलु लिग उपाधि जित्यो । जारी युरोकपमा उनले तीन गोल गरेका छन् जसमा सेमिफाइनलमा जर्मनीविरुद्ध इटालीले प्राप्त २–१ को सफलतामा उनका दुवै गोल यतिबेला चर्चामा छन् ।

प्रतिक्रिया