भूमिसुधार प्रमुखलाई मोसो

वीरगन्ज : नेकपा माओवादीका कार्यकर्ताले भूमिसुधार कार्यालय बाराका प्रमुख जयकान्त झालाई मोसो दलेका छन् ।
माओवादीनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य प्रभु यादवको नेतृत्वमा गएका कार्यकर्ताले कार्यालय प्रमुख झालाई दिउँसो दुई बजे कलैयास्थित कार्यकक्षभित्रै मोसो दलेका हुन् । कार्यालय प्रमुख झाले बाराका विभिन्न गाविसमा हदबन्दीभन्दा बढी भएका जग्गासमेत फुकुवा गरेको र आर्थिक अनियमितता गरेको आरोपमा मोसो दलिएको हो । मोसो दल्ने समूहमा संलग्न अखिल क्रान्तिकारीका कार्यकर्ता सन्तोष श्रेष्ठलाई कर्मचारीले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन् । झाले मोसो दल्ने काममा संलग्न यादव, सन्तोष श्रेष्ठलगायत माओवादीका सात कार्यकर्ताविरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दिएका छन् ।
पक्राउ परेका श्रेष्ठविरुद्ध सार्वजनिक अपराध सजाय ऐन २०२७ अनुसार कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरिएको इन्स्पेक्टर रामनाथ घिमिरेले बताए । यता, नेकपा माओवादीका बारा जिल्ला सेक्रेटरी सहिम हवारीले विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई रिहा गर्न माग गरेका छन् । (सौस)

प्रतिक्रिया