आलपिन निले ‘बडाकवि’ले

छोटा कदका बडा कवि । कहिले कसैलाई चोट नपुर्‍याउने भद्र व्यक्तित्व । यी परिचय हुन् ७६ वर्षीय डा. मोहनहिमांशु थापाको । ललितपुरको नख्खीपोटस्थित निवासमा छोराबुहारी, नातिनातिना र श्रीमतीले मिलेर हेरचाह गर्दा रहेछन् यी वरिष्ठ प्राध्यापक थापालाई ।

००७ सालदेखि नै कविता लेखेर गोष्ठी र समारोहमा सुनाउने गरे पनि यिनी ०११ सालमा शारदामा प्रकाशित कैयौँ गीतको लहर छुट्यो नामको गेय कविता लेखेर नेपाली साहित्यमा विधिवत् प्रवेश गरेका रहेछन् ।
नेपाली विषयका डाक्टर तथा प्राध्यापक, माछा मासु नखाने हिमांशु त्रिविको केन्द्रीय नेपाली विभागको प्रमुख हुँदा आफूलाई धेरै नै साह्रो र गाह्रो भएको सकार्छन् । भन्छन्– ‘पहिला जेजस्तो भए पनि म अहिले विद्वत्ता र ज्ञानका हिसाबले त्यो गौरव र गरिमा विभागहरूमा मात्र होइन, सम्पूर्ण शैक्षिक संस्थामा नरहेको देख्छु ।’
नेपालभाषामा कही र कतै औपचारिक डिग्री नलिएका थापाले ०१८ सालदेखि विभिन्न स्कुल र कलेजमा नेवारी विषय पढाउन थाले । एउटा क्षत्रीको बच्चोले नेवारी कसरी पढाउँछ भनेर टाढाटाढाबाट मानिस हेर्न आउँथे । कक्षाबाहिर बसेर सुन्थे, बुझ्थे र कक्षा सकेपछि भेटेर ‘तपाईंले शुद्ध र ठेट नेवारीमा पो पढाउनु हुँदो रहेछ’ भन्दै अटोग्राफ लिएर जाने गर्थे ।
नेपाली सन्तुलित खाना दालभात, तरकारी र अचार मन पराउने स्वल्पाहारी थापा तोरीको साग, गुन्द्रुक, आलुतामा भएपछि कडाभन्दा कडा धामा पनि सजिलै बिर्सिदा रहेछन् । फिल्ममा खासै रुचि नभए पनि नेपाली सिनेकला र कलाकारका बारेमा मनग्ये जानकारी भने राख्दा रहेछन् । पूजापाठमा विश्वास गर्ने थापा व्रतबन्ध गरेदेखि अहिलेसम्म जनै समाएर गायत्री मन्त्रको पाठ नित्य गरिरहेकै छन् । व्यवहार चलाउन सापटीमा पनि विश्वास गर्दा रहेछन् । बुढेसकालले च्याप्दै लगे पनि आºनो काम सकेसम्म अरूलाई अह्राउनेभन्दा आफैँ गर्ने भद्र थापाको भलाद्मी बानी रहेछ । घरमा पानी पनि आफैँ लिएर खाने गर्दा रहेछन् । उनले त्यसो गर्दा काम गर्ने सहयोगी केटो छक्क परेर हेर्छ ।
आºनो दिनचर्याबारे सुनाउँछन्– ‘म ४:३० देखि ५ बजेसम्म प्राय: उठी सक्छु । तीन गिलास पानी खाएर नित्यकर्मपश्चात् करिब ४५ मिनेट योग गरेर पूजापाठ र भगवानलाई ढोग गर्नेतर्फ लाग्छु ।’ बिहान उठेर कागती, मह र पानी खान्छन् उनी । केही समयपछि आयुर्वेदिक चिया, ‘दिव्य पेय’ पछि पुन: हरित चिया । जौको सातुको हलुका खाजा खाएर अध्ययन, चिन्तनमनन र लेख्नमा लागिपर्दा रहेछन् । १०:३० मा बिहानको खाना खाएर पत्रपत्रिका पढेपछि पुन: अध्ययन–मननमै लाग्छन् । बेलुका करिब १ घन्टा सन्ध्या भ्रमणमा निस्कन पनि बिर्संदैनन् । रातिको खाना ७:४५ मा । नौ बजे ‘हरिद्राखण्डा’ (हलेदो, बेसार) हालेर १ गिलास दूध खाएपछि १० बजेसम्ममा सुती पनि सक्छन् ।
आचार, विचार र व्यवहारमा सजग हुँदाहुँदै पनि कोल्डएलर्जीका अगाडि उनको दाल गलेन । एलर्जीले कस्तो थप्पड हान्यो भने खप्परसम्म हल्लिने पारिदियो । खाइरहेको प्राध्यापक जागिरबाट तीन वर्षअगाडि नै राजीनामा दिनुपर्ने भयो । बडो गज्जबको कुरा के भने ‘आफैँ धामी आफैँ झाँक्री’ भनेझैँ आºनो पिएचडीको उपाधि आफैँ शोधार्थी र आफैँ निर्देशक भएर उनले हासिल गरेका हुन् । विद्यार्थी र शोधार्थीलाई झुलाउने र घरमा पटकपटक बोलाउने अनि उनीहरूलाई कायल बनाएर थर्काउने काम आफूले कहिले नगरेको उनले दाबी गरे । बरु विद्यार्थीहरूको हितका लागि एक–दुई नम्बर थपेर उसले राम्रो डिभिजन पाउने पक्षमा उनी सदा रहन्थे रे । कोहीकोही साथीचाहिँ नचाहिँदो कडाइ गरेर मेरो गोरुको बाह्रै टक्का भन्दै तानाशाहजस्तो ठ्याम्मै अंक थप्न नमानेर ठूलो हर्षबढाइँ आफैँ गर्दै हिँड्थे ।
गजब भाव र साना ढबका कविता र मुक्तक लेख्ने थापा अनुप्रास मिलाउन साह्रै पोख्त र सिपालु मानिन्छन् । उनी आºना समकालीन कवि भूपी र वाशु शशीसँग अनुप्रासमै बोल्थे अरे । एकपटक वासु शशी र उनी भण्डारखालमा हिँड्दै थिए । अचानक शशीले भने– ‘गोमन आएमा के गर्ने ?’ हाजिरीजवाफका खप्पिस खेलाडी थापाले तुरुन्त भने– ‘टाप ठोक्नुपर्छ, दोमन गरेर हुँदैन ।’
कहिल्यै कुनै किसिमको अम्मल नबेहोरेका थापा आºनो समालोचनाको बाटो तुलनात्मक विवेचना, प्रभाववादी र गुणदोषको विश्लेषणमा आधारित रहेको स्विकार्छन् । ‘साहित्य परिचय’ जस्तो कुनै बेलाको मानक ग्रन्थ लेखेका थापाले गाँठीकुरा फुकाउँदै भने– ‘त्यो अर्ती दिने विषयजस्तो लागेर पर्ती छाड्नु बेस लाग्यो र मैले अर्को ग्रन्थ लेखिनँ ।’ आºनो विषयका प्रकाण्ड विद्वान् थापालाई पार्टीको डन्डा र झन्डा बोकेर प्राज्ञ बन्ने रहर कहिले जागेन रे । अफर त नआएको होइन तर उनले त्यसलाई बिफरझैँ धपाइदिएछन् ।
थापा आºनो अविस्मरणीय उपद्रो सुनाउँछन् । उनी त्रिवि, त्रिपुरेश्वरमा पढ्दा खाली कक्षामा घाँसमा बसेर साथीहरूसँग गफ गर्दै आलपिनले दाँत कोट्याउँदै थिए । गफको सुरमा आलपिन कहाँ गयो, कता झर्‍यो उनले चालै पाएनन् । धुइँपत्ताल गरेर घाँसमा खोज्दा पनि कतै भेटिएन । हतारहतार आएर टोलको एक कम्पाउन्डरलाई भेटेछन् । कम्पाउन्डरले उनलाई वीर अस्पताल लाग्यो । त्यहाँ डाक्टरले फटाफट घाँटी र पेटको ४–५ वटा एक्सरे लिए र कम्पाउन्डरलाई एउटा कोठामा लगेर दुवैजना नेवारीमा कुरा गर्न थाले । उनीहरूले बाबुचाहिँलाई बोलाउनुपर्ला भनेको नेवारी पढाउने थापाले बुझिहाले । सरासर घर आएर सबै कुरा बुबालाई भने । ‘बुबा हतारहतार साइकल चढेर अस्पताल जानुभयो । आउँदा आत्तिएर साइकल अस्पतालमै बिर्सिनुभएछ । घरमा फर्केर बुबाले यसले आलपिन निलेछ भन्नुभयो’, थापा सम्झन्छन्– ‘कसैले जुस खा, कसैले केरा खा भन्न थाले । सेनामा रहेका बुबाले चाहिँ सैनिक भाषामा ‘बारसत्ताइस कुरा होइन, भात गोद दे’ भन्नुभयो । मैले पनि तीनैथोक खाइदिएँ ।’ त्यसपछि उनकी हजुरआमाले भनिछन्– ‘बाबु पाइखानामा दिसा नबस्नु, बरु मैले कोपरा राखिदिएको छु, त्यसैमा गर्नू । आलपिन निस्क्यो कि निस्केन, हेर्नुपर्छ ।’ थापाले मुख बिगार्दै सम्झिए– ‘हेर्नुस्, जीवनमा कहिले ट्वाइलेटमा त्यति धेरै दिसा भएन होला, त्यो कुठाउँमा चाहिँ भाछ–भाछ । रोकिने नामै लिँदैन ।’ हजुरआमाले निकै समयको प्रयत्नपछि कोपारामा आलपिन पनि भेट्टाइहालिछन् । थापाले सुनाए– ‘त्यसैको फलस्वरूप म आज तपाईंको अगाडि सशरीर बोलिराखेको छु ।’
अन्त्यमा उनी आºना कविताहरू धारा प्रवाह सुनाउँदै थिए । म टाउको हल्लाएर मन्त्रमुग्ध हँदै थिएँ । राति आठ बजेतिर नमस्कार गरेर म घर जान उठेँ । त्यतिखेर उनी यो कविता हाउभाउसाथ सुनाउँदै थिए :

ढोका बाहिर
मृत्यु फुसफुसाएजस्तो लाग्छ
रातकै निन्द्रा न हो
झ्याल र ढोकाले पनि
गजबार लगाएजस्तो लाग्छ ।

प्रतिक्रिया